आगामी
४ वर्षको लागि अमेरिकी राष्ट्रपति पद सुनिश्चित गरेका जो बाईडेनले आफ्नो कार्यकालमा
१ करोड बढी आप्रवासीलाई अमेरकि नागरिकता दिने भएका छन् । उनले निर्वाचन
अगाडी नै गरेको प्रतिबद्दता अनुसार १ करोड १० लाख आप्रवासीलाई नागरिकता प्रदान
गर्ने भएका हुन् ।
बाईडेनले कागजात बिना बसेका आप्रवासीलाई प्रक्रिया पुर्याएर नागरिकता
दिने भएका हुन् । बाईडेनको चुनावी अभियानले सार्वजनिक गरेको कार्यक्रम अनुसार बाईडेनले कंग्रेस (अमेरिकाको संसद) मा आप्रवासीलाई नागरिकता दिनको लागि आवश्यक पर्ने कानुन
पेश गर्ने छन् । संसदबाट पारित भएपछि उनले यसलाई कार्यन्वयन गर्ने बताईएको छ । एकै
परिवारका सदस्यलाई सँगै राख्ने गरी यो कार्यक्रम कार्यन्वयन हुने अभियानले उल्लेख
गरेको छ ।
कुन देशको कति आप्रवासीलाई नागरिकता दिने उल्लेख नगरिए पनि भारतीय संचारमाध्यमहरुले भने यस योजना अन्तर्गत बाईडेन प्रशासनले ५ लाख बढी भारतीय आप्रवासीलाई नागरिकता दिने तयारी भएको दाबी गरेका छन् ।
साथै बाईडेनले आप्रवासीबारे डोनाल्ड ट्रंपले गरेका कतिपय निर्णयहरु उल्ट्याउने भएका छन् । आप्रवासीबाट अमेरिकालाई खतरा भएको भन्दै अमेरिकाले आप्रवासीलाई देशमा अनुमति दिनु नहुने ट्रंपले बताउदै आएका थिए । त्यस्तै हरेक वर्ष १ लाख २५ हजारसम्म शरणार्थीलाई अमेरिका प्रवेश दिने तयारी बाईडेनको छ । बाईडेन राष्ट्रपति हुँदा उपराष्ट्रपति बन्ने निश्चित भएकी कमला आफै आप्रवासी भएकोले पनि उनको प्रशासनले आप्रवासीप्रति नरम नीति लिने भएको हो ।
साथै बाईडेनले विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमण गरिएको प्रतिबन्ध पनि फुकाउने भएका छन् । ट्रंपले विभिन्न मुस्लिम बाहुल्य देशका नागरिकलाई देशभित्र खतरा बढेको भन्दै अमेरिका प्रवेशमा रोक लगाएका थिए । बाईडेनले राष्ट्रपति पद सम्हालेको दिन नै यो प्रतिबन्ध फुकाउने अभियानले उल्लेख गरेको छ । साथै बाईडेनले रोजगारीको लागि अमेरिका आउनेहरुको भिषा बृद्दी गर्नुको साथै त्यसलाई सहज बनाउने भएका छन् ।