जसले बजेटबाटै नाम कमाए, बजेटमै देखिए अनौठा चित्र पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 01:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनौतीपूर्ण आर्थिक अबस्थाकाबीच अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्को संयुक्त सदनमा आज जेठ १५ गते मुलुकको ७७औँ बजेट प्रस्तुत गर्दैछन् ।राणा शासनको अन्त्यसँगै नेपालमा बजेट प्रस्तुत गर्न थालिएको ७२ वर्षपछि उनले जीवनकालको पहिलो बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको सूचीमा नाम लेखाउँदै छन् ।

वर्तमान सङ्कटपूर्ण आर्थिक परिदृष्यले घेरिएको मुलुकको आर्थिक अवस्थाका बीच बजेट ल्याउने जिम्मेवारी प्राप्त अर्थमन्त्री डा महतसामु अर्थतन्त्रको मुहार हँसिलो पार्ने ठूलो चुनौती छ ।

बजेट वार्षिक आम्दानी र खर्च प्रणालीको स्रोतको अनुमान गर्ने दस्तावेज हो । यसलाई सरकारको आय र व्ययको वार्षिक अनुमानका रुपमा लिइन्छ । बजेटलाई आधिकारिकता दिन सदनमा प्रस्तुत गरिन्छ । संसदबाट पारित भएपछि मात्रै बजेटले वैधानिकता पाउँछ । त्यसैले बजेट राज्यको मेरुदण्ड नै हो । नेपालको संविधान २०७२ ले जेठ १५ मै ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बजेटले नियमितता पाएको छ । त्यसअघि बजेट घोषणा लापरबाहीपूर्ण अबस्थाबाट गुज्रिएको थियो ।

राज्यले निर्धारण गरेको कार्यक्रम, नीति, योजना कार्यान्वयनका लागि खर्च, त्यसका लागि चाहिने आवश्यक श्रोत व्यवस्थापनको आधार बजेटले तय गर्छ । त्यसैले बजेट धेरै सोच विचार गरेर ल्याउनुपर्ने अर्थविज्ञहरु बताउँछन् ।

बजेट भाषण गर्ने प्रचलन बेलायतबाट सन् १७१३ मा सुरु भएको थियो । नेपालमा भने विभिन्न कालखण्डमा आआफ्नो तरिकाले बजेट प्रस्तुत भएको पाइन्छ । यद्यपि नेपालमा राणाशासनको अन्त्यपछि २००८ सालदेखि बजेट प्रस्तुत गर्ने चलन सुरु भएको हो । यसपटक ३४औँ नम्बरका अर्थमन्त्रीका रुपमा डा प्रकाशशरण महतले आफूलाई बजेटमा उभ्याउँदै छन् र परीक्षा दिँदैछन । उनले बजेटबाट नाम कमाउँछन् की बदनाम त्यो त हेर्न बाँकी नै छ । तर केही नाम कमाएका अर्थमन्त्रीहरु भने अहिले पनि चर्चाको शिखरमै छन् ।

‘सुवर्ण बजेट’

प्रजातन्त्रपछिको नेपालको पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले २००८ माघ २१ गते पहिलो बजेट ल्याएका थिए । त्यसलाई जनमुखी बजेटको रुपमा अहिले पनि चर्चा गरिन्छ । 

 कृष्ण धरावासीले सुवर्ण शमशेरको जीवनी लेख्दा कांग्रेसका केही नेताहरूले राज्यले आफूहरूलाई निब्र्याजी ऋण दिनुपर्छ भन्दा सुवर्ण शमशेरले नमानेको कुरा लेखेका उल्लेख गरेका छन् । त्यसैले उनी क्रान्तिकारी अर्थमन्त्री हुन् भन्न सकिन्छ । 

त्यो बेला बजेट नल्याउन पनि सकिन्थ्यो तर उनले ल्याए र बजेटको थिति बसालिदिए । त्यसबेलको बजेट समृद्धि र असमानता हटाउने र पारदर्शीता कायम गर्ने खालको थियो । पाँच करोड र केही बढीको उक्त बजेटले मोहीको लागत लिने र वनको नीजिकरण रोकिदियोे । त्यसैले यो बजेटलाई क्रान्तिकारी र जनमुखि भनिएको हो । उनी जननिर्वाचित सरकारकोको पालमा २०१६ सालमा पनि बजेट ल्याउने अबसर पाएका थिए । 

उनले कृषि, रोजगारीको विकास र बैंक स्थापनाका हिसाबले राम्रा योजना ल्याएको मानिन्छ । नेपाल इन्डिस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन भनेर यो उद्योगलाई ऋण दिन बैंक स्थापना गरिएको उनकै पालामा थियो । अहिले ७२ वर्षपछि पनि बजेटमा उनका कतिपय योजना समेटिँदै आएको छ ।

महेश आचार्य

विसं २०४८ सालमा अर्थराज्यमन्त्री बनेका महेश आचार्यले बजेट प्रस्तुत गर्ने मौका पाएका थिए । नागरिकलाई आर्थिक स्वतन्त्रताको जग यही बजेटबाट बसेको मानिन्छ । उनले आर्थिक उदारीकरणको जग बसाएका थिए ।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अघि बढाए ।संस्थानहरुलाई निजीकरणको योजनाका साथै उद्योगधन्दाको प्रोत्साहनले यो बेला उद्योगहरु राम्रो खुलेका थिए । त्यसपछि २०५६ सालमा अर्थमन्त्री बनेका उनले वृद्ध भत्तालाई कायम राख्दै गरिबी निवारणमा जोड दिनु उनका सफल योजना मानिन्छ ।

डा प्रकाशचन्द्र लोहनी

पञ्चायतकालमा बजेट ल्याउने अबसर पाएका डा लोहनीले शिक्षामा निजी क्षेत्रको प्रवेश गराएका थिए । भलै यो आलोचनारहित बनेन । प्रतिष्पर्धामा जाने सोच नराम्रो होइन । बैंकिङ क्षेत्रको निजीकरण, कर्जाको लचकता, गोबरग्यासको ब्याजमा अनुदान, कृषि उद्यमीहरुलाई कच्चा पदार्थ आयातको अधिकार जस्ता लोहनीका लोकप्रिय योजना मानिन्छ ।

लोकप्रिय भरतमोहन 

विसं २०५१ को मध्यावधि निर्वाचन भयो । नेकपा एमाले ठूलो दल बनेपछि मनमोहन अधिकारी नेतृत्वको मन्त्रिमण्डलमा उनकै भाई भरतमोहन अर्थमन्त्री बने । उनको कहिल्यै नविर्सिने योजना भनेको सामाजिक सुरक्षाको शुरुवात हो । उनको वृत्तभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम अहिले पनि चर्चित छ । त्यसैपालादेखि गाउँगाउँमा बजेटहरु पुग्न थालेको थियो ।

डा रामशरण महत

सात पटक अर्थमन्त्री बन्ने भाग्यमानी डा रामशरण महतलाई आर्थिक उदारीकरणका हिसाबले सफल अर्थमन्त्री मानिन्छ । हुन त महेश आचार्यले शुरुवात गरेको उदारीकरणलाई उनले थप योगदान पुर्याए । सांसद विकास कोष ल्याएर गाउँका समस्या सम्बोधन गर्न शुरुवात गराएका थिए । राम्रै भए पनि पछि सांसदहरुले दुरुपयोग गर्दा त्यसको शाख गुम्न गयो ।

उनले आव २०५९÷६० को बजेटको आकारै घटाएर अर्काे नजिर स्थापित गरिदिएका थिए । गौरबका आयोजनालाई बहुवर्षीय बनाउन पनि उनको योगदान छ ।

डा बाबुराम भट्टराई

उनका पालामा राजस्व परिचालनमा राम्रो काम भएको छ । राजस्व वृद्धिमा उनको योगदान ठुलो देखियो । राजस्व वृद्धि २२ बाट ३३ प्रतिशत पुर्याएका थिए । २०६५÷६६ को उनको बजेटले शिक्षामा ३८ अर्ब र स्वास्थ्यमा १५ अर्ब रुपियाँ छुट्टाएर शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका थिए । हाम्रो गाउ,ँ राम्रो गाउँ, नयाँ नेपाल, स्वस्थ नेपाल, अक्षर चिनौँ सभ्य बनौँ जस्ता नारा ल्याएका थिए । उनको बजेटको आकार ठुलो भएको भनेर आलोचना भने भएको थियो ।

डा युवराज खतिवडा 

विसं २०७५ सालमा पहिलो बजेट ल्याएका डा युवराज खतिवडाले तीन पटक बजेट ल्याउन पाए । उनले अर्थतन्त्रमा टेकेर कसिलो बजेट ल्याएका थिए । प्रणालीगत सुधारमा राम्रो गरेका बताइन्छ । मुलुक कोभिडबाट संकटग्रस्त अवस्थामा उनले सचेत बजेट ल्याएका थिए । उनले प्यानलाई अनिवार्य गराए । 

राजस्व प्रशासन सुधारमा उनको भूमिका देखिएको छ । वैदेशिक व्यापारको सन्तुलन ल्याउन, आर्थिक अनुशासन कायम गर्न उनले नीतिगत सुधार गरेका छन् । विलासी वस्तुमा उच्च कुर उनको महत्वपूर्ण प्रयास मान्न सकिन्छ । निर्यात बढाउन ठुलो योगदान गरेका छन् ।

बजेटमा अनौठा चित्र पनि देखिए 

तत्कालिन अर्थमन्त्रीहरु बद्रीबहादुर श्रेष्ठ, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भए तर बजेट ल्याउन पाएनन् । तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डे २०६७÷६८ को बजेट प्रस्तुत गर्न जाँदा संसदभित्रै ब्रिफकेस तोडफोड हुनपुग्यो । माओवादीका सांसदले फुटाइदिएका थिए । 

सातपटक बजेट प्रस्तुत गरेर डा रामशरण महतले इतिहास बनाए । २०६८ सालमा अर्थमन्त्री भरतमोहन अधिकारीको बजेट पहिल्यै सार्वनिक हुन पुग्यो । 

२०७९÷८० को बजेटमा एक जना पूर्व नायब सुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेले राती करको दर हेरफेर गराइदिए । जुनकारण तत्कालिन अर्थमन्त्री जनाद्र्धन शर्माले राजीनामा दिनुपर्यो ।

अहिलेसम्मका अर्थमन्त्रीहरु 

सुवर्णशमशेर राणा, केशरशमशेर राणा, मातृकाप्रसाद कोइराला, सिवी सिंह, ऋषिकेश शाह, सूर्यबहादुर थापा, सुरेन्द्रबहादुर बस्नेत, कीर्तिनिधि विष्ट, गेहेन्द्रबहादुर राजभण्डारी, डा. भेषबहादुर थापा, डा. यादवप्रसाद पन्त, डा. प्रकाशचन्द्र लोहनी, भरतबहादुर थापा,  पशुपतिशमशेर राणा, डा.देवेन्द्रराज पाण्डे, गिरिजाप्रसाद कोइराला, महेश आचार्य, भरतमोहन अधिकारी, शेरबहादुर देउवा, डा. रामशरण महत, रवीन्द्रनाथ शर्मा, डा. बद्रीप्रसाद श्रेष्ठ, मधुकरशमशेर राणा, डा. रूप ज्योति, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकरप्रसाद कोइराला, विष्णुप्रसाद पौडेल, कृष्णबहादुर महरा, ज्ञानेन्द्रबहादुर कार्की, डा. युवराज खतिवड, जनार्दन शर्मा, डा. प्रकाशशरण महत

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved