
नेपाल बीमा प्राधिकरणले समयमा लेखापरीक्षण नगराउने बीमा कम्पनीहरुलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले ऐनमा व्यवस्था भएअनुसारको समयसम्म लेखापरीक्षण गर्न नसकेका कम्पनीहरुलाई कारवाही गर्ने जनाएको हो।
यससँगै ८ वटा कम्पनी प्राधिकरणको कारबाहीमा पर्ने निश्चित छ । हिमालयन रिईन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सन् नेपाल लाईफ ईन्स्योरेन्स, नेशनल लाईफ ईन्स्योरेन्स, लाईफ ईन्स्योरेन्स कर्पाेशन नेपाल, नेपाल लाईफ ईन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीले लेखापरीक्षण गरेका छैनन्।
प्राधिकरणका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयमा लेखापरीक्षण नगर्ने, तथा लेखापरीक्षण स्वीकृतिको लागि प्राधिकरणमा समयमा पेश नगर्ने कम्पनीहरुलाई कानुन बमोजिम कारबाही गर्ने जानकारी बिजपाटीलाई दिएका हुन्।
बीमा ऐन २०७९ को दफा ८७ मा बीमा कम्पनीले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरीक्षण गरिसक्नु पर्ने उल्लेख गरिएको छ। सो समयमा लेखापरीक्षण गर्न नसकिएमा कारण खुलाई कम्पनीले माग गरेमा प्राधिकरणले २ महिनाको समय थप गरिदिन सक्ने सक्ने उल्लेख छ। लेखापरीक्षण सकिएको ३० दिनभित्र स्वीकृतिको लागि प्राधिकारणमा पेश गर्नु पर्ने व्यवस्था छ । त्यसपछि कम्पनीले साधारणसभा बोलाउन सक्ने छ ।
अर्थात, हरेक पौष मसान्तभित्र कम्पनीहरुले लेखापरीक्षण गरेको रिपोर्ट स्विकृतिका लागि प्राधिकरणमा पेश गर्नु पर्ने हुन्छ । तर, माथि उल्लेखित कम्पनीहरुले भने पुस मसान्तसम्म आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन स्विकृतिका लागि प्राधिकरणमा विवरण पेश नगरेको प्राधिकरण स्रोतले जनाएको छ ।
के हुन्छ कारबाही ?
बीमा ऐनको दफा १३८ मा यस बारे व्यवस्था रहेको छ । जसमा बीमकले दफा ८७ बमोजिम लेखापरीक्षण गराउनु पर्ने म्यादभित्र लेखापरीक्षण नगराएमा प्राधिकरणले त्यस्तो बीमकलाई देहाय बमोजिमको जरिबाना गर्न सक्ने उल्लेख छ ।
(क) आर्थिक वर्ष सकिएको ६ महिना सकिएको एक हप्तासम्म पनि स्विकृतिका लागि प्राधिकरणमा विवरण पेश नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना हुनेछ ।
(ख) एक हप्तादेखि एक महिनासम्म पनि पेश नगर्नेलाई १ लाख रुपैयाँ,
(ग) एक महिना देखि ३ महिनासम्म पनि पेश नगर्ने कम्पनीलाई पाँच लाख रुपैयाँ,
(घ) तीन महिनादेखि बढी जतिसुकै अवधिसम्मको लागि दश लाख रूपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ ।
मर्जरमा भएर आएका कम्पनी जोगिए
एकै प्रकृतिको गल्ति गरे पनि मर्जर भएर आएका कम्पनीहरुलाई भने कारबाही नगर्ने प्रवक्ता पौडेलले बताए । मर्जर निर्देशिका बमोजिम मर्जर भएर आएका कम्पनीहरलाई भने यस विषयमा छुट रहेको उनले जानकारी दिए ।
मर्जर भएर आएका ६ कम्पनीले पनि समयमा विवरण पेश गरेका थिएनन् । जसमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स, सानिमा जिआईसी, सूर्यज्योति लाईफ ईन्स्योरेन्स, प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स, हिमालयन लाईफ ईन्स्योरेन्स र सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनी रहेको छ । उनीहरु कारबाहीबाट जोगिने छन् ।