आन्दोलनमा मृत्युवरण गरेका कृषकका परिवारको गुनासो, ‘चिनी मिलले पूरै पैसा दिएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 04:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँमा आन्दोलनरत उखु किसानको निधन भएको आज दश दिन पूरा भएको छ । आन्दोलनमा सहभागी भएका सर्लाहीका उखु किसान नारायण राय यादवको गत पुस १४ गते निधन भएको थियो । पुस १३ गते सरकार र उखु किसानबीच भएको सहमतिमा असन्तुष्ट बनेका यादवको हृदयघातका कारण निधन भएको थियो । 

सलार्हीमा रहेको अन्नपूर्ण चिनी मिलले यादवको परिवारलाई भुक्तानी गर्नुपर्ने २४ लाख रकममध्येमा १७ लाख मात्र भएको भन्दै भुक्तानी गरेको उखु किसान बताउँछन् । यादवका परिवारले २४ लाख बढी रकम बाँकी रहेको भनिरहँदा उक्त चिनी मिलले १७ करोड मात्र रहेको दाबी गरेको उखु किसान संघर्ष समितिका सर्लाहीका संरक्षक राकेश मिश्रको भनाई छ । 

‘अन्नपूर्णले यादवको परिवारलाई पौने १७ लाख रकम भुक्तानी गरिसक्यो, बाँकी रकमको विषयमा १३ दिनको काम सकिएपछि छलफल गर्ने तयारी भएको छ, बाँकी रकमको विषयमा किसानका प्रतिनिधि, मिल सञ्चालक र मृतक यादवको परिवार बसेर छलफल गछौँ’, उनले भने ।

उनका अनुसार मिल सञ्चालकसँग यादवको परिवारसँग भएको रसिदको आधारमा रकम भुक्तानी गर्ने विषयमा छलफल भएको छ । उनीहरुसँग २४ लाखकै रसिद भेटियो भने मिलले सबै रकम भुक्तानी गर्नुपर्छ । मृतक यादवको परिवारलाई राहत रकम उपलब्ध गराउन उद्योग मन्त्रालयले गृहलाई पत्राचार गरिसकेको छ । तर पनि क्षतिपूर्ति रकम नपाएको पीडितको गुनासो छ । 

उखु किसानको आन्दोलन सुरु गरेपछि तीनवटा चिनी मिलले ३३ करोड बक्यौता रकम भुक्तानी गरेका छन् । श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी सुरु गरेका थिए । तर पछिल्लो समय सबै उद्योगले भुक्तानी दिन बन्द गरेका छन् । 

मन्त्रालयको तथ्यांक अनुसार श्रीराम सुगर मिलले ३५ करोडमध्ये २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराको २२ करोडमध्ये ५ करोड २६ लाख र लुम्बिनीले ८ करोड ४१ लाखमध्ये २ करोड मात्र भुक्तानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved