अर्थले पर्याप्त बजेट नदिँदा यसपाली पनि किसानले मल अभावको सामना झेल्नुपर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2023 | 05:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिँदा यसपाली पनि किसानले मल अभावको सामना गर्नुपर्ने देखिएको छ । यसवर्ष सरकारबाट प्राप्त बजेट ४ लाख मेट्रिक टन मल खरिदका लागि मात्रै रहेको छ तर नेपालमा प्रभावकारी मलको माग भने ५ लाख मेट्रिक टन छ । मुलुकको जमिनलाई हिसाब गर्ने हो भने त पर्याप्त हुन लागि ११ लाख टन मल चाहिन्छ । तर कतिपय जमिन बाँझो पनि रहेकाले ५ लाख मल आएको खण्डमा भने गुनासो कम आउने कृषि सामग्री कम्पनी लिमिटेडको निष्कर्ष छ । तर तीन लाख मल पनि भित्रिने सम्भावना कम रहेको छ । 

यसपाली विभिन्न समयमा मलका लागि करिब ३९ अर्ब बजेट छुट्याइएको छ । सुरुमा आएको १५ अर्बको कुल एक लाख ५० हजार मेट्रन टन मल ल्याएर पनि बाँडिसकिएको छ । त्यसपछि सरकराले थप १६ अर्ब बजेट मल खरिदका लागि दिइयो । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले टेण्डरका लागि अनुमति दिइसकेको छ । लिमिटेडले टेण्डर प्रक्रिया सकिसकेको जनाएको छ । अहिले मल खरिदका लागि अर्थ मन्त्रालयले थपिदिएको ७ अर्ब ५० करोड बजेट बाँकी छ । यसको भने टेण्डरको प्रक्रिया सुरु भएको छैन ।

कम्पनीका अनसार यसपाली कुल ३ लाख २० हजार मेट्रिक टन मल मात्रै ल्याउने योजना छ । त्यसमध्ये अहिलेसम्म एक लाख ५० हजार टन ल्याइसकिएको, ४० हजार मेट्रिक टन आउन बाँकी रहेको र अब ९० हजार मेट्रिक टन मल आउने रकम बाँकी छ । यसलाई हिसाब गर्दा कुल तीन लाख टन मल पनि आउने देखिँदैन । जसका कारण किसानले मलको अभावको सामना गर्नुपर्ने स्पष्ट चित्र देखिएको छ । तर सकेसम्म धेरै मल ल्याउने गरी पहल भइरहेको कम्पनीका प्रवक्ता विष्णु पोखरेल बताउँछन् ।

५ लाख टन मात्रै ल्याउन सके गुनासो कम आउँथ्यो  

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारी चालु आर्थिक वर्षमा ५ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने कसरत रहेको बताउँछन् । लिमिटेड र साल्ट ट्रेडिङले ठेक्का लगाएर मल आयात गर्छन् । मल खरिदका लागि छुट्याइएको कुल बजेटको ७० प्रतिशत बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र बाँकी ३० प्रतिशत बजेटबाट साल्ट ट्रेडिङले मल ल्याउँछन् ।

नेपालमा सबैभन्दा बढी मल आर्थिक वर्ष २०७७÷०७८ मा आयात भएको थियो । तत्कालिन कृषिमन्त्री घनश्याम भुसालले योजना बनाएर बढी मल आउने वातावरण बनाएका थिए । त्यसबेला चार लाख टन मल आएको थियो । यद्यपि मल आइपुग्दा भने पद्मा अर्याल कृषिमन्त्री थिइन् ।

 ‘आर्थिक वर्ष २०७७÷०७८ मा ४ लाख टन मल आएको थियो, त्यतिबेला पाइएन भन्ने गुनासो कम सुनिएको थियो’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भण्डारी भन्छन्, ‘यसपाली अहिले आयात भइसकेको र अब आउने गरी ५ लाख मेट्रिक टन मल ल्याउन सकिए मल पाइएन भन्ने गुनासो कम आउँथ्यो, यसैका लागि तयारी गरिरहेका छौँ ।’

किन समयमै आउँदैन मल ?

हरेक वर्ष समयमै मल नआउँदा किसानले मल नपाएको, बालीनाली नसप्रिएको लगायतका समाचार र गुनासाहरु आउँछन् । अन्तर्राष्ट्रिय बजारमा हरेक हप्ता मलको भाउ घटबढ हुनु र नेपालको सार्वजनिक खरिद ऐन समयसापेक्ष नहुनु नै समयमै मल नआउनुको मुख्य कारण रहेको सरकारी अधिकारीहरु नै स्वीकार गर्छन् ।

‘सुरुमा २१ दिने सूचना निकाल्छौँ, त्यसमा कोही पनि आएनन् भने अर्को ३५ दिने निकाल्छौँ, यसमा पनि नआएपछि ४५ दिने निकाल्नुपर्छ’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भण्डारीले थपे, ‘यसमा पनि नआउँदा फेरि २१ दिनमा फर्किनुपर्छ । कोभिडका बेला ५ पटकसम्म टेण्डर आह्वान गर्नु परेको थियो ।’

हरेक हप्ता भाउ बढ्ने र घट्ने हुनाले कबोल गरेको मूल्यमा ल्याउन नसकिने डरले फर्महरु टेण्डरमा भाग लिनै नआउने अवस्था बनिसकेको उनको घुमाउरो कुराले संकेत गर्छ ।

सँगै, रि–टेण्डर गर्नुनपर्दा र कुनै अवरोध नहुँदा मल आइपुग्न २१० देखि २२० दिन लाग्ने भए पनि नेपालमा रि–टेण्डर गर्नुपर्नेदेखि अनेकौँ अवरोधहरु पनि झेल्नुपर्ने भएकाले हरेक वर्ष समयमै मल ल्याउन चुनौती रहेको भण्डारीले स्वीकार गरे ।

हरेक वर्ष खेतीको सिजनमा रासायनिक मलको अभाव हुँदै आएको छ । यसपाली पनि यो नियति नदोहोरिने ग्यारेन्टी छैन । केही अघि सरकारले रासायनिक मल खरिदका लागि १५ अर्ब २३ करोड बजेटको सुनिश्चितता गरिदिएपछि केही आशा पलाएको बताइन्छ । यद्यपी, समयमै मल आइपुगेर किसानले समयमै पाउनेमा ढुक्क हुने अवस्था भने छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved