कृषिलाई प्रविधिसँग जोडेर विश्वबजारमा पुर्याउने अभियानमा कृषि उद्यम केन्द्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 02:30:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले कृषिलाई प्रविधिमा जोड्न छलफल सुरु गरेको छ । केन्द्रले आर एण्ड डी इन्नोभेटिभ सोलुशन सँगको सहकार्यमा ‘डिजिटल सोलुशन फर एग्रो बेस्ड एम–एसेमिज इन नेपाल’बारे छलफल सुरु गरेको हो ।

कृषिलाई प्रविधिसँग जोडेर नेपाली कृषि उपजहरुलाई विश्व बजारमा पुर्याउन सकिने प्राविधिक उपाय पहिल्याउन यो छलफल आयोजना गरिएको कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेतले जानकारी दिए । उनका अनुसार कृषिमार्फत आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादित कृषि उपजहरुको आन्तरिक बजारमा खपत र विश्व बजारमा समेत निकासीका लागि प्रविधिसँग जोड्न खोजिएको हो ।

‘सबैभन्दा पहिलो आवश्यकता भनेको खानेकुरा हो, यसैले कृषि उद्यम केन्द्रले मन्दीका बीचमा पनि कृषिमार्फत अर्थतन्त्रमा भइरहेको योगदान बढाउन र अर्थतन्त्र चलायमान बनाउने प्रयास स्वरुप हाम्रो कृषिलाई प्रविधिसँग जोड्ने प्रयास गरिरहेको छ’ उनले भने, ‘कृषिबाट छोटो समयमै धेरै उपलब्धि हासिल हुने गरी काम गर्न पनि प्रविधिसँग जोडिनुपर्ने हुन्छ ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि कृषिलाई उद्योगमा जोड्न र उच्च मूल्य पाइने कृषि उपजहरुलाई विश्व बजारमा पुर्याउन आवश्यक रहेको र यसका लागि महासंघले कृषि उद्यम केन्द्रमार्फत पहल गरिरहेको बताए ।

‘विगतदेखि नै महासंघले कृषिलाई प्राथमिकतामा राखेको छ, एक जिल्ला एक उत्पादन, एक गाउँ एक उत्पादन, हिमाली प्रोडक्ट जस्ता अभियानहरु महासंघमार्फत चलाइएका छन्’ उपाध्यक्ष ढकालले भने, ‘उच्च मूल्यका कृषि उत्पादनलाई विश्व बजारमा पुर्याउन हाम्रो कृषिलाई प्रविधिसँग जोड्नुपर्ने आवश्यकता छ । अहिले विश्व नै डिजिटल इकोनोमीमा गइरहेको छ, यस्तो बेलामा हामीले नेपालको कृषिलाई पनि सँगसँगै लैजानुपर्छ ।’

उनले सामुदायिक वनलाई कृषि उत्पादनमा लगाउनेबारे बहस गर्न आवश्यक रहेको पनि बताए ।

कृषि उद्यम केन्द्रका सह–सभापति राजकुमार कार्कीले खुला सिमानाका कारण केही कृषि उपजहरु चोरी पैठारी भएर आयात हुँदा नेपालका किसानहरु समस्यामा परिरहेको बताए । उनका अनुसार माछा, मासु, दूध लगायतका कृषि उत्पादनहरु चोरी पैठारीमार्फत आउँदा नेपालका उत्पादनहरुले खेर जाने र मूल्य नपाउने अवस्था रहेको छ ।

‘यसका बाबजूद पनि कृषिलाई अघि बढाएर नै आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माण गर्न कृषि नै प्रमुख मेरुदण्ड हो’ उनले भने, ‘दीगो अर्थतन्त्रका लागि कृषि नै मुख्य माध्यम हो, नेपाल जस्तो देशमा कृषिलाई विविधिकरण गर्दै प्रविधिसँग जोडेर बजारीकरण गर्नुपर्छ ।’

केन्द्रकी बोर्ड सदस्य सुनिता नमाफुकीले नेपाली उत्पादन अब विश्वभरी जानुपर्छ भन्ने उदेश्य अनुरुप डिजिटलाइजेशन गर्नुपर्ने बताइन् । उनले एक क्लिकमा सबै जानकारी उपलब्ध हुने र त्यसबाट नेपालका कृषि उपजहरुको विश्व बजारमा बजारीकरणमा समेत सघाउने विश्वास लिइएको बताइन् ।

कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठका अनुसार छलफलमा कृषि सम्वद्ध २९ वटा वस्तुगत संघका प्रतिनिधिहरु सहभागी छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved