३२ वटै वडाका भवन परम्परागत नेपाली शैली र एकै स्वरुपका हुनेछन्ः मेयर शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 08:39:27 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । वडा–२७ को वडा भवन शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो । पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ ।’

उनले कतै नयाँ भवन निर्माण गरिएको, कतै तला थपेको र कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेको भन्दै केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढिरहेको बताए । 

उनले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि स्वर्णयुग भएको दाबी पनि गरे । 

‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले दाबीका साथ भने, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएका थिएनन् ।’

प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिए । वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भईरहेको पनि उनको भनाई छ । ५, ७, १०, १५, १७, ३२ को वडा भवन तला थपेर सञ्चालनमा रहेको पनि मेयर शाक्यले जानकारी दिए । वडा ८ र ११ को  खरिद प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले २७ को शिलान्यास भएको र २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको बताए ।

वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भईरहेको र वडा–१३, २४ र २५ बन्न बाँकी रहेको मेयर शाक्यले बताए । महानगरपालिकाले दिएको जानकारी अनुसार २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ ।

शाक्यले अहिले जति पनि वडा कार्यालय भवन बनेका छन् ती मेयर, उपमेयर वा वडाध्यक्ष– सदस्यका लागि नभई स्थानीय जनताको भएको पनि बताए । 

शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए । 

‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ ।’

हरिभवनलाई बागदरबार भन्नु मरेको मान्छे जिउँदो छ भने जस्तै हो

उनले केन्द्रीय भवन निर्माणमा मुद्धा–मामिलाले समस्या भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिए । 

हरिभवनलाई बागदरवार भनेर मुद्धा हाल्ने काम गरी अवरोध गरेको गुनासो मेयर शाक्यको छ । 

‘मलाई मेयरले बागदरबार मास्नेभयो भनेर आरोप लगाइयो । त्यो प्रमाणित कसैले गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘बागदरवार एक जनाले बेचिसक्यो अर्कोले किनेर प्लटिङ गरेर बेचिसक्यो । बागदरबार बेच्ने सुशील शम्सेर जबरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै हुनुहुन्छ ।’ 

तर, मुद्धा चाँहि भीमसेन थापा कालिन बागदरबार भत्काउने मेयरलाई कारबाही गरिपाउँ भनेर हालिएको भन्दै गुनासो गरे ।

‘बेच्ने पनि यहिँ छ, किन्ने पनि यहिँ छ,’ उनले भने, ‘तपाईँहरु आफैँ कल्पना गर्नुहोस् ।  यस्तो कुरा मरेको मान्छेलाई जिउँदै छ भनेर जिद्धी गरे जस्तै हो ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्यलगायतले पनि सम्वोधन गरेका थिए ।

करीब ४ आना क्षेत्रफमा निर्माण हुने वडा–२७ को भवनको इष्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैँया रहेको र कार्यादेश रकम भ्याट समेत २ करोड ८० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन ६ तलाको हुनेछ । सोही भवनमा क्लव पनि रहने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved