शुल्क नतिरी डेढ दर्जन विमान कम्पनी वेपत्ता, कुन कम्पनीले कति तिर्न बाँकी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2019 | 12:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई गन्तव्य बनाएर उडान गर्ने १८ वायुसेवा कम्पनी विमानस्थललाई तिनुपर्ने शुल्क नतिरी सम्पर्क विहिन भएका छन् । हाल उनीहरुको सेवा पनि बन्द भईसकेको छ । तर अझैपनि विमानस्थल प्रशासनले बक्यौता रकम अशुल्न सकेको छैन । सेवा बन्द गरेर गइसकेका विदेशी तथा स्वदेशी १८ विमान कम्पनीले विमानस्थललाई २५ करोड ३१ लाख रुपैयाँ बुझाउन बाँकी छ । 

कुन कम्पनीले कति तिर्न बाँकी ?

नेपाललाई तिनुपर्ने बक्यौता रकम सबैभन्दा धेरै गल्फ एयरले तिर्न बाँकी छ । गल्फ एयरले नेपाललाई तिनुपर्ने २ करोड २२ लाख १३ हजार ५४ रुपैयाँ तिरेको छैन । हाल यो वायुसेवा कम्पनी सम्पर्क विहिन छ । 

त्यस्तै किंगफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार, एयर सहारा जेटलाइटको ३४ लाख ७८ हजार, पाकिस्तान एयरलाइन्सको २६ लाख ८४ हजार, बहाराइन एयरलाइन्सको २४ लाख ६३ हजार, हङकङ एक्सप्रेसको १९ लाख ६२ हजार, तुई एयरलाइन्सको ९ लाख ५८ हजार, ओरियन्टल थाई एयरवेजको ५ लाख ८९ हजार, सिंगापुर एयरलाइन्सको ५ लाख ५८ हजार, बर्मा एयरवेजको १ लाख ८६ हजार, र्याक एयरवेजको १ लाख ८३ हजार, लुफ्थान्सा एयरको १ लाख ६३ हजार, जीएमजी एयरलाइन्सको १ लाख ६० हजार,  स्पाइसजेट एयरलाइन्सको १ लाख १५ हजार, युनाइटेड एयरवेजको १ लाख ६ हजार, कोलोसस एयरको ५७ हजार र अस्ट्रिन एयरलाइन्सको ४३ हजार बाँकी छ । 

विदेशी बाहेक १० वटा आन्तरिक एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्क विहिन भएका छन् । नेपाली एयरलाइन्सले मात्रै विमानस्थललाई बुझाउनुपर्ने बक्यौता रकम ८ करोड ४७ लाख छ । 

पहिला आन्तरिक उडान भरेर विमानस्थल शुल्क नतिरी सम्पर्क विहिन भएका १० वटा एयरलाइन्समध्ये सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी नेकोन एयर इन्टरनेसनलको छ । नेकोनले ४ करोड ६३ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ । एयर काष्ठमण्डप, एयर नेपाल, अल्पाइन एयर, गरुण एयर, गोरखा एयर, कर्णाली एयर, मुक्ति एयर, नेपाल एयरवेज र स्काइलाइन एयरवेजले पनि तिन्पर्ने बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

वायुसेवा कम्पनीहरुले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्कबात रकम बुझाउनु पर्छ ।

के गर्दैछ विमानस्थल कार्यालय ?

विमानस्थल कार्यालयले व्यवसाय नै छोडेर बसेका वायुसेवा कम्पनीबाट बक्यौता रकम भूक्तानी लिन निकै कठिन रहेको प्रतिक्रिया दिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी सरकारी स्तरबाटै निर्णय गरेर सम्बन्धित देशमार्फत नै बक्यौता उठान पहल हुनुपर्ने बताउँछन् । अन्यथा बक्यौता रकम उठ्न गाह्रो हुने उनको भनाई छ ।

सञ्चालनमा रहेका तर शुल्क तिर्न आनाकानी गर्दै आएका वायुसेवा कम्पनीलाई पनि विमानस्थलले निरन्तर चिठि लेखिरहेको जनाएको छ । कम्पनीले व्यवसाय सञ्चालन भईरहेको र आफूहरुले विभिन्न किस्तामा तिर्ने भन्दै प्रत्युत्तर दिने गरेका छन् ।

तिवारीका अनुसार बक्यौता नतिर्ने र व्यवसाय बन्द गरेका आन्तरिक वायुसेवा कम्पनीको हकमा भने विमानस्थलले कानुनी प्रक्रिया पनि अघि बढेको छ । धेरै जसो कम्पनी अझैपनि सम्पर्कमा नभएको उनको भनाई छ ।

यस्तो छ कानुनी प्रावधानः

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली (चौथो संशोधन) २०६७ को नियम ३० अनुसार शुल्क नतिर्ने वायुसेवा कम्पनीलाई सेवामा रोक लगाउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सेवा शुल्क भुक्तानी नगर्ने विमान कम्पनीलाई विमानस्थलबाट जारी गरिएको अनुमतिपत्र, सम्झौतपत्र वा अन्य कुनै कारोबार गर्न दिइएको अनुमति विमानस्थल कार्यालय प्रमुखले स्थगन गरी उनीहरुको सम्पत्ति रोक्का राख्न पाउँछन् । 

विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क बढ्दै जान्छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट पनि हुनेछ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा उल्लेख छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved