चीनबाट भएको नेपालीको उद्धार खर्च सार्वजनिक नगर्न ‘माथिको आदेश’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 20, 2020 | 12:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट १७० जना नेपालीको उद्वारमा लागेको खर्च सार्वजनिक गर्न अटेर गरेको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ ल्याउँदा भएको खर्च निगमले सार्वजनिक गर्न नमानेको हो । 

खर्च सार्वजनिक गर्न निगमद्वारा अस्वीकार

चीनको वुहान प्रान्तमा रहेका १७० जना नेपालीलाई सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजको चार्टर उडानमार्फत नेपाल ल्याईएको थियो । गत आइतबार बिहान करिब ४ः०० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालीलाई बोकेर अवतरण गरेको जहाजको खर्च सरकारले ब्यहोर्ने भनिएपनि के कति खर्च भयो भन्नेबारे निगमले सार्वजनिक गर्न अस्वीकार गरेको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काले सम्बन्धित विभागले भएको खर्च सार्वजनिक नगर्न भनेका कारण आफूले सूचना दिन नसक्ने बताइन् । ‘के कति खर्च भयो भनेर हाम्रो कर्मशियल डिपार्टमेन्टले हेर्ने हो’ उनले भनिन्, ‘सम्बन्धित डिपार्टमेन्टले सार्वजनिक नगर्ने भनेपछि मैले दिन मिल्दैन ।’ 

सम्बन्धित विभागले किन दिन मानेन भन्ने प्रश्नमा उनले ‘माथिको निर्देशन नै त्यस्तै छ भन्नुभयो’ भन्ने उत्तर दिईन् । ‘सम्बन्धित विभागका निर्देशक देश बाहिर हुनुहुन्छ, भएका साथीहरुलाई नौलो लाग्यो होला, त्यही भएर अहिले सार्वजनिक नगरौँ भन्ने लागेको हुनसक्छ’ उनले भनिन्, ‘अर्को हप्तासम्म उक्त विभागका निर्देशक आउनुहुन्छ, कुरौँ न केही दिन, सायद उहाँ आएपछि सार्वजनिक हुन्छ होला ।’

क्वारेन्टाइन अवधिको घाटा जोडिने

जहाजलाई चीनबाट फर्किएपछि ४८ घण्टा क्वारेन्टाइनमा राख्दाको समेत नोक्सानी जोडिने निगमको उच्च स्रोतले जानकारी दिएको छ । यसका लागि मन्त्रालयसँग छलफल भईरहेको बताईएको छ । 

‘क्वारेन्टाइनमा राख्दाको ४८ घण्टासम्म जहाजले कति आम्दानी गर्न सक्थ्यो भनेर त्यो अवधिमा भएको आम्दानी कटौतीलाई समेत चार्टर गर्दाकै खर्चमा जोडिने छ’ स्रोतले भन्यो, ‘यसबारे मन्त्रालयसँग छलफल भईरहेको छ ।’ 

निगमका प्रवन्ध निर्देशक गणेश चन्दका अनुसार पाइलट र को–पाइलटको खर्च आईसकेको र बाँकी जोड्ने काम भईरहेको बताएका छन् । सो उडानको लागत सरकारले नै ब्यहोर्ने छ । निगमकी प्रवक्ता खड्काका अनुसार पूरा हिसाब सार्वजनिक भएपछि सरकारले निगमलाई लागेको सबै खर्च तिर्नेछ ।

यसअघिः

नेपालीको उद्वार खर्च कति ? कसले तिर्छ पैसा ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved