त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ७४ वर्षपछि पायो साथी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 10:14:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बोझ अब कम हुने तर्खर सुरु भएको छ । किनभने, मुलुकभित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौँ विमानस्थलले बल्ल साथी पाएको हो । 

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्ष भएको छ । झण्डै साढे ७ दशकपछि मात्रै अर्को अन्तराष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल विधिवत सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको पुष्टि गरेका छन् । उनले काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ७४ वर्षपछि नेपालको हवाई उड्डयन क्षेत्रमा भरपर्दो र आफू सरहकै साथी पाएको बताएका छन् । उनले नेपालको नागरिक उड्डयन क्षेत्रको इतिहासमा गौतमुबद्ध एयरपोर्ट सञ्चालनमा आउनु कोसेढुङ्गा भएको पनि दाबी गरेका छन् ।

गौतमबुद्ध एयरपोर्टको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर आजबाट अन्तराष्ट्रिय तर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा आएको हो । यो विमानस्थलबाट विदेशी उडान भने जेठ २ गते बुद्धजयन्तीका दिनदेखि मात्रै सुरु हुनेछ । 

जेठ २ अघि पनि अन्तराष्ट्रिय उडान गर्ने जहाजहरुले आपतकालिन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

यो विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न जजीरा एयरले सबै तयारी गरिसकेको छ । जेठ २ गतेदेखि जजिराले नै अन्तराष्ट्रिय उडान गर्नेछ । अनुमति लिएको अन्तराष्ट्रिय एयरलाइन्स कम्पनी जजिरा मात्रै हो । अरु विमान कम्पनीले पनि चासो देखाएर विमानस्थल भ्रमण गरिरहेका छन् । 

नयाँ धावनमार्गबाट आज पहिलो उडान भने यती एयरलाइन्सले गरेको छ । आज बिहान ७ः४५ बजे नयाँ धावनमार्गबाट यतीले पहिलो उडान गरेको हो । 

यो विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध, यती, श्री र सौर्यले उडान गर्दै आएका छन् ।

यो एयरपोर्ट सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ बाट निर्माण सुरु गरिएको थियो । पछिल्लो पटक २०२० को मार्चसम्ममा निर्माण सक्ने लक्ष्य निर्धारण गरिएको भएपनि कोरोनाले ढिलाई भएको थियो । 

चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले निर्माण गरेको यो विमानस्थल एशियाली विकास बैंकको सहुलियत ऋणमा तयार भएको हो । यो परियोजनामा हालसम्म ११ अर्ब खर्च भएको छ । अब टर्मिनल भवनको काम बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved