भैरहवामा वाइडबडीको 'सकसपूर्ण' टेस्ट फ्लाइट : प्राविधिक रूपमा सफल, व्यवस्थापन खत्तम

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Apr 29, 2022 | 11:18:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको वाइडबडी विमान एयर ३३० ले बिहीवार नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक 'डेमोन्स्ट्रेसन' उडान गरेको छ । २ सय ६७ यात्रुसहित पूर्ण क्षमतामा बिहीवार साँझ ५ बजेर ५० मिनेटमा विमानले भैरहवामा सफल अवतरण गरेको हो । 

जहाजले धावनमार्ग छुनेबित्तिकै यात्रुहरूले ताली बजाएर एक-आपसमा बधाई साटफेर गरेका थिए । तर विमान जहाँ रोकिनुपर्थ्यो त्यहाँ रोकिएन । केही अघि गएर रोकिएको विमानलाई ट्याक्सी वेमा लैजान सकस भयो । साना विमानहरूले सजिलै टर्न लिन सक्ने ठाउँमा रोकिएको वाइडबडी आधा घण्टासम्म रनवेमै रोकियो । 

इन्जिनियरहरूले एउटा मेसिनको सहारामा विमानलाई सार्प टर्न लिन सघाए । त्यसपछि ट्याक्सी वे हुँदै टर्मिनलतिर लागेको विमानलाई दुई वटा वाटर क्याननले दुवैतिरबाट 'वाटर स्यालुट' गरेका थिए । 

भैरहवामा सफल अवतरण गरेपनि एयर ट्राफिक कन्ट्रोल र पाइलटबीच भएको मिसकम्युनिकेसनका कारण जहाज जहाँ रोकिनुपर्थ्यो त्यहाँ नरोकिएको जहाजभित्रै रहेका प्राविधिकहरूले बताएका थिए । 'जहाज अवतरण त भयो तर जहाँ रोकिनुपर्थ्यो, त्यहाँ रोकिएन । यो टेस्ट फ्लाइटबारे केही नबोलौं, तर रेगुलर फ्लाइटमा यो ठूलो गल्ती हो,' नाम नलेख्दिनु होला भन्दै जहाज भित्र रहेका इन्जिनियरले बताए । 

गल्ती जसले गरेको भएपनि पौने घण्टासम्म यात्रुहरू जहाजमै थुनिन बाध्य भए । उसो त अपराह्न ३ बजे उड्ने भनिएको जहाज सवा ५ बजे मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गरेको थियो । साढे ३ बजे आसपास सबै यात्रुहरूलाई विमानभित्र चढाइयो र सवा पाँच बजेसम्म थुनेर राखियो । 

कमजोर मात्र होइन, खत्तम व्यवस्थापन 

परीक्षण उडानका लागि भन्दै बुधवार नै नागरिक उड्ययन प्राधिकरणले पत्रकार र अन्य संस्थाका व्यक्तिहरूलाई बिहीवार १ बजे एयरपोर्ट आउनुहोला भन्दै खबर गरिएको थियो । सोहीअनुसार १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रु जम्मा हुन शुरू भयो । ३ बजे जहाज उड्ने भनिएको थियो तर साढे २ बजेसम्म पनि बोर्डिङ पासको व्यवस्था गरिएन । 



त्यसपछि हातहातमा बोर्डिङ पास लिएर नेपाल वायुसेवा निगमका कर्मचारी झुल्किए । भीड ठूलो भइसकेको थियो, पास कसलाई बाँड्ने, कसरी बाँड्ने, बाँडेको रेकर्ड कसरी राख्ने जस्ता विषयमा ध्यान नदिँदा थप भद्रगोल सिर्जना भयो । कतिपयका नामहरू छुटेका थिए, एयरपोर्ट पुग्ने तर जहाजमा चढ्न नपाउने समस्या देखियो । 

होहल्ला र बलमिच्याईंका बीच बोर्डिङ पास बाँड्न निकै सकस देखिएको थियो । बल्लतल्ल पास बाँडियो । हुलमुल र भद्रगोलमा कतिपयको परिचय पत्र नै हेरिएन । 'म फलानो हुँ' भनेकै भरमा पास पाइने स्थिति थियो । 

लगभग साढे ३ बजेतिर सबै यात्रु चढे तर जहाजले उड्ने छाँट देखाएन । बरू पाइलटहरूले बोर्डिङ पास नभएकाहरू पनि जहाजमा चढेकाले उडाउन नमिल्ने रिपोर्टिङ गरेपछि जहाजमै होहल्ला भयो । 

पछि पत्ता लाग्यो जहाजमा केही प्रहरीहरू बिना पास चढेका रहेछन् । बल्लतल्ल त्यो समस्या समाधान भयो तर पनि जहाज उडेन । नउडेको जहाजमा एयर होस्टेसहरूले शौचालय प्रयोग गर्न पनि बन्देज लगाएका थिए । एक हिसाबले त्यो परिस्थिति दयालाग्दो थियो । यात्रुहरूले आवाज उठाएपछि शौचालयको ढोका भने खोलियो । ३ बजे चढेका यात्रु सवा ५ बजेसम्म जहाजमा थुनिन बाध्य भएका थिए । 

जहाज बल्लतल्ल उड्यो । भैरहवासम्मको उडान समय २७ मिनेट थियो । भैरहवाको आकाशमा एक फन्को लगाउने पहिल्यै तय भएबमोजिम जहाजले काठमाडौँबाट उडेको करीब ३८/४० मिनेटमा भैरहवामा ल्याण्ड गर्यो । 

पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच मिसकम्युनिकेसन भएर जहाज आधा घण्टा भन्दा बढी रनवेमै रोकिंदा जहाजभित्र रहेका यात्रुहरू भोकले छट्पटाउन थालिसकेका थिए । 



खुसीको क्षण 

यद्यपि जहाज सफलतापूर्वक अवतरण गर्नु एउटा खुसीको क्षण थियो । त्यसको साक्षी बस्न टाढा टाढा विमानस्थललाई घेरिएको फलामे जालीबाहिर सयौं स्थानीयहरू उभिएका थिए । उनीहरूले फोटो भिडियो लिएको दृश्यले वर्णन गर्थ्यो - आफ्नो आकाशमा यति ठूलो जहाज देखेका स्थानीयहरू कम खुसी छैनन् । 

जहाजबाट ओर्लिएपछि पनि धेरै खुसी प्रकट गरे स्वागत गर्नेहरूले । जहाजभित्रका यात्रु जहाजमै थुनिएर बस्दा बाहिर माला र खादा लिएर स्वागत गर्न बसेकाहरू पनि चिन्तित थिए । जहाजबाट ओर्लिएपछि पर्यटनमन्त्री आले र क्यानका अन्य पदाधिकारीहरूले खुसी साटासाट गरे । 

एयरपोर्ट बाहिर न्यौपाने रेस्टुरेन्ट चलाएका साहुजीले बिजपाटीका प्रतिनिधिसँग भने, 'यो सफलता हेर्न हामीले सात वर्ष कुरेका थियौं । आज यति ठूलो जहाज पनि हामीले देख्न पाइने रहेछ भनेर खुसी लाग्यो ।' अन्तर्रराष्ट्रिय विमानस्थल संचालनमा आएपछि आफ्नो व्यापार अझै बढ्ने आशा उनले व्यक्त गरेका थिए ।

बोलेनन् मन्त्री आले 

जहाजबाट ओर्लनेबित्तिकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहिर परिसरमा मन्तव्य कार्यक्रम राखिएको थियो । कार्यक्रम आधा घण्टाभन्दा धेरै चल्यो । मन्त्री आले भने निर्वाचन आचारसंहिताका कारण केही बोलेनन् । त्यहाँ बोल्ने वक्ताहरू (क्यानका प्रबन्ध निर्देशकलगायत)ले टेस्ट फ्लाइट सफल भएको भन्दै खुसी व्यक्त गरे । 

‘७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा हामीले यसलाई पाएका छौं’, क्यानका प्रबन्ध निर्देशक प्रदीप अधिकारीले भने, 'आजको डेमोस्ट्रेसन् फ्लाइट सफल भएको छ । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायीक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ ।'

त्यस्तै पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले परीक्षण उडान सफल भएको बताए भने जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिएका थिए ।



फर्किनेबेलामा उस्तै सकस 

कार्यक्रम सकिएपछि फर्किनका लागि सबैलाई प्रस्थान कक्षमा जान अनुरोध गरियो । सो कक्षमा जम्मा एकजना सुरक्षाकर्मीले मात्र फर्कनेहरूको सुरक्षा जाँच गरिरहेका थिए । फर्किने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सबै जनाको सुरक्षा जाँच गर्न एक घण्टा भन्दा बढी लाग्यो । फर्कनेबेलाको बोर्डिंङ पास वितरण गर्न उस्तै सकस भएको थियो । पासमा हातैले यात्रुको नाम लेख्दै थिए कर्मचारीहरू । 

साढे ९ बजे जहाज उड्यो । उडान समय त्यही २७ मिनेटको थियो । रातिको १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ल्याण्ड गर्नुपर्ने थियो । तर ल्याण्ड गर्ने तयारी भइरहेका बेला पाइलटले जहाजलाई ओभरसुट गरे । किन गरे भन्ने कुरा पछिमात्र जानकारी दिइयो । 

'विमानस्थलको रनवेमा केही वस्तु भेटिएको जानकारी आएकाले जहाज आकाशमै होल्ड गर्नुपर्ने भयो,' ककपिटबाट पाइलटले उद्घोषण गरे । जहाज उडेर सिमराको आकाशमा पुग्यो । २५ मिनेट भन्दा बढी जहाज यताउता घुमिरह्यो । अन्त्यमा रनवे खालि गरिएको जानकारी आएपछि पाइलटले जहाज सफलतापूर्वक अवतरण गरे । 

यतिबेला पनि यात्रुले ताली बजाए । भैरहवामा बजेको ताली जहाजले सफलतापूर्वक परीक्षण उडान सम्पन्न भएकोमा बजाइएको थियो भने यतिबेलाको ताली काठमाडौं-भैरहवा-काठमाडौं उडानका क्रममा खेप्नुपरेको सास्तीबाट मुक्ति पाइएकोमा बजेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved