[UPDATE] चार्टर्ड फ्लाइटमा मजाक : रातारात काठमाडौँबाट बसमा लगिएका अनिँदा यात्रु भैरहवा पुगे, एजेन्ट गायब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 08:32:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान गर्ने नाममा यात्रुहरूलाई हदैसम्मको सास्ती दिएको छ ।

शुक्रबार बिहान ७ बजे काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडानमार्फत यात्रु लैजाने तालिकालाई यात्रुलाई जानकारी नै नदिई परिवर्तन गरेर शनिवार अपराह्न भैरहवाबाट मात्र उडान हुने जानकारी दिइएको थियो । त्यसपछि शुक्रवार राति ८ बजे काठमाडौँको नक्सालबाट बसमा ती यात्रुलाई भैरहवा पुर्याइएको छ ।

बिहान करीब ८ बजे भैरहवाको विमानस्थल पुर्याएर एजेन्टहरू गायब भएका छन् ।

'रातभरको अनिदो र भोक एउटा ठाउँमा छ, हामीलाई यहाँ अलपत्र छोडेर एजेन्टहरू पनि गायब भए,' सकसपूर्ण तरिकाले भैरहवा पुर्याइएका एक यात्रुले बिजपाटीसँग भने ।

'राति एकपटक खाना खान दियो, सुत्न पाइएन । नारायणघाट बुटवल सडकखण्डको बिग्रेको बाटोमा निदाउन पनि पाइएन । गाडीको सीट क्षमताभन्दा बढी यात्रुलाई राखेर भैरहवा ल्याएको थियो । अहिले हामीलाई न नयाँ टिकट दिएको छ, न कोही यहाँ दुख सुन्दिने मान्छे छ । हामीलाई भेडाबाख्रा भन्दा बढी दुख दियो,' उनले भने ।


उनले दिउँसो १ बजेर २० मिनेट जाँदा मलेसियाको फ्लाइट हुने भनिएतापनि त्यो अझै कन्फर्म नभएको भन्दै दुख पोखे ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जाँदै रहेछन् । आफ्नो नाम समाचारमा लेखे अप्ठेरो पर्ने हो कि भन्ने उनले जनाएको चिन्ता अनुसार उनको नाम यहाँ उल्लेख गरिएको छैन ।

शुक्रवार बिहानै उनीहरू काठमाडौँबाट मलेसिया उड्ने तालिका थियो । शनिवार अपराह्नसम्म उनीहरू मलेसिया पुगेर पनि आ-आफ्नो काममा लागिसकेका हुन्थे ।


तर भैरहवादेखि मलेसियाको क्वालालम्पुर उड्नैपर्ने नागरिक उड्ययन प्राधिकरणको उर्दीपछि हिमालयले चार्टर्ड फ्लाइटका नाममा यात्रुलाई दुख दिने सिलसिला थालेको हो ।

वैदेशिक रोजगारीमा जाने यात्रुहरुले शुक्रबार बिहान ७ बजेको एच९–८९११ उडानका लागि टिकट काटेका थिए । सोही अनुसार उनीहरु बिहान सबेरै त्रिभुवन विमानस्थल पुगे । तर, विमानस्थलस्थित हिमालय एयरलाइन्सको काउण्टरमा कोही पनि कर्मचारी नदेखेपछि यात्रु तनावमा परे । 

त्यहाँ विमानस्थलका कर्मचारीले हिमालयको उडान शनिबार भैरहवाबाट हुने जानकारी गराएपछि यात्रुहरुले हिमालयको कार्यालयमा सम्पर्क गरे । विमानस्थल पुगिसकेपछि बिहान करिब ६ः३० बजेको समयमा हिमालय एयरलाइन्सले यात्रुलाई शनिबार दिउँसो १ः२० बजे भैरहवाबाट उडान हुने भन्दै म्यासेज पठायो । 

त्यसपछि यात्रुहरु खानु र पिउनु गरी बिचल्ली भए । म्यानपावर कम्पनीहरूले खाजा खान भनेर २/२ सय उपलब्ध गराए । त्यसैको खाजा खाए ।

शुक्रवार दिउँसो हिमालय एयरलाइन्सले शुक्रबार साँझ ७ बजे नक्सालमा जम्मा हुन सबै यात्रुलाई उर्दी गर्यो । नक्सालबाट भैरहवासम्म गाडीमा लैजाने र त्यहाँबाट भोली शनिबार दिउँसो १ः२० बजेको चार्टड उडानमार्फत क्वालालम्पुर उडाउने जानकारी गरायो । 


बिहानको समेत खाना खान नपाएका यात्रुहरुलाई म्यानपावरका कर्मचारीले ६ः३० बजेदेखि नै नक्सालस्थित नन्दी रात्री माध्यमिक विद्यालयको गेट र तरकारी बजार आसपास जम्मा गराएर राखे । करिब २ सयको संख्यामा महिला सहितका यात्रुहरुलाई राति सकसपूर्ण तरिकाले भैरहवा लागिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved