ग्राउण्ड ह्याण्डलिङ खोसिएपछि हिमालय एयरलाइन्स तनावमा, ५० करोड क्षतिपूर्ति माग्दै अदालत जाने चेतावनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 25, 2022 | 11:25:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिरहेको सेल्फ ग्राउण्ड ह्याण्डलिङ खोसिएको छ । हिमालयले भैरहवा र पोखरा एयरपोर्टको समेत ग्राउण्ड ह्याण्डलिङ लिन शक्ति केन्द्रलाई प्रभावित पारिरहेको चर्चाका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पनि खोसियो । 

२०७७ असोज ४ गते मन्त्रिपरिषद बैठकबाटै हिमालय एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाएको थियो । त्यसपछि २०७९ भदौ २८ मा यो सुविधा नवीकरण गरिएको थियो । तर, पौष ७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयले पाउँदै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा खोसिएको पत्र थमायो ।

अदालत जाने हिमालयको चेतावनी

२०७७ असोज ४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणले आफूहरुलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको प्रमाणपत्र दिएको र सो अनुसार आफूहरुले मोटो रकम लगानी गरेर सबै मापदण्ड पूरा गरेको अवस्थामा यो सुविधा खोसिएपछि हिमालय एयरलाइन्सले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पचासौ जनाको जनशक्ति तयार गर्नेदेखि औजार उपकरण खरिद गर्नेसम्मका काम गर्दा कम्पनीले करोडौँ रुपैयाँ लगानी गरेको बताए । बिजपाटी डटकमसँगको कुराकानीमा उनले ग्राउण्ड ह्याण्डलिङका लागि प्राधिकरणले तोकेका सबै सर्त र मापदण्ड पूरा गर्दा ५० करोड रुपैयाँ लगानी गरिएको भन्दै सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिने हो भने कम्पनीले गरेको लगानीको भर्पाइ हुनुपर्ने माग गरे ।

‘हामीले सबै काम सकेका थियौँ, पचासौँ जनाको जनशक्ति तयार पार्यौ, आवश्यक उपकरण खरिद गर्यौ’ हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले भने, ‘सबै खालका पूर्वाधार तयार पार्दा ५० करोड खर्च भएको छ ।’ 

उनले ग्राउण्ड ह्याण्डलिङ सुविधा स्थगनको पत्रमा चित्त बुझ्दो कारण उल्लेख नभएकाले प्राधिकरणसँग छलफल गर्ने र आफूहरु प्रतिकुलको निर्णय नसच्चिए कानुनी उपचारमा जानुको विकल्प नभएको पनि बताए । 

‘पहिला यसो गर् भनेर काम लगाउने, सबै काम गरिसकेपछि अधिकार खोस्ने निर्णय स्वीकार्य हुँदैन’ उपाध्यक्ष श्रेष्ठले थपे ।

‘नेपाल एयरलाइन्सको व्यवसाय हत्याउन खोजेको भन्दै गलत प्रचार गरियो’

उपाध्यक्ष श्रेष्ठले आफूहरुले कुनै अन्य व्यवसायिक ग्राउड ह्याण्डलिङको सुविधा नखोजेको पनि दाबी गरे । तर, आफ्नै कम्पनीको सेल्फ ग्राउण्ड ह्याण्डलिङ आफैँले गर्छौँ भन्दा नेपाल एयरलाइन्सको व्यवसाय हत्याउन खोजेको भन्दै गलत प्रचार गरेर ‘पब्लिक’को नजरमै हिमालय एयरलाइन्सलाई खराब देखाउन दुष्प्रयास गरिएको उनको आरोप छ ।

ग्राउण्ड ह्याण्डलिङको सुविधाबापत एजेन्ट कम्पनीले प्रति उडान ३ हजार डलरसम्म लिने गरेको श्रेष्ठको भनाई छ । तर, आफूहरुले ग्राउण्ड ह्याण्डलिङको सुविधा पाउँदा प्रति उडान १५ सय डलरमै सेवा दिन सक्ने उनले दाबी गरे ।

‘हामीले ग्राउण्ड ह्याण्डलिङ पाउँदा एयर फेयर घट्छ, एयर फेयर घट्नु भनेको यात्रुहरुलाई नै सस्तो हुनु हो’ उनले भने, ‘तर, हामीलाई  नेपाल एयरलाइन्सको बिजनेश नै हत्याउन लाग्यो भनेर भनियो ।’

के भन्छ प्राधिकरण ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन नसकिने ब्यहोराको पत्र पठाउँदै जग्गा कम हुँदा यो सुविधा हाललाई स्थगन गर्नुपरेको दाबी गरेको छ ।

‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ प्रयोजनका लागि इकयूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेकाले मिति २०७९/०५/२८ तथा मिति २०७७/०६/०४ मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभए सम्मलाई प्राधिकरणको मिति २०७९/०९/०४ को निर्णय अनुसार स्थगन गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ प्राधिकरणले हिमालय एयरलाइन्सलाई पठाएको पत्रमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved