अन्तर्राष्ट्रिय विमानस्थललाई साँच्चै अन्तर्राष्ट्रियस्तरको बनाउन ३५ अर्ब खर्च गरिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2023 | 06:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सुविधासहितको अत्याधुनिक बनाउन ३५ अर्ब रुपैयाँ खर्च गर्न लागिएको छ । अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नयाँ टर्मिनल भवन बनाउन ३५ अर्ब रुपैयाँ खर्च लाग्ने गरी गुरुयोजना बनिसकेको छ । उक्त गुरुयोजना नियामक निकाय नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको छ । स्टिल स्ट्रक्चरको नयाँ टर्मिनल भवन ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा बनाइनेछ । यो टर्मिनल भवन अहिले रहेको टर्मिनल भवनभन्दा ३ गुणा ठूलो हुनेछ । 

फ्रेन्च कम्पनी एडीपीआइले नयाँ टर्मिनल भवनको डिजाइन गरिसकेको छ। डिजाइन अनुसार नयाँ टर्मिनल भवनमा व्यवसायिक ठाउँ (कमर्सियल स्पेश), बिजनेस लाउन्ज, ड्युटी फ्री शप लगायतका सुविधा हुनेछन् । अहिलेको टर्मिनल भवन अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसारको छैन । तर, अब बन्ने भवन भने अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ । नयाँ टर्मिनल भवनमा एकै पटक ६ वटा वाइडबडी जहाजलाई सेवा दिन सकिनेछ । न्यारोवडी जहाज प्रयोग गर्दा १२ वटा जहाजले एकै पटक सेवा पाउन सक्ने छन् । 

‘अहिले टीआईएबाट वार्षिक ४५ लाख यात्रुले सेवा लिन्छन्, तर अब वार्षिक १ करोड यात्रु धान्ने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो’ विमानस्थल स्रोत भन्छ, ‘सबै काम क्यानबाटै हुन्छ, बजेट सुनिश्चित र साइड क्लियरेन्सको काम सुरु भइसक्यो भन्ने छ ।’नयाँ सुविधा सम्पन्न टर्मिनल भवन बनेपछि अहिले भइरहेको टर्मिनललाई आन्तरिक उडान गर्ने जहाजका लागि प्रयोगमा ल्याइने तयारी छ ।

कहाँ छ नयाँ टर्मिनल भवन बनाउने ठाउँ ?

त्रिभुवन विमानस्थलमा ५ वर्षभित्र नयाँ टर्मिनल भवन बन्नेछ । जडिवुटीदेखि पेप्सीकोला चोकसम्मका मुख्य सडकबाट विमानस्थल तिर पर्ने बस्ती एयरपोर्ट क्षेत्रभित्र पर्छ । त्यो क्षेत्रका बस्तीमा मुआब्जा वितरण भइसकेको छ । नयाँ टर्मिनल भवन पेप्सीकोलापट्टी बन्नेछ । विमानस्थल हाताभित्रै रहेको नेपाली सेनाको ब्यारेकलाई सारेर त्यहाँ टर्मिनल भवन बनाइनेछ । ब्यारेक सार्न सेना सहमत भइसकेको बताइएको छ ।

‘अहिले सेना बसेको ब्यारेक स्थायी होइन, ३० वर्ष अगाडिको गुरुयोजना अनुसार त्यहाँ बसेको हो, अब पूर्वतिर रहेको एयरपोर्टको राडर एन्टेना भएको ठाउँमा ब्यारेक सारेर अहिले ब्यारेक भएको ठाउँमा टर्मिनल भवन बन्ने छ’ क्यान स्रोतले भन्यो, ‘अहिले हाम्रो विमानस्थलको टर्मिनलभित्र अन्तर्राष्ट्रियस्तरको सुविधा छैन, अब नयाँ बनेपछि यात्रुले संसारका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध सुविधा यहाँ पनि पाउने छन् ।’ नयाँ टर्मिनल भवनमा अहिले गौशालाको पूर्वतिर (सूचना विभागको ठ्याक्कै अगाडी) रहेको  गल्फ मैदानबाट प्रवेशद्वार बनाइनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved