भन्सारका कारण ४ कम्पनीका ६ जहाज ग्राउण्डेड

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2024 | 07:38:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्मत सम्भारका लागि विदेशबाट झिकाइएका पार्टस् पुर्जाहरु भन्सार यार्डमै थन्किएपछि ६ वटा जहाज ग्राउण्डेड भएका छन् । आयात गरिएका पार्टस् पुर्जामा लाग्ने भन्सार महशुल सम्बन्धि विवाद समाधान नहुँदा मर्मत गर्नुपर्ने जहाजहरु मर्मत हुन नसकी ग्राउण्डेड भएका हुन् ।

वायु सेवा सञ्चालकहरुले जहाज तथा हेलिकप्टरका पार्टस् पुर्जामा १ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने भन्दै आए पनि भन्सार विभागले भने आर्थिक ऐनले १ प्रतिशत भन्सार लाग्ने भनेका वस्तुबाहेक अन्यमा वस्तु अनुसारकै दरको भन्सार महशुल लाग्ने बताउँदै आएको छ । १ प्रतिशत भन्सार लाग्ने वा सम्बन्धित वस्तु सरहकै दरको भन्सार लाग्ने भन्ने विवादका कारण २ महिनादेखि भन्सारबाट जहाजका पार्टस् पुर्जा नछुट्दा हालसम्म ६ वटा जहाज र केही हेलिकप्टर ग्राउण्डेड भइसकेका छन् ।

वायु सेवा सञ्चालक संघका नवनियुक्त अध्यक्ष मनोज कार्कीका अनुसार कैलाश हेलिकप्टरका २ वटा हेलिकप्टर, समिट एयरको एउटा जहाज, बुद्ध एयरका २ वटा जहाज र यती एयरलाइन्सको एउटा जहाज ग्राउण्डेड भएका छन् ।

विगत २५ वर्षदेखि सिङ्गो जहाज आयात गर्दा र जहाजका पार्टहरु ल्याउँदा १ प्रतिशत मात्रै भन्सार लाग्दै आएको र विश्व भन्सार संगठनले समेत यहीँ व्यवस्था गरेको अवस्थामा अहिले भने हार्मोनिक कोड (एचएस कोड) नभएको देखाएर जहाजका पार्टस् पुर्जामा अरु वस्तु सरह भन्सार माग गरेपछि सामान छुटाउन नसकिएको अध्यक्ष कार्की बताउँछन् ।

‘हाम्रा जहाजमा अगाडी स्क्रिन हुन्छ, टेलिभजन जस्तो देखिने स्क्रिनलाई विभागले टेलिभिजनमा लाग्ने भन्सार माग गरिरहेको छ, टायरको पनि गाडीको टायर अनुसारको भन्सार महशुल माग गरिएको छ’ अध्यक्ष कार्कीले भने, ‘मुख्य मुख्य पार्टस् बाहेक अरुको एचएस कोड छैन, एचएस कोड नभएकालाई अन्य शीर्षकमा राखेर विगत २४/२५ वर्षदेखि १ प्रतिशत भन्सारमै छोड्ने गरिएको थियो । तर, अहिले आएर अन्य शीर्षक मान्य हुँदैन, टायरको टायरकै एचएस अनुसार, स्क्रिनको टेलिभिजन अनुसार, अरु प्लाष्टिकजन्य सामानको प्लाष्टिकको भन्सार दर अनुसार महशुल लाग्छ भनियो । यसो भएपछि हामीले सामान छुटाउन सकेनौँ, हाम्रा जहाजहरु मर्मत हुन नसकी ग्राउण्डेड भएर बसेका छन् ।’

यता, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक गगन बहादुर बिके यो विषय भन्सारको विषय नभई पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीसँग सम्बन्धित विषय भएको बताउँछन् । आयातित सामानहरु भण्डारण हुने गोदाम व्यवस्थापनको काम पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको भएकाले यो पारवहनको विषय भएको उनको भनाइ छ ।

विमानस्थलस्थित पारवहन तथा गोदाम व्यवस्थापन कार्यालयका प्रमुख मनिराम पौडेल भने आफूहरुले सामान नरोकेको बताउँछन् । उनले वर्गीकरणको ‘इस्यू’ भएको र जहाँबाट वर्गीकरण हुने हो, त्यहाँबाट वर्गीकरण गराएर सामान लैजान एयरलाइन्स कम्पनीहरुलाई भनिसकिएको बताए ।

‘हामीले सामान रोकेका होइनौँ, वर्गीकरणको इस्यू हो, हामीले जहाँबाट वर्गीकरण गर्ने हो त्यहाँबाट वर्गीकरण गराएर सामान लैजानुस् भनेकै छौँ’, उनले भने, ‘६० दिनसम्म भन्सारमा सामान राख्न पाइहालिन्छ भनेर पनि नआउनु भएको होला ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved