आधा दर्जन बैंकहरुको मर्जर चर्चाबारे के भन्छ राष्ट्र बैंक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2020 | 10:42:00 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बैंकहरुको मर्जरको बिषयलाई लिएर बजारमा थरीथरीका चर्चा हुन थालेका छन्। केहि चर्चा यथार्थपरक भएपनि धेरै चर्चा सम्बन्धित बैंकको सेयर मुल्यमा चलखेल गर्ने नियोजित उदेश्य रहेको पाइएको छ। 

पछिल्लो एक महिनाका घटनालाई मात्र हेर्दा पनि मर्जरका चर्चा सेयर मुल्यमा चलखेल गर्नमा केन्द्रित भएको पाईएको छ। महिनादिन अगाडी नबिल बैंकले युनाइटेड फाइनान्सलाई लिने भन्ने चर्चा चलाईएको थियो, जस कारण फाइनान्सको सेयर मुल्य उचालेर महँगोमा बेच्नलाई खेलाडीहरु सफल भएका थिए ।  

त्यस्तै साता दिन अगाडी मात्र नबिल र सिद्दार्थ बैंकबीच मर्जर हुने भनेर चर्चा चलाइयो यसमा पनि सिद्दार्थ बैंकको सेयर मुल्य बढाएर बेच्नलाई खेलाडीहरु सफल भए। सेयरमुल्यमा बढी चलखेल हुन सक्ने भएकाले सिद्दार्थ बैंकले मर्जरबारे गरिएका टिकाटिप्पणी र लेखिएका समचारमा सत्यता नभएको भन्दै प्रेस बिज्ञप्ति नै जारी गर्न बाध्यो भयो। 

त्यस्तै अहिले नेपाल इन्भेष्टमेन्ट, हिमालयन र सिभिल बैंकबीच मर्जर हुने बजार चर्चा छ। त्यस्तै नबिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीच पनि मर्जर हुने चर्चा छ। तर हिमालयन बैंकले बजारमा चर्चा गरीएझैं मर्जरको लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग कुनै कुरा नभएको भन्दै बिज्ञप्ति  नै जारी गरिसकेको छ। 

सेयरबजारमा सेयर मुल्यमा चलखेल गर्नकै लागि मात्र मर्जरको बारे चर्चा भएको हो त ? राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्, 'गत आर्थिक बर्षको मौद्रिक नीतिमा मर्जरको बिषयलाई प्रथामिकतामा राखिएको थियो, त्यो बेला पुष मसान्तसम्म एउटा निर्णयमा पुग्नलाई बैंकहरुलाई निर्देशनात्मक सुझाव दिइएको थियो। र सबै बैंक वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्तिलाई लिएर आ आफ्नो योजना पनि राष्ट्र बैंक पेश गरिसकेका थिए। '

उनी अगाडी भन्छन, 'कोभिड १९ का कारण अहिले अवस्था परिवर्तन भएको छ, अर्थतन्त्रका अन्य क्षेत्र अप्ठ्यारोमा परेका बेला बैंकिङ क्षेत्र पुरै सहज अवस्थामा छ भन्ने हुदैन, बैंकिङ क्षेत्रमा पनि कोभिड १९ को बाछिटा परेको छ। अहिले राष्ट्र बैंकको प्राथमिकता भनेको भएका बैंक वित्तीय संस्थालाई सहि दिशा तर्फ ल्याउने र अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनलाई मिलेर काम गर्ने हो। '

फागुनको मध्यमतिरसम्म बैंकहरुको वास्तविक अवस्था बाहिर आउँने र त्यसपछि मर्जरलाई लिएर के गर्ने भन्ने बिषयबारे थप छलफल सुरु गरिने ति अधिकारीको भनाई छ। तर बजारमा मर्जरलाई लिएर जुन जुन बैंकको नाम अगाडी आएका छन् त्यसमा हिमालयन र इन्भेष्टमेन्ट बैंकको चर्चामा धेरै सत्यता भएको उनी स्विकार्छन्। 

क्रस होल्डिङ भएका एकाघरका लगानी भएका दुई ठुला बैंकलाई मर्जरमा लैजान सफलता मिलेको अवस्थामा त्यसले अन्य बैंकहरुलाई पनि स्वत दबाब सृजना गर्ने भएकाले हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर आफुहरुको प्राथमिकतामा रहेको उनको भनाई छ। 

उनी भन्छन्, 'बैंकहरुलाई मर्जर गराएर थप बलियो बनाउने राष्ट्र बैंकको चाहनामा यी दुई बैंक हिमालयन र इन्भेष्टमेन्ट बीचको मर्जर एउटा कोशेढुंगा साबित हुन्छ, यी दुई बीच मर्जर गराउन राष्ट्र बैंकले हदैसम्मको साथ र सहयोग गर्छ। '

तर नबिल र एनसीसी बैंकबीचको मर्जर एउटा बजार चर्चा मात्र हुन सक्ने उनको भनाई छ। राजनीतिक दलहरु झैं विभिन्न गुटमा बाँडिएको र आन्तरिक रुपमा धेरै किचलो रहेको एनसीसीमा नबिलले हात हाल्ने सम्भावना कम रहेको उनी बताउँछन्। 

राष्ट्र बैंक के चाहन्छ ?

ति अधिकारीकाअनुसार राष्ट्र बैंक अब बढीमा १५ बाणिज्य बैंक भएको देख्न चाहन्छ। राष्ट्र बैंकले उत्कृष्ट १२ को सुचिमा राखेका बाणिज्य बैंकहरुले बाँकिका निजि लगानीका बैंकलाई मर्जर तथा प्राप्ति गरुन् भन्ने राष्ट्र बैंकको चाहना राखेको छ । राष्ट्र बैंकले सोहि अनुसार मौखिक सुझाव समेत दिएको छ। 

त्यसैले बजारमा बेला बेला बिभिन्न बैंकहरुको मर्जरबारे चर्चा चल्नु सामान्य बिषय भएको राष्ट्र बैंकको ठहर छ। कहाँ कुन उदेश्यले चर्चा चलाईएको छ र त्यसमा सत्यता कति छ भन्ने बिषयको यकिन सम्बन्धित व्यक्ति वा संस्थाले बुझ्नु पर्ने राष्ट्र बैंकको भनाई छ। 

सेयरबजार सूचनाको आधारमा चल्ने बजार पनि भएकाले कुन सूचना किन ल्याइएका छन् भन्ने बारे स्वयम् लगानीकर्ताले बुझ्नुपर्ने उनको धारणा छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved