बैंकमाथि नियोजित आक्रमण बढेको बैंकर्सको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 10:47:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरु आफुहरुमाथि नियोजित रुपमै आक्रमण हुन थालेको निष्कर्षमा पुगेका छन्।  केहि समय अगाडी एनआईसी एसियामाथि भएको आक्रमणलाई नितान्त एनआईसीकै भएको ठानेका बैंकहरु अहिले भने उक्त घटनालाई बैंकमाथिकै आक्रमणको रुपमा लिएका हुन्। 

"एनआईसी एसिया बैंकमाथि भएको आक्रमणलाई सुरुमा बैंकिंग उद्योगले नै एनआईसीको मात्र ठान्यो, तर एनआईसी लगत्तै प्रभु र त्यसपछि कुमारी बैंकमाथि आक्रमण हुन थालेपछि हामी बैंकहरुमाथि नै नियोजित रुपमा आक्रमण थालिएको निष्कर्षमा पुगेका हौँ।" एक बैंकरले बिजपाटीलाई बताए। 

ति बैंकरकाअनुसार एनआईसी एसियाबारे सुरुमा प्रचारबाजी गरिएको र त्यसमै टेकेर दुर्गा प्रसाईले सार्वजनिक अभिव्यक्ति दिंदा अवस्था चिन्ताजनक नै बन्न पुगेको थियो।  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकर संघले आयोजना गरेको कार्यक्रममा सम्बोधनको क्रममा एनआईसी एसियाबाट बाहिरिएको निक्षेपको अंक नै तोकेका थिए। गभर्नर आधिकारीले त्यो बेला एनआइसी एसियाबाट २३ अर्ब बाहिरिएको अभिव्यक्ति दिएका थिए।

अन्य बैंकले ब्याजको दर घटाउदा आफुहरु निक्षेपकै लागि भएपनि ब्याज घटाउन नसक्ने अवस्थामा पुगेको एनआईसी एसियाकै एक उच्च पदस्थ कर्मचारी बताउँछन्। ति बैंकर भन्छन् , 'सुरुमा सामान्य लिएका थियौं तर हेर्दा हेर्दै राम्रै अंकको निक्षेप बाहिरियो, पछि नेपाल राष्ट्र बैक लगायतको संस्थाबाट केहि इनिसियसन बढेपछि रिकभरी त भयो  तर पर्याप्त भएन। त्यसैले पनि अहिले निक्षेपकर्तालाई आकर्षित गर्नलाई अरु बैकले ब्याज घटाउदा हामीले बढाउने निर्णय गरेका छौँ।"

एनआइसी एसियामाथिको आक्रमण तथा प्रचारबाजी मत्थर नहुँदै प्रभु बैंकमाथि आक्रमण सुरु भएको थियो। त्यसमापनि, प्रभुसंग मर्ज भएको तत्कालीन सेन्चुरी कमर्शियल बैंकका सीइओ सहितको सिंगो एघार जनाको टोलि कर्जा प्रवाहको बिषयमा सीआईबीले थुनेपछि प्रभु बैंकमाथिको आक्रमण थप बाक्लिएको थियो। 

तर एनआईसी एसियामाथि आक्रमण हुँदा नबोलेका बैंक वित्तिय संस्थाका संघ संस्था तथा सरोकारवालाहरु प्रभु बैंक प्रकरणमा एक जुट भएर लागे। जसकारण प्रभु बैंकमाथिको आक्रमण थप झाङ्गिन पाएन। 

यता प्रभु बैंकमाथिको शृंखलावद्द आक्रमणले विश्राम लिन नपाउंदै केहि दिन यता कुमारी बैंकमाथि आक्रमण सुरु भएको छ। कुमारी बैंकमाथि आक्रमण सुरु गर्ने गिरोहले मिडियाको समेत दुरुपयोग गरेको बैंकहरुमाझ चर्चा छ। 

त्यसो त कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल आफुहरुमाथिको आक्रमणलाई लिएर अचम्मित छन्। साविकको कुमारी र साविकको एनसीसी बैंकको कर्जाको बिषयलाई जोडेर अतिरन्जित गरिएकोमा आफु अचम्मित भएको उनको भनाई छ। 

"साविकको कुमारी र एनसीसी बैंकको कर्जाको बिषयलाई लिएर अहिले जे प्रचारबाजी भएको छ, त्यो पूर्णरुपमा अतिरन्जित बाहेक अरु केहि होइन।" सीइओ खनालले भने, "जुन कर्जाले बैंक डुब्न लाग्यो भनेर प्रचार गरिएको छ, त्यो कर्जाको शतप्रतिशत प्रोभिजन गरिसकिएको छ, भोलिका दिनमा त्यो कर्जाबाट जे जति उठ्छ त्यो सिधै बैंकको नाफामा जोडिन्छ।"

उनकाअनुसार नीति नियम भन्दा बाहिर गएर काम गर्नेलाई कानुनअनुसार कडा भन्दा कडा सजाय हुनुपर्छ तर घटनाको यथार्थलाई तोडमोड गरेर अतिरन्जित गर्ने प्रवृत्तिले भोलिका दिनमा बैंकहरु समस्यामा पर्दा सिंगो अर्थतन्त्रमा नै पहिरो आउने खतरा बढेको छ। 

उनी भन्छन्, "केहि समुह अहिले योजनावद्द रुपमा नै बैंकहरुमाथि आक्रमणमा लागिरहेका छन् तर अर्थतन्त्रको मुख्य पिल्लर मध्येको बैंकिंग प्रणालीमा समस्या आउँदा सिंगो अर्थतन्त्रमा नै समस्या आउँछ, अर्थतन्त्रमा समस्या आउँदा तपाइँ हाम्रो घर दैलो समस्या रहित होला र ?"

त्यसो त एक विकास बैंकका प्रमुख वित्त अधिकृत अहिलेको बैंकहरुमाथिको आक्रमणलाई आर्थिक मन्दी तथा मर्जरको साइड इफेक्टको कारण बताउँछन्। उनकाअनुसार पछिल्लो समय सबै क्षेत्रमा मन्दी लाग्दा बैंकहरु मारे नाफामा गए भन्ने भाष्य सिर्जना गरिएकाले पनि केहि असन्तुष्ट समुह बैंकमाथि जाइलागेका हुन् । 

ती वित्त अधिकृतकाअनुसार आर्थिक मन्दीका कारण धेरै ऋणीहरु कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। कर्जा नतिरेका ऋणीमाथ बैंकहरुले दिएको दबाब र गरेको व्यवहारका कारण पनि अहिले असन्तुष्ट समुह बढेको र यहि असन्तुष्ट समुहलाई केहि स्वार्थि समुहले उचालेर मिडियाबाजी गराएको उनको आरोप छ। 

त्यस्तै बैंकहरुमाथिको आक्रमण मर्जरको साइड इफेक्ट पनि भएको उनको दाबी छ। मर्जर तथा प्राप्तिका कारण कुनै न कुनै रुपमा कर्मचारीहरु असन्तुष्ट बनेको र उनीहरुले पनि स्वार्थी समुह प्रयोग गर्दा अहिलेको अवस्था आएको उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved