
 2mb (1).gif)
चालू आर्थिक बर्षको ८ महिनामा बाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा लगानीको तथ्यांक सार्वजनिक भएको छ। कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ एनबिएले आज यो तथ्यांक सार्वजनिक गरेको हो।
एनबिएको तथ्यांकअनुसार यस ८ महिना अर्थात फागुन २१ गतेसम्ममा २७ वटा बाणिज्य बैंकहरुले ३८ खर्ब २२ अर्ब ७२ करोड निक्षेप संकलन गरेका छन् भने ३३ खर्ब ८७ अर्ब ५० करोड कर्जा लगानी गरेका छन्।
यस अवधिमा बैंकहरुको निक्षेप ३ खर्ब ३२ अर्ब ७४ करोडले बढेको छ भने ४ खर्ब ८२ अर्ब १९ करोडले कर्जा लगानी बढेको छ। यस तथ्यांकले पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जाको माग बढेको देखाउंछ।
८ महिनाको अवधिमा व्यवसायी वृद्धिमा अर्थात निक्षेप संकलन तथा कर्जा लगानीमा एनआईसी एसिया बैंक नै अग्रस्थानमा रहेको छ। निक्षेप संकलनको उत्कृष्ट ५ को सुचिमा एनआईसी सहित प्रभु बैंक, ग्लोबल आईएमई, सिद्दार्थ र सिभिल बैंक रहेका छन्। त्यस्तै यस अवधिमा बिदेशी लगानी भएका स्ट्यान्डर्ड चार्टड, नेपाल एसबिआई, नेपाल बंगलादेश बैंकको निक्षेप संकलन वृद्धि नकारात्मक रहेको छ भने नेपाल इन्भेष्टमेन्टको पनि निक्षेप घटेको छ।
त्यस्तै कर्जा प्रवाहमा पनि एनआईसी एसिया अग्र्स्तानमा रहेको छ भने एनआईसी एसियालाई नबिल, प्रभु, ग्लोबल, एनएमबि बैंकले पछ्याएका छन्। निक्षेप संकलनमा टप ५ मा अटाएको सिभिल बैंक कर्जा लगानीमा ९ मा परेको छ।
एक सातामा कुल १३ अर्ब २९ करोड निक्षेप, नबिलले मात्रै उठायो ६ अर्ब ६७ करोड
पछिल्लो एक सातामा बाणिज्य बैंकहरुले १३ अर्ब २९ करोड निक्षेप संकलन गरेका छन्। जसमा नबिल बैंकले मात्रै ६ अर्ब ६७ करोड निक्षेप संकलन गरेको छ भने नबिललाई सिभिल बैंकले पछ्याएको छ। पछिल्लो एक सातामा निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको ग्लोबल आईएमईले २ अर्ब ६१ करोड संकलन गरेको छ भने तेस्रो स्थानमा रहेको सिभिल बैंकले २ अर्ब ४९ करोड निक्षेप संकलन गरेको छ।
त्यस्तै पछिल्लो एक साता अर्थात फागुन १४ देखि २१ गतेसम्म २५ अर्ब ५७ करोड कर्जा लगानी भएको छ। जसमा एनआईसी एशिया बैंकले मात्रै २ अर्ब ५६ करोड कर्जा लगानी गरेको छ भने यि बैंकलाई ग्लोबल, सानिमा, नबिल र एनआईबिएलले पछ्याएका छन्।
कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्।
भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। चालू आर्थिक बर्षको ८ महिनाको तथ्यांकलाई हेर्ने हो भनेपनि निक्षेपको तुलनामा कर्जा लगानी बढ्दो ट्रेन्डमा देखिएको छ।
केहि तथ्यांकहरु अर्ब हुनुपर्नेमा खर्ब भएकाले सच्याइएको छ, यसबाट पाठकबर्गमा पर्न गएको भ्रम प्रति क्षमा याचना गर्दछौं - सम्पादक