
 2mb (1).gif)
सम्झौता नै भईसकेपनि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर तोडिने सम्भावना बढेको छ। हिमालयन र नेपाल इन्भेष्टमेन्टबीचको मर्जरलाई लिएर सुरुवात देखि नै असन्तुष्ट रहेको एउटा समुह हाबी हुँदै गएपछि यी दुई बैकबीचको मर्जर तोडिने सम्भावना बढेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा सेयर स्वामित्वमा धेरै हिस्सा ओगटेका र पारिवारिक सम्बन्ध भएका राणा र पाण्डे समुहको चाँसोमा राष्ट्र बैंकले आफ्नो उपलब्धि देखेपछि सम्भव भएको मर्जर असन्तुष्ट समुहकै कारण टुट्ने सम्भावना अधिक रहेको स्रोतको दाबि छ।
दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको दबदबा रहेको छ।
स्रोत भन्छ, 'मर्जर पछि बन्ने बैकमा पाण्डे र राणा परिवारको हालीमुहाली हुने निष्कर्ष सहित हिमालयन बैंकको तीन मध्ये एउटा समुह धेरै असन्तुष्ट देखिएको छ, यो समुह जति हाबी हुन्छ त्यति नै मर्जर टुट्ने सम्भावना बलियो हुँदै जान्छ।'
स्रोतका अनुसार राणा र पाण्डे समुहले हिमालयन बैंकका अध्यक्ष समेत रहेका कर्मचारी संचय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई फकाउन सफल भएकाले मर्जर सम्झौता सम्भव भएको हो।
कर्मचारी संचय कोषको प्रशासक भएकै कारण हिमालयन बैंकको अध्यक्ष बन्न पाएका गौतमलाई आफ्नो कार्यकालमा मर्जर गरेको जस लिने चाहना र दुई ठुला बैंकबीच मर्ज हुँदा आफ्नो नीति सफल हुने राष्ट्र बैंकको बुझाईले काम गर्दा राणा र पाण्डे समुहको मर्जर योजना सफल भएको हो।
तर पाण्डे र राणा समुहको दबदबा हुँदा आफ्नो अस्तित्व छायाँमा पर्ने बैंकका पुराना अध्यक्ष मनोज बहादुर श्रेष्ठ र हाल संचालक समितिका सदस्य समेत रहेका उनका भाई प्रचण्डबहादुर श्रेष्ठको बुझाई रहेको छ। हिमालयन बैंकमा यी दुई भाईको सेयर हिस्सा झन्डै २० प्रतिशत बढी रहेको छ।
हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ। छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर रहेको छ।
त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको लगानी छ।
मर्जर गराउन राणा र पाण्डे समुहबीचको भावनात्मक सम्बन्धले धेरै काम गरेको श्रेष्ठ दाजुभाई तथा उनको समुहको बुझाई रहेको छ। मर्जर पश्चात बन्ने बैंकमा यी दुई परिवारको दबदबा बढ्ने भएकाले श्रेष्ठ दाजुभाई सकेसम्म यो मर्जर नहोस भन्ने पक्षमा रहेको स्रोतको दाबी छ।
हिमालयन बैंकमा बलियो समुह मानिने राजेन्द्र खेतान समुह भने मर्जर पश्चात बैंकको व्यवसाय राम्रो हुन्छ भने मर्जरलाई सफल बनाउनु पर्छ भन्ने पक्षमा रहे पनि श्रेष्ठ दाजुभाई सहितको अर्को समुह भने मर्जर नहोस् भन्ने पक्षमा उभिएका छन्।
बैंक अफ काठमान्डू कै अवस्था हुन सक्ने निष्कर्ष निकाल्दै श्रेष्ठ समुह हिमालयन बैंकको अस्तित्व कायम गरेर अगाडी बढ्नुपर्ने पक्षमा उभिएको स्रोतको भनाइ छ।
तत्कालिन बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भए पश्चात सुरुवाती अवस्थामा बैंकको नाम बैंक अफ काठमान्डू लुम्बिनी राखिएको थियो। पछि बैंकको नाम लामो र नमिलेको भन्दै लुम्बिनी हटाएर बैंक अफ काठमान्डू राखिएको हो। यति मात्र नभई बैंकका पुर्व सीईओ अजय सीईओको पक्राउ प्रकरण बैंक अफ काठमान्डू र लुम्बिनी बैंकबीच मर्जर हुँदाको असन्तुष्ट पाटोबाट उब्जिएको घटनाको रुपमा व्याख्या गरिदै आएको छ।
सबैलाई मनाएर मर्जर सम्झौता गर्ने गराउने कार्य असहज र कठिन भएपनि मर्जर अड्काउन र किचलो गर्न सजिलो हुने भएकाले मर्जर नचाहने समुहले स्वाप अनुपात तथा अन्य बिषयमा हलो अड्काउने सम्भावना बढी भएको बताइन्छ।
यी दुवै बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको हो। सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका थिए। दुवै बैंक १-१ को स्वापमा मर्जमा जाने भएका हुन् ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।
यस अघि मर्जरपछि बन्ने बैंकमा मुख्य कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत गरि २ सीइओ राख्ने बारे बैंकमा छलफल भएको थियो । तर राष्ट्र बैंकले त्यस्तो नहुने मौखिक जानकारी गराएपछि एक जना सीइओ र एक जना डेपुटी सीइओ हुने गरि सहमति भएको हो । आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने गरी काम गर्ने सहमति भएको छ। मर्जर सफल भयो भने मर्जर पछि बन्ने बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ ।