सेन्चुरी कमर्शियल बैंक ६ महिनादेखि कायम मुकायम सीईओको भरमा चलेको छ। तत्कालिन सीईओ तुलसीराम गौतमले राजिनामा दिएपछि साउन १ गतेदेखि सेन्चुरी बैंक कायम मुकायम सीईओको भरमा चलेको हो।
बैंकभित्र केहि संचालकको हस्तक्षेपप्रति असन्तुष्टि जनाउदै गौतमले सीईओ पदबाट राजिनामा दिएपछि बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई साउन १ देखि लागू हुनेगरि कायम मुकायम सीईओको जिम्मेवारी दिईएको हो।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ (एकीकृत निर्देशन, २०७७ र सो पश्चात २०७८ कात्तिक २८ सम्म जारी भएका परीपत्र-निर्देशन् समेतलाई समावेश गरी परिमार्जन गरिएको) को संस्थागत सुशासन सम्बन्धित व्यवस्था अन्तर्गतको कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्थाअनुसार प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्नेछ।
उक्त व्यवस्थामा भनिएको छ, 'प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्नेछ ।
त्यसैगरी इजाजतपत्रप्राप्त संस्थाले व्यवस्थापकीय पद भनी तोकेका पदहरु समेत रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्नेछ । सम्बन्धित संस्थाले सोही बमोजिमको व्यवस्था आफ्नो कर्मचारी सेवा विनियमावलीमा समेत उल्लेख गर्नुपर्नेछ।'
एकीकृत निर्देशन २०७८ अनुसार रिक्त भएको तीन महिनाभित्र पनि सीईओ नियुक्ति नभएपनि नियामक निकाय नेपाल राष्ट्र बैंकले भने यसबारे कुनै परिपत्र वा ध्यानाकर्षण नगरेको पाइएको छ।
नियामक भएका नाताले निर्देशन पालना भए नभएको र पालना नभएमा पालना गर्न गराउन निर्देशन दिने र निर्देशन दिँदादिंदै पनि पालना नभए तोकिएको कारबाही गर्नुपर्ने राष्ट्र बैंकको कर्त्यब्य हो।
सेन्चुरी कमर्शियल बैंकका एक संचालकले भने आफुहरु योग्य र बैंकलाई प्रगतिपथमा लैजान सक्ने सीईओको खोजीमा रहेको बताएका छन्। हतारमा अर्को सीईओ नियुक्ति गर्दा हिजोको जस्तो अवस्था आउँन सक्ने कुरालाई मध्यनजर गर्दै योग्य सीईओको खोजीमा आफुहरु रहेको बताए।