
भित्रै भित्रै भुसको आगो झैं फैलिएको लघुवित्त बिरोधि आन्दोलन फेरि सार्वजनिक रुपमै सुरु हुने भएको छ। देशभरि फेरि लघुवित्त बिरोधि आन्दोलन हुने 'लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समिति नेपाल' नामक सँस्थाले जनाएको छ।
भोलि मङ्सिर ६ गते एक कार्यक्रमको आयोजना गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने यस सँस्थाले जनाएको छ। "दुर्गा परसाईले बैंक तथा विभिन्न वित्तिय संस्थाहरुलाई एकै ठाउँमा राखेर विषय उठाईरहेको समयमा ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल’ले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन गर्दै छ ।" उक्त संस्थाले पठाएको जानकारीमा उल्लेख छ।
दुर्गा प्रसाईले आफ्ना बिषय पनि उठाईरहेकाले आफुहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको उक्त सँस्थाले जनाएको छ। 'लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समिति नेपाल' नाम दिईएको उक्त संस्थाको संस्थापक तथा संयोजक गुल्मीका मनिराम ज्ञवाली हुन्।
ज्ञवालीले करीब दुई वर्ष अगाडी लघुवित्त खारेजी लगायतका दर्जन मागहरु अगाडी सारेर लघुवित्त बिरोधि आन्दोलन जारी राखेका छन्। केहि महिना अगाडी नेपाल सरकारले एक समिति बनाएर ज्ञवाली नेतृत्वको समितिले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिबद्दता जनाएको थियो। जसअनुसार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ लगायतका सरोकारवाला सामेल समिति बनेको थियो। तर उक्त समितिले के कस्ता काम गरे भन्नेबारे अहिलेसम्म सार्वजनिक भएको छैन।
नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा उक्त समिति बनेयता मनिराम ज्ञवालीको समुहले लघुवित्त बिरोधि सार्वजनिक कार्यक्रम गर्नुको साट्टो देशब्यापी रुपमा लघुवित्तका ऋणी सदस्य जम्मा गरेर उनीहरुलाई लघुवित्तको ऋण नतिर्नलाई भन्दै आएको लघुवित्त क्षेत्रमा चर्चा छ।
बैंक वित्तीय सँस्थाको ऋण नतिर्ने आन्दोलन थालेका दुर्गा प्रसाईले यहि मङ्सिर ७ गते काठमान्डौमा आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका छन्। सोहि आन्दोलनलाई जोडेर ज्ञवाली नेतृत्वको समितिले पनि आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।