
एउटा फोटोले नेपालको पुरै बैंकिङ क्षेत्रमा आतंक फैलिएको छ । फोटोमा इमेल सेवा प्रदायक रसियन कम्पनीको ईमेल आईडीबाट नेपाली बैंकबाट पैसा चोर्ने चेतावनीसहितको मेल पठाएको देखिन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल र सहायक प्रवक्ता नारायण पोखरेलको इमेल आईडी त्यसमा देखिन्छ।
इमेल सेवा प्रदायक रसियन कम्पनी यानडेक्स डटकमको इमेल प्रयोग गरेर बुधबार अपरान्ह इमेल आएको देखिन्छ। तर राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलका अनुसार यो रियल भने होइन। उनले अहिलेसम्म कुनै पनि त्यस्तो खालको कुनै पनि इमेल प्राप्त नभएको र यो रियल नभएको बताए । फोटो मात्र भाईरल भएको तर इमेल भने नआएको उनको भनाई छ ।
फोटोमा नेपाल राष्ट्र बैंक र अन्य १४ वटा वाणिज्य बैंकको नाम उल्लेख गरेर ति बैंकको सम्पूर्ण सिस्टम कम्प्रमाइज गरिसकिएको उल्लेख गरिएको छ । यसबाट बैंकहरुलाई ठुलो नोक्सानी हुने चेतावनी दिदै त्यसो हुन नदिनको लागि आज बिहिबारदेखि ४८ घण्टाको लागि सम्पूर्ण शाखाहरु बन्द गर्न भनिएको छ । त्यसो नगरेमा सबै अनलाइन तथा अफलाइन कारोबारहरु नियन्त्रण गरेर मेलमा उल्लेख गरिएका बैंकहरुलाई २४ घण्टामा ठूलो नोक्सान हुने चतावनी दिईएको छ ।
यो दक्षिण एसिया कै सबैभन्दा ठूलो बैंकिंङ चोरी हुने भएकोले यसलाई सामान्य रुपमा नलिन भनिएको छ । फोटोमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ।
इमेल नआएकोमा राष्ट्र बैंकले जनाए पनि सावधानी स्वरुप राष्ट्र बैंकले सबै बैंकहरुलाई अलर्टमा रहन भनेको छ । त्यस्तै बैंकहरुको आईटी टिम पनि प्रणाली निगरानीको लागि हाई अलर्टमा बसेका छन् ।