
केराउ, मरिच र सुपारी आयातको लागि कोटा पाएका व्यवसायीले तोकिएको अवधिभित्र सामान ल्याएमा त्यसको भुक्तानीको लागि सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकले आज एक सूचनामार्फत यस्तो व्यवस्था गरेको हो।
चैत ९ गते राजपत्रमा प्रकाशित गरि निर्धारण गरिएको कोटा प्रणालीअनुसार चैत मसान्तभित्र दीइसकिएको सामानको आयातको भुक्तानीको लागि अहिले सटही सुविधा दिन सकिने गरि मात्रै राष्ट्र बैंकले एक सूचना मार्फत यस्तो व्यवस्था गरेको हो।
केराउ, मरिच , सुपारी, छोकडाको आयातमा प्रतिबन्ध लगाईएपनि सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो। कोटा निर्धारणको सूचना चैत ९ गते राजपत्रमा प्रकाशित भएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार कोटा निर्धारण स्थगित गरिएको सूचना निकालेको थियो।
केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई यथावत राखेर आर्थिक बर्ष २०७७-०७८ को लागि सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
यस अगाडी अन्यथा भएकाले त्यसलाई सच्याएर प्रकाशित गरिएको हो।
यस अगाडी प्रकाशित भएको सामग्री यस्तो थियो...
नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ ।बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो ।
केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचिकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।