नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आजको लागि तय भएको पेशी स्थगित भएको छ। सर्वोच्च अदालतले आज भदौ २ गते अन्तिम बहस हुने गरि पेशी तोक्ने उल्लेख गरेको थियो । तर आज उक्त मुद्दा स्थगित भएको छ। सर्वोच्च अदालतले गभर्नर अधिकारीको मुद्दा स्थगितको सुचीमा राखेको छ।
यस अघि अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
त्यस्तै बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन् ।
उक्त मुद्दाको अन्तिम बहस आज भदौ २ गतेको लागि तोकिएपनि मुद्दा स्थगित भएको हो । यस मुद्दाको पेशी पटक पटक स्थगित भईरहेको छ ।
सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले बैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।