यो वर्ष थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 06:19:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७९/८० मा थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने जनाएको हो ।

जस अनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको बाँकि अवधिमा ३० अर्ब आन्तरिक ऋण उठाउने छ । राष्ट्र बैंकले मङ्सिर १३ र पुस १९ मा गरि कुल १५ अर्बको ट्रेजरी बिल तथा  मङ्सिर १४ गते, मङ्सिर २८ गते र पुस ६ गते गरि १५ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने छ । यसरी राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब आन्तरिक ऋण उठाउने छ । 

बाँकि आन्तरिक ऋण भने राष्ट्र बैंकले तेस्रो र चौथो त्रैमासमा उठाउने छ । राष्ट्र बैंकका अनुसार  तेस्रो त्रैमासमा ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र, र ३ अर्बको बचतपत्र गरि कुल ८८ अर्बको अन्तरिक ऋण उठाईने छ । त्यस्तै चौथो त्रैमासमा राष्ट्र बैंकले १ खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउने जनाएको छ । राष्ट्र बैंकका अनुसार चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र, र  ३ अर्बको बचतपत्र गरि कुल १ खर्ब ३८ अर्बको अन्तरिक ऋण उठाईने छ । 

ब्याजदर बढ्दै गएकोले सरकारले अहिले लिएको ऋणपत्रको ब्याज भुक्तानी भने महँगो पर्ने भएको छ। सरकारले गत वर्ष ६ देखि ७ प्रतिशत औसत ब्याजदरमा आन्तरिक उठाएको थियो भने यस पटक झन्डै डबल डिजिटको ब्याज तिर्नु पर्ने देखिन्छ। 

हालसम्म २ खर्ब ७२ अर्ब आन्तरिक ऋण उठाईयो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा हालसम्म २ खर्ब ७२ अर्ब ४६ करोड आन्तरिक ऋण उठाएको छ। यो राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि अन्तिम पटक कार्तिक २१ गतेसम्म आन्तरिक ऋणको लागि ट्रेजरी बिलमार्फत उठाएको रकम हो। गत आर्थिक वर्षको कार्तिक मध्यसम्म राष्ट्र बैंकले १ खर्ब १४ अर्ब ३६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ४ पटक ट्रेजरी बिल जारी ग¥यो। पहिलो पटक साउन २ गते २८ दिन र ९१ दिन अवधिको १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको हो, जुन परिपक्क भईसकेको छ। त्यसैगरी साउन ९ गते २८ दिन र ९१ दिन अवधिको १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी पनि परिपक्व भइसकेको छ । 

साउन १६ गते ९१ दिन र १८२ दिन अवधिको १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो। ९१ दिन अवधिका लागि जारी गरेको ५ अर्ब १० करोड रुपैयाँ बराबरको जारी ट्रेजरी कात्तिक १५ मा परिपक्व भएको छ भने १८२ दिन अवधिको ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । साउन महिनाको २३ गते जारी गरेको ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी कात्तिक २२ गते परिपक्व हुँदै छ। साउन ३० गते २८ दिन, ९१ दिन र १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी भदौ २८ गते परिपक्व भएको छ । ९१ दिन अवधिको ट्रेजरी कात्तिक २९ गते र १८२ दिन अवधिको ट्रेजरी फागुन २ गते परिपक्व हुनेछ।

यसरी नै राष्ट्र बैंकले भदौ महिनामा मात्रै ३१ अर्ब ८७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ। भदौ ६ गते बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये १८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी असोज ४ गते परिपक्व भइसेकेको छ । भने ९१ दिन अवधिको २ अर्ब २३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ ट्रेजरीे परिपक्व हुन बाँकी रहेको छ। 

भदौ ९ गते २५ अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको ट्रेजरी बिल सोझै बोलकबोल गरेको थियो। त्यस्तै, बैंकले भदौ १३ गते ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ, भदौ २० गते ९१ दिन र ३६४ दिन अवधिको ६ अर्ब २६ करोड रुपैयाँ र भदौ २७ गते २८ दिन र ९१ दिन अवधिको गरी १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी असोज २५ गते परिपक्व भइसकेको छ ।  

चालु आवको असोजमा राष्ट्र बैंकले ७९ अर्ब ८८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको छ । असोज २ गते राष्ट्र बैंकले २८ दिन ९१ दिन र १८२ दिन अवधिको ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल कात्तिक १ गते परिपक्व भइसकेको छ । त्यसैगरी असोज ६ गते ४० अर्ब रुपैयाँको नेपाल सरकारको ट्रेजरी बिल सोझै बोलकबोल गरेको थियो। राष्ट्र बैंकले असोज ९ गते ९१ दिन र १८२ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, असोज १३ गते ९१ दिन र १८२ लिन अवधिको १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बलि बिक्री गरेको थियो । 

असोज २४ गते राष्ट्र बैंकले २८ दिन ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो। असोज ३१ गते ९१ र ३६४ दिन अवधिको १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो । राष्ट्र बैंकले कात्तिक महिनामा मात्रै दुई पटक गरेर २२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको छ। कात्तिक ६ गते ९१ दिन र ३६४ दिन अवधिको ५ अर्ब ६० करोड रुपैयाँ र कात्तिक १४ गते ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा कुल आन्तरिक ऋण ४ खर्ब ४६ अर्ब परिचालन हुनेछ, यसमा कम समयका ऋणपत्र भने सरकारले चुक्ता गरिसक्नेछ। 

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । 

 बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved