
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजीको आधारमा अब कर्जा प्रवाह सन्तुलित हुने दाबी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजीको आधारसमेतलाई दृष्टिगत गर्दा कर्जा प्रवाह सन्तुलित रहन गई तरलता र ब्याजदरमा थप सुधार आउने अनुमान गरेको हो ।
तर, कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्नसक्ने जोखिम भने कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कर्जाको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)कै हाराहारीमा पुगिसकेको स्वीकार गर्दै तरलता र ब्याजदरमा देखिन लागेको सुधारलाई दिगो राख्न भने चुनौतीपूर्ण रहेको जनाएको छ ।
‘आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारी वित्त घाटा र कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्नसक्ने जोखिम रहेको छ । यसर्थ, तरलता र ब्याजदरमा देखिन लागेको सुधारलाई दिगो राख्ने कार्य भने चुनौतीपूर्ण रहेको छ’ राष्ट्र बैंकले भनेको छ ।