सावाँ ब्याज तिर्न सहज हुनेगरी साना-ठूला ऋणीका लागि ३ नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 10:08:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सावाँ ब्याज तिर्न सहज हुनेगरी साना-ठूला ऋणीका लागि ३ नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षाका निर्देशन कार्यन्वयन गर्न पहिलो सर्कुलर जारी गरेको छ। यसअघि नभएका सहित विभिन्न चार प्रकारका निर्देशन  कार्यान्वयन गर्नलाई राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि सर्कुलर जारी गरेको हो। 

जारी सर्कुलरअनुसार बैंक वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मको अन्य कर्जालाई ऋणीको अनुरोधमा पुनर्तालिकीकरण तथा पुनर्संचरना गर्न सकिनेछ। 

यस अघि यो व्यवस्था थिएन। होटल तथा सेवामुलक र अन्य क्षेत्रका ऋणीलाई बढेको ब्याज र व्यापार नहुँदाको ग्यापको दवावलाई कम गर्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। 

तर यसका लागि भने व्याजको कम्तिमा १० प्रतिशत रकम अशुल उपर हुनुपर्नेछ भने कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संचरना २०८० असार मसान्तभित्र हुनुपर्नेछ। 

त्यस्तै यसरी पुनर्तालिकीकरण तथा पुनर्संचरना गर्नुपर्ने कर्जा २०७९ चैत मसान्तसम्म सकृय वर्गमा भएको हुनुपर्नेछ।  यसरी पुनर्तालिकीकरण तथा पुनर्संचरना गरिएका कर्जाको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ

त्यस्तै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालू पूँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र ३ महिनाको लागि म्याद थप गर्न सकिनेछ। यसका लागि कुनै हर्जाना तथा शुल्क लाग्नेछैन। 

त्यस्तै बैंक वित्तीय संस्थाले २०७८ साल भदौ ८ गते अगाडी नै जारी भएका ऋणपत्रलाई २०८० पुष मसान्तसम्मका लागि निक्षेपको रुपमा गणना गर्न पाउने भएका छन्। यस अगाडी असार मसान्तसम्मको लागि यो व्यवस्था गरिएको थियो। तर बैंकमा तरलता अभाव हुने र थप कर्जा प्रवाह हुने अवस्था नभएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यद्दपि २०८० पुष मसान्तपछि यसरि जारी भएका ऋणपत्रलाई निक्षेप वा पुंजी मध्ये एउटामा गणना गर्नुपर्ने हुन्छ। 

त्यस्तै नेपाल राष्ट्र बैंकले विभिन्न उदेश्यले बैंक वित्तीय संस्थालाई दिने कर्जाको ब्याजको दर पनि ८।५ प्रतिशतबाट ७।५ प्रतिशतमा झारिएको छ। यस्तो बैंक दर घट्दा तत्कालै बैंकिंङ प्रणालीमा धेरै ब्याज घट्ने नभएपनि विभिन्न नियामकीय व्यवस्था पालना गर्नलाई बैंक वित्तीय संस्थाले लिने कर्जाको लागत घट्दा विस्तारै ब्याज घटाउन मद्दत भने पुग्नेछ।  

मौद्रिक नीतिको तेस्रो समीक्षामा गरिएका अन्य नयाँ तथा संसोधित निर्देशन कार्यन्वयनका लागि थप सर्कुलर समयअनुकुलतामा आउने राष्ट्र बैंकले जनाएको छ। समीक्षामा  लघुवित्तका ऋणीका लागि पनि पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गरिएको छ।  तर यस सम्बन्धि सर्कुलर भने आउँन बाँकी नै छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved