एभरेष्ट बैंक प्रकरण : गलत समाचारले पीडामा बैंकका कर्मचारी, प्रहरीको अनुसन्धानमा असन्तुष्टि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2023 | 05:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको इटहरी शाखाका निक्षेपकर्ताको खाताबाट अनाधिकृतरुपमा डेढ करोड बढी रकमान्तर गरिएको घटनाले नयाँ रुप लिएको छ। बैंककै जाहेरीमा पक्राउ परेका इटहरी शाखाका अप्रेसन इन्चार्ज नीरज प्रधानसँगको अनुसन्धानबाट नयाँ तथ्य फेला परेको हो। 

बैंकले चैत २२, २०७९ मा दिएको जाहेरीका आधारमा पक्राउ परेका इटहरी शाखाका अप्रेसन इन्चार्ज नीरजसँगै यस घटनामा उक्त शाखाका अन्य कर्मचारीहरु पनि संलग्न रहेको आरोपमा थप कर्मचारी पक्राउ परेका हुन्। 

वैंकका कर्मचारीसहित ९ जनालाई पक्राउ गरी बैंकिङ कसुर तथा सङ्गठित अपराधमा अनुसन्धान थालिएको सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईले बताए। उनकाअनुसार  यस घटनामा मुख्य योजनाकारका रुपमा अपरेशन इनचार्ज नीरज प्रधान देखिएका छन् । 

इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्यसहित पक्राउ पर्नेमा  इटहरी शाखाका सुपरभाइजर धावा लामा, कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रञ्जित पण्डित,  टेलर पवित्रा कटुवाल रहेका छन्। इटहरी शाखामा कार्यरत यी सबै कर्मचारीलाई यही शुक्रबार अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको हो। 

अनुसन्धानका लागि पक्राउ गरिएको भए पनि दोषी करार भए झैँ उनीहरुलाई शनिबार हतारमा सार्वजनिक गरिएपछि एभरेष्ट बैंकले असन्तुष्टि जनाएको छ। इटहरी शाखाका अप्रेशन इन्चार्ज हुँदा नै ग्राहकको पैसा झिक्ने गरेको प्रमाणित भएको थाहा भएपछि आफूहरुले नै जाहेरी दिएर नीरज प्रधान पक्राउ परेको यत्तिका लामो समयपछि थप अरु कर्मचारीलाई अनुसन्धान भनेर लगेको तर दोस्रो दिन अपराधी झैँ सार्वजनिक गरिएकोप्रति बैंकले आपत्ति जनाएको छ। 

यता प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बिजपाटीलाई बताएका छन्। उनकाअनुसार जुवाको लतमा फसेपछि पैसाको जोहोका लागि बचतकर्ताको पैसा चलाएका नीरज प्रधानको योजनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि इटहरी शाखा प्रमुखसहित अन्य कर्मचारीलाई पक्राउ गरिएको हो। 

प्रहरीले नीरज प्रधानले बैंकका ग्राहकको पैसा पठाउने गरेका दुई अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका १ का शङ्कर भुजेल र भक्तपुर सुर्यविनायक नगरपालिकाका अजय खिउजू रहेका छन्।  

लामो समयदेखि बैंक खाता नचलाएका अर्थात डोरम्याट भएका ३३ जना ग्राहकको खाताबाट विभिन्न समयमा करिब ५ महिना लगाएर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ रकमान्तर गरेको अनुसन्धानमा भेटिएको छ। १४ नोभेम्बर २०२२ देखि २१ मार्च २०२३ सम्म यसरी रकम ट्रान्सफर गरिएको अनुसन्धानमा खुलेको हो। 

३५ लाख ४८ हजार रकम चेक किर्ते गरेर चेकमार्फत रकम निकालेको र बाँकी रकम भने कनेक्ट आइपीएसबाट निकालेको पाइएको छ । यसरी निकालेको रकम नीरज प्रधानले जुवा (वेटिङ)मा लगाउने गरेको पनि पाइएको छ ।

एउटा खाताबाट बढीमा ७ लाखसम्म रकमान्तर गरिएको छ। रकमान्तर गर्नलाई कनेक्ट आइपीएस र चेकको प्रयोग भएको छ। मुख्य आरोपित नीरज प्रधानले पाँच महिना लगाएर आफू निकट विभिन्न व्यक्तिको नाममा पैसा ट्रान्सफर गर्ने गरेको अनुसन्धानमा खुलेको छ। ३३ जना ग्राहकको खाताको पैसा ट्रान्सफर गरिए पनि यसरी ट्रान्सफर गरिएको पैसा प्राप्त गर्ने दुई जना मात्रै पक्राउ परेका छन्। 

बैंक ग्राहक रेखा गुरुङले खाता बन्द गर्न बैंकको शाखा पुग्दा उनको खाताबाट पैसा झिकिकएको थाहा भएपछि यो घटनाबारे आफूहरुलाई थाहा भएको बैंकका बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीले बिजपाटीलाई बताए। उनकाअनुसार बैंकले यसरी पैसा झिकिएका ग्राहकलाई उनीहरुको झिकिएको पैसा फिर्ता गरिसकेको छ। 

तर यो घटनाबारे थाहा पाएपछि आफूहरु (बैंक)ले नै गत चैत २२ गते प्रहरीमा दिएको जाहेरीको अधारमा मुख्य योजनाकार मानिएका नीरज प्रधानलाई पक्राउ गरेको बताउँदै उप्रेतीले यस घटनालाई जोडेर केही असत्य खबर बाहिर आएकोप्रति गुनासो व्यक्त गरेका छन्। 

इटहरी शाखामा क्यास काउन्टरमा टेलर पदमा कार्यरत कर्मचारीले केटा साथीलाई बाइक किन्न ग्राहकको पैसा झिकेको भन्ने सन्देश सरासर झुटो भएको बताउँदै उनले यस्तो गलत सन्देश सम्प्रेषण गरेर बैंकका कर्मचारीलाई मानसिक तनाब नदिनसमेत आग्रह गरेका छन्।  

जुवाको लतमा फसेका कर्मचारी नीरज प्रधानले नियोजित रुपमा नै बैंकका ग्राहकको पैसा झिक्ने गरेको भेटिएकाले प्रहरीले पक्राउ गरेर कारबाही अगाडि बढाएको बताउँदै उनले गलत सन्देश सम्प्रेषण नगर्न आग्रह गरेका छन्।

'जुन महिला कर्मचारीको बारेमा गलत सूचना सम्प्रेषण भएको छ, उनका श्रीमान पनि एभरेष्ट बैंकमा लामो समयदेखि शाखा प्रमुखकै रुपमा कार्यरत रहेका छन्।यस्तो गलत सूचना सम्प्रेषण हुँदा निज कर्मचारीमाथि कस्तो असर पर्छ भन्ने कुराको ख्याल राख्नुपर्छ' उनले भने।  केही सञ्चारमाध्यममा टेलरमा कार्यरत महिला कर्मचारीले केटा साथीलाई बाइक किन्नका लागि बैंकका ग्राहकको पैसा झिकेको भन्ने खबर सम्प्रेषण भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved