उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएका छन्। मन्त्री श्रेष्ठले आज साँझ ६ बजे आफ्नै निवासमा सीइओहरुलाई छलफलमा बोलाएका हुन् ।
एक वाणिज्य बैंकका सीइओले 'डिनर मिटिङ' को लागि गृहमन्त्री निवासमा जान लागेको पुष्टि गरे ।
सरकारले सुरक्षा दिन नसकेको भन्दै बैंकहरुले सरकारको आलोचना गरिरहेका छन् । उनीहरुले केहि दिन अगाडी सरकारले सुरक्षाको प्रत्याभूति नदिए सम्पूर्ण बैंकिंग सेवा बन्द गर्ने चेतावनी समेत दिएका थिए । बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्था परिसंघले प्रधानमन्त्री, गृह मन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र समेत बुझाएको थियो।
कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुऱ्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु देशका विभिन्न स्थानहरूमा निरन्तर रूपमा भैरहेको भन्दै परिसंघले अशन्तुष्टी जनाउदै गरेको हो।