ग्राहकको ४० करोड गायब गरिएको समाचारबारे बोल्यो नबिल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 01:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकको करिब ४० करोड गायब भएको प्रकरणबारे नबिल बैंक बोलेको छ। पोखराको न्युरोड शाखाबाट उक्त घटना भएको पुष्टि गर्दै बैंकले ग्राहकको पैसा सुरक्षित रहेको प्रतिक्रिया दिएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले आम सर्वसाधारण ग्राहकको नभई आफन्त पर्ने ग्राहकको पैसा प्रयोग गरिएको र त्यो पैसामध्ये करिब ८५ प्रतिशत असुल भइसकेको बिजपाटीलाई बताएका छन् । उनकाअनुसार अब ४ करोड रुपैयाँ असुल्न बाँकी छ। 

आफन्त भए पनि उनीहरु बैंकका ग्राहकनै हुने भएकाले यस्तो हुनु गलत नै भएको समेत सीईओ ढुंगानाले स्वीकार गरेका छन्। कर्मचारीले गल्ती स्वीकारेकाले र ग्राहकको पैसा पनि सुरक्षित नै रहेकाले यो घटनालाई प्रहरीकोमा उजुरी नदिइएको सीईओ ढुंगानाले थप प्रष्ट पार्ने प्रयास गरे ।

सर्वसाधारणले विश्वास गरी आफ्नो सम्पत्ति जम्मा गर्ने ठाउँ (बैंक)मा यसरी रकमको दुरुपयोग हुनु गम्भिर विषय हो । यसले समग्र बैंककै विश्वास डगमगाउँछ । 

यस प्रकरणमा संलग्न देखिएका ती कर्मचारीले आफूले नातामा आफन्त पर्नेको पैसा उनीहरुकै सहमतिमा प्रयोग गरेको तर कुनै पनि किसिमको अपचलन नगरेको दाबी गरेका छन्। चलाएको पैसा सहमतिमै कृषि फार्ममा लगाएको र त्यो पैसा फिर्ता पनि गरिसकेको उनले बिजपाटीसँग भने । 

२० वर्षदेखि पोखराको न्युरोड शाखामा कार्यरत ती कर्मचारीले विगत ६ वर्षदेखि ग्राहकको पैसा बैंकमा राखेको देखाएर आफ्नै तजबिजले प्रयोग गरेको तथ्य फेला पारेपछि बिजपाटी डटकमले गत साता 'नबिलको पोखरा शाखाबाट ग्राहकको ४० करोड गायब, सिंगो बैंकमै जनताको पैसा असुरक्षित !' शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

नबिल जस्तो नाम चलेको बैंकमा विगत ६ वर्षदेखि यस्तो घटना हुनुले नबिल बैंकमात्रै नभई सिङ्गो बैङ्किङ्ग उद्योगमाथि नै आशंका खडा गर्ने ठाउँ दिएको छ ।

यस अघि : नबिलको पोखरा शाखाबाट ग्राहकको ४० करोड गायब, सिंगो बैंकमै जनताको पैसा असुरक्षित !

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved