८७ वर्षमा प्रवेश गरेको नेपालकै ‘जेठो’ बैंकको निक्षेप संकलन र कर्जा लगानी कति छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 10:14:07 AM मा प्रकाशित

laxmi  sunrise bank

वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजबाट स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा बैकिङ्ग प्रणालीको सुरुवात र विकासको क्रम हेर्ने हो भने नेपाल बैंक स्थापना भएको दिनलाई नेपाली बैंकिङ्ग क्षेत्रमा क्रान्ति सुरु भएको दिनका रुपमा मान्न सकिन्छ । 

नेपालमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका अतुलनीय छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको नेपाल बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

स्थापनाको शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैंकले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबर्द्धन गर्दै राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्याएको छ । 

नेपाल बैंकले आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं. २०१२ सम्म देशको केन्द्रीय बैंकको कार्य समेत गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । 

नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको यस बैंक बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइको बैंक बन्न सफल भएको छ । बैंकले ठूला उद्यमी, व्यवसायीदेखि न्यून आर्थिकस्तर भएका नेपालीजन सधैँ प्राथमिकतामा रहने जनाएको छ ।

बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रम हासिल गर्न टेवा दिँदै, औद्योगिकीकरण एवम् समृद्धिको लागि अहम् भूमिका खेलेको छ । यस बैंकले समयसापेक्ष कर्मचारी क्षमतामा अभिवृद्धि गर्दै उत्कृष्ट प्रविधि मार्फत ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेको छ । बढ्दो प्रतिष्पर्धात्मक बैंकिंङ व्यवसायमा यस बैंक एक उत्कृष्ट बैंकको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ । विगत लामो समयदेखि यस बैंकले उच्च नाफा आर्जन गरी शेयरधनीहरुलाई आकर्षक प्रतिफल समेत दिँदै आइरहेको छ ।

प्रविधिले ठूलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकुल अन्तर्राष्ट्रिय असल अभ्यास सहितको प्रविधिमैत्री बैकिंगलाई आत्मसात गरी जनतालाई अझ सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवर्द्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा बैंकले शसक्त भूमिका खेलेको जनाएको छ । नेपालमा वित्तीय साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोवारलाई बैंकिंग प्रणालीमार्फत व्यवस्थित गरी समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि बैंकले योगदान दिइरहेको छ । 

सरकारको नीति अनुरुप कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा प्राथमिकताका साथ बैंकले उल्लेख्य लगानी गरेको छ । बैंकिङ्ग सेवासँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरु पनि बैंकले गरिरहेको छ । प्राकृतिक प्रकोप, माहामारी लगायतका संकटहरुमा अग्रपङ्तीमा रहि बैंकले अतुलनीय भूमिका निर्वाह गरिरहेको छ । 

वर्तमान अवस्था

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिरब ३ हजार ६०० कर्मचारी मार्फत आधुनिक बैंकिङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको यस बैंकले २ सय २८ शाखा, ५८ वटा विस्तारित काउण्टर तथा २ सय ४ वटा एटीएम बुथमार्फत देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको छ । ८७ बर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.६९ अर्ब रहेको छ । बि.सं. २०८० आषाढ मसान्तसम्म बैकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको छ । 

प्रत्येक बर्ष संचालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैंकको जगेडा कोषमा २१.८८ अर्ब रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्थ ३६.५८ अर्ब भन्दा बढि रहेको छ । 

विगत आ.व. २०७६/७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको बैंकले प्रशस्त अचल सम्पत्ति, निक्षेप तथा कर्जा वृद्धि, न्यून आधार दर तथा ब्याजदरका सूचकहरुमा दरिलो तथा प्रतिस्पर्धी रहेको जनाएको छ । 

बैंकका अधिकांश कारोबारहरु डिजिटल माध्यम मार्फत सञ्चालन भईरहेको र ऐतिहासिक विरासतका साथ आधुनिक प्रविधिलाई अंगिकार गरेको बैंकले उल्लेख गरेको छ । परम्परागत बैकिङ्ग प्रणालीबाट फड्को मार्दै डिजिटल बैंकिङ सुविधाहरुको विकास र विस्तारले बैंकलाई गतिशील, सहज, आधुनिक प्रविधिमैत्री र प्रतिस्पर्धी बनाएको बैंकले जनाएको छ । 

बैंकले दिगो आर्थिक विकास र समृद्धिका लागि लक्षित सरकारी नीति तथा कार्यक्रमहरुलाई आत्मसात गर्दै आर्थिक एवम् सामाजिक विकासका लागि सबै नेपालीहरूको वित्तीय पहुँच अभिवृद्धि गर्दै आगामी दिनमा नेपालभर आफ्ना शाखा सन्जाल विस्तार गरी सेवा सुविधाहरुलाई अझ परिस्कृत गर्दै लैजाने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved