हायर पर्चेज कम्पनीको लागि राष्ट्र बैंकले ल्यायो ९ नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 05:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले हायर पर्चेज सम्बन्धि व्यवस्थामा केही परिमार्जन गरेको छ। राष्ट्र बैंकले 'हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०' मा चौथो संशोधन गर्दै केही व्यवस्था परिमार्जन गरेको हो ।

जस अनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीको नाम “.......... हायर पर्चेज प्रा.लि.” ÷ “.......... हायर पर्चेज.लि.” राख्नु पर्नेछ । हाल संचालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत यसै अनुसार नाम परिवर्तन गरी २०८० पुष मसान्तभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।  

त्यस्तै अब हायर पर्चेज कर्जा दिने कम्पनीको कार्यकारी प्रमुख वा प्रबन्ध संचालकको रुपमा नियुक्त हुने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ । कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । तर रु. २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर (प्यान) लिन अनिवार्य हुनेछैन । 

त्यस्तै हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिंदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन ।

त्यस्तै हायर पर्चेज कर्जा कारोवार गर्ने कम्पनीहरुले पुंजी, आम्दानी, खर्च, लगायतका कारोवार स्पष्ट देखिने गरी लेखा राख्नु पर्नेछ । यसरी लेखाङ्कन गर्दा प्रचलित लेखा मापदण्डको अनुसरण गरी वित्तीय विवरण तयार गर्नु पर्नेछ । हायर पर्चेज कर्जा दिन स्वीकृति प्राप्त कम्पनीहरुले यस अन्तर्गत गरेको कारोबारको विवरण त्रयमासिक अवधि समाप्त भएको १५ दिनभित्र  नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्ने छ। 

 किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण बक्यौता कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

अब निम्न अवस्थामा हायर पर्चेज कम्पनीको लागि  कुनै व्यक्ति सञ्चालक÷ प्रबन्ध सञ्चालक÷कार्यकारी प्रमुख पदको लागि अयोग्य  मानिने छ ।

क) प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि  देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई नसकेको ।

ख) टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको ।

ग) कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको ।

घ) आफ्नो पूर्व कारोबारमा यस बैंकबाट निलम्बन गरिएको वा यस बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनवाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाई नपाएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved