नीतिगत दर घटाउँदैमा ब्याजदर घट्छ नै भन्ने हुन्छ ?

चन्दा कार्की

चन्दा कार्की

Dec 08, 2023 | 02:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजानिक गरेको छ । आज सार्वजानिक भएको समीक्षाले विभिन्न नीतिगत दरहरु घटाएको छ । राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । 

नीतिगत दरहरु घटाएसँगै बैंकको ब्याजदर पनि घट्ने अपेक्षा गरिएको छ । त्यसो त विगत दुई महिना यता बैंकहरुले ब्याजदर घटाउन थालेका छन् । जसको परिणाम स्वरुप बैंकको आधारदर मंसिर सम्ममा ९.९४ प्रतिशतमा आइसकेको छ । बैंकमा बढ्दो लगानीयोग्य पूँजी तरलता साथै केन्द्रीय बैंकले समेत नीतिगत दर घटाएपछि त्यसको प्रत्यक्ष प्रभाव स्वरुप ब्याजदर घट्ने बताइन्छ । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकहरु आफैंले पनि ब्याजदर घटाउँदै आएको अवस्थामा केन्द्रीय बैंकले नीतिगत रुपमा नै ब्याजदर घटाउने नीति लिएपछि त्यसको सोझो प्रभाव देखिने बताउँछन् । अहिलेको मौद्रिक नीतिको समिक्षा शिथिल अर्थतन्त्रलाई चलायमान गराउने गरी नै आएको उनको बुझाई छ ।

बिजपाटीसँग उनले भने 'राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणले अर्थतन्त्रमा शिथिलता देखिएको छ । त्यसलाई चलायमान गर्ने गरी केन्द्रीय बैंकले समीक्षा गरेको छ ।' उनले बैंकबाट कर्जा लिएर कर्जा भुक्तानको चाहना हुँदा हुँदै विभिन्न परिस्थितका कारण भुक्तान गर्न नसकेका ऋणीलाई पुनसंसचना र पुन तालिर्कीकरणको व्यवस्थाले सहज गराएको बताए । उनले केन्द्रीय बैंकले गराएको नीतिगत व्यवस्थाका कारण आगामी दिनमा निक्षेप र कर्जा दुवैको ब्याज घट्ने संकेत गरे ।

अर्थविद् अनलराज भट्टराई नीतिगत दरमा गरिएको परिवर्तनले बैंकको ब्याजदर घटाउन प्रभावकारी भूमिका खेल्ने बताउँछन् । बिजपाटीसँग उनले भने, 'नीतिगत दरको प्रभाव बैंकको ब्याजदरमा प्रत्यक्ष नै पर्दछ ।'

 मुलत नीतिगत दर घटाइएको साथै बैंकमा बढ्दो तरलता नै ब्याजदर घट्नु पर्ने मुख्य कारण रहेको बताउँछन । उनले भने 'बैंकमा व्यापक तरलता छ । साथै ब्याजदर पनि घट्ने क्रममा नै रहेको छ । यसले गर्दा आगामी दिनमा ब्याजदर घट्ने नै देखिन्छ ।'

त्यस्तै बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई यही पुससम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा त्यसपछि पनि ५० प्रतिशत रकम स्रोतको रुपमा गणना गर्न सकिने व्यवस्थाले पनि तरलता बढ्ने उनको भनाई छ ।

त्यस्तै समीक्षा गरिएको कर्जा पुनसंरचना र पुनतार्लिकीकरणको व्यवस्थाले ऋणीका साथै बैंकिङ्ग क्षेत्रलाई पनि सुरक्षित गरेको उनको भनाई छ । बैंकिङ्ग क्षेत्रमा देखिएको कर्जा असुलीको समस्या र त्यसका कारण बढेको खराब कर्जाको तथ्यांकले बैंकमा लगानी गर्न हच्चिकनेका लागि पुनसंरचना र पुनतालिकीकरणको व्यवस्थाले बैंकको प्रतिफलमा समेत अप्ठ्यारो नपर्ने उनको विश्लेषण छ । यसबाट बैंकका शेयरधनी आत्तिनुपर्ने अवस्था नरहेको उनको संकेत छ । 

पूर्व बैंकर पर्शुराम कुँवर भने नीतिगत दरमा परिवर्तन ल्याउँदैमा बैंकको ब्याजदर नघट्ने बताउँछन् ।  बैंकको ब्याजदर घट्न मौद्रिक नीतिका दरहरुको प्रभावकारी संप्रेषण हुने गरी सम्पूर्ण ब्याजदर प्रणालीलाई समीक्षा नगर्दासम्म केन्द्रीय बैकका ब्याजदरहरुमा भएका परिवर्तनहरु बैक तथा वित्तीय संस्थाहरुको ब्याजदरहरुमा प्रतिबिम्बित नहुने उनी बताउँछन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पनि नीतिगत दर ७ प्रतिशत बाट ६.५ प्रतिशतमा झारिएको भएपनि बैकहरुले ब्याजदर घटाउनुको सट्टा बढाएको उनी बताउछन्। 

त्यस्तै गतवर्षको मौद्रिक नीतिमा पनि नीतिगत दर १.५ प्रतिशतले बढाइएको थियो । तर, ब्याजदर तत्काल नबढी बैंकले विभिन्न दबाब पछि कात्तिक पछि मात्रै ब्याज बढाएको उनको भनाई छ। बिजपाटीसँगको कुराकानीमा उनले नीतिगत दरमा गरिएको परिवर्तन बैंक ब्याजदरमा देखिनका लागि मौद्रिक नीतिको प्रभावकारी सम्प्रेषण हुनु पर्ने बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved