सहकारीमार्फत १२ अर्ब ठगी गरेका केदारनाथले यी बैंकबाट लिएका थिए ५ अर्ब ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 12:30:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारीका बचतकर्ताको १२ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माले सहकारीको नाममा बैंकबाट अर्बौ रुपैयाँ ऋण लिएको खुलेको छ । शर्माले चलाएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ६ वटा बैंकबाट ५ अर्ब ऋण लिएको पाइएको हो ।

प्रहरीलाई बयान दिने क्रममा शर्माले आफूले सहकारीको नाममा ६ वटा बैंकबाट ऋण लिएको स्वीकार गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको शिवशिखर सहकारीमार्फत भएको ठगी प्रकरणका मुख्य नाइके शर्माले आफूले बचतकर्ताको पैसाको अलावा बैंकमार्फत पनि ऋण लिएर अन्यत्र लगानी गरेको स्वीकार गरेका हुन् ।

प्रहरी अुनसन्धानले पनि शर्माले हिमालयन बैंक, नबिल बैंक, नेपाल एसबीआई,  प्रभु बैंक, तत्कालीन मेगा बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) र माछापुच्छ्रे बैंकबाट ५ अर्ब जति ऋण लिएको खुलेको छ ।

पक्राउ परेका आरोपीले बैंकबाट समेत ऋण लिएको स्वीकार गरेपछि सीआईबीले ति बैंकमार्फत शिवशिखर सहकारी र केदारनाथ शर्माका नाममा प्रवाह भएको कर्जाको विवरण र कागजात माग गरेको छ । सीआईबीले उल्लेखित विवरण बैंकबाट झिकाउन राष्ट्र बैंकलाई पत्र नै लेखेको छ ।

शर्माले कुन बैंकबाट कति ऋण लिएको भन्ने विषय मौखिम रुपमा भनेको भएपनि कागजात नहेरी सार्वजनिक नगर्ने पक्षमा सीआईबी देखिएको छ । 

‘अभियुक्तले भनेकै भरमा कुन बैंकबाट कति ऋण लिएको रहेछ भन्ने विवरण नै सार्वजनिक गर्ने कुरा भएन, उसले भनेका सबै कुरा सत्य हुन्छन् भन्ने पनि हुँदैन’ सीआईबी स्रोतले भन्यो, ‘राष्ट्र बैंकले सम्बन्धित बैंकमार्फत विवरण झिकाएर यहाँ पठाएपछि कुन बैंकबाट कति ऋण लिएको रहेछ भन्ने थाहा हुन्छ ।’

यदि बैंकबाट आउने विवरणमा समेत कैफियत देखिए अनुसन्धान बैंकतर्फ पनि सोझिने सीआईबी स्रोत बताउँछ । ‘धितो राखेर वा ऋण फिर्ता आउने सुनिश्चित आधार बिना नै बैंकहरुले कर्जा लगानी गरेको देखियो भने पक्कै पनि अनुसन्धान त्यता जान्छ नै’ स्रोतले भन्यो ।

पक्राउ परेका शर्माले विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्थामार्फत बचतकर्ता ठगेको आरोप लागेको छ । शिवशिखर र तुलसीबाट गरी १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । 

शिवशिखरका १ लाख ६८ हजार ७२५ जना बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार र तुलसी बहुमुखीका २१ हजार १५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९९ रुपैयाँ हिनामिना गरेको भन्दै शर्मा विरुद्द उजुरी परेको थियो । बचतकर्ता मारमा पारेर फरार रहेका शर्मालाई प्रहरीले असार ११ गते पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाटै शर्माले आफ्नी श्रीमति गीताको नाममा ९ वटा र आफ्नो नाममा २१ वटा कम्पनी खोलेर सहकारीको पैसा लगानी गरेको पाइएको छ । यी सहित जम्मा ४३ कम्पनीमा शिवशिखरको पैसा लगानी भएको पाइएको छ ।

यसअघिः

ऋणीको श्रीमतीसँग मिलेर अर्को सहकारी, डेढ अर्ब डुबाउन काठमाडौँबाट विराटनगर

शिव शिखर ठगी प्रकरण: बचतकर्ताले राखेको १२ अर्ब झिकेर ४३ वटा कम्पनीमा लगानी

बचतकर्ताको अर्बौ ठगी गर्ने शिवशिखर सहकारीका सबै मार्ट बन्द, संचालकविरुद्ध ४ हजार उजुरी

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved