राष्ट्र बैंक सम्मिलित टोलीले बुझायो सहकारी अनुगमनको प्रतिवेदन, के निस्कियो निष्कर्ष ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 03:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका अधिकारीहरुसमेत सहभागी टोलीले पहिलो चरणमा ९ वटा सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न गरेर प्रतिवेदन तयार पारेको छ । सहकारी विभाग र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले काठमाडौँ, ललितपुर र काभ्रे जिल्लाका ९ वटा सहकारीको अनुगमन निरीक्षण सम्पन्न गरेर प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारेर बुझाएको हो ।

सहकारी विभागका उप–रजिष्ट्रार एवम् अनुगमन टोलीका संयोजक टोलराज उपाध्यायका अनुसार अनुगमनबाट आएको निष्कर्षलाई प्रतिवेदनका रुपमा विभागका रजिष्ट्रार समक्ष पेश गरिएको छ । प्रतिवेदन अध्ययन गरेर रजिष्ट्रार पिताम्बर घिमिरेले आवश्यक कारबाही गर्ने निर्णय गर्न वा निर्देशन दिन सक्नेछन् ।

‘हामीले प्रतिवेदन बुझाएका छौँ, प्रतिवेदनमा संस्था अनुसार नै उसको वित्तीय र सुशासनको अवस्था किटान गरिएको छ’ विभागका सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार उपाध्यायले भने, ‘हामीले अनुगमन निरीक्षण गरेका संस्थामा राम्रा भनिएका र खराब भनिएका दूबै थिए । राम्रा संस्थालाई छोडेर हेर्दा अधिकांश रकम घरजग्गामा लगानी गरेको देखियो र अर्को मुख्य कुरो ऋण उठ्तीमा समस्या रहेको पाइयो ।’

विभागले काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो ।

यस्तै, काठमाडौँका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, देवदर्शन बचत तथा ऋण सहकारी संस्था र शुभरत्न बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।

ललितपुरको राष्ट्रिय सहकारी बैंकको अनुगमन गरिएको छ ।

अनुगमनमा राष्ट्र बैंकबाट उपनिर्देशक डा. रमेश चौलागाईं, रामकृष्ण राई र रमेश पौडेल सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved