३६ बस्तुमा नेपाल आत्मनिर्भर, रोकिएला आयात ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 20, 2020 | 11:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग मन्त्रालयले आत्मनिर्भर बस्तुहरुको सूची तयार पारेको छ । उद्योग मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाले उद्योग विभागसँगको सहकार्यमा आत्मनिर्भर बनेका सम्भावित ३० बस्तुहरुको सूची तयार पारेको हो ।

के के बस्तुमा आत्मनिर्भर ?

उद्योग विभागमा विभागका अधिकारी र बिजपाटी डटकमको टिमबीचको छलफलमा २ दर्जन बस्तुहरुमा आत्मनिर्भर भएको तथ्यांक निकालिएको थियो । अहिले मन्त्रालयले आत्मनिर्भर उन्मुख भनेर एक दर्जन बस्तुहरुको नाम थप गरी ३ दर्जन पुर्याएको छ । अघिल्लो आर्थिक वर्षदेखि नै आत्मनिर्भर बनेका बस्तुको पहिचान गर्ने भनिएपनि गत वर्षबाट मात्रै यसले तीव्रता पाएको थियो ।

विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक बिनोद खड्काका अनुसार मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाले ३० बस्तुमा आत्मनिर्भर रहेको सूची तयार पारेपनि अन्तिम रुप भने दिन बाँकी छ । मन्त्रालयका उप–सचिव एवम् महाशाखाका प्रमुख दिनेश सागर भुसालका अनुसार असार मसान्त सम्मको आयात र निर्यातको तथ्यांक हेरेर अरु बस्तुको सूची पनि थप गर्ने तयारी छ । 

मन्त्रालयले तयार पारेको सूचीमा सिमेन्ट, रड, स्टिल (जस्तापात), फर्निचर, चिनी, जुक्ता/चप्पल, पश्मिना, गलैचा, चिया, कफी, अदुवा, केही औषधि, पिउने पानी, क्रसर, धागो, जुट, रेशम, उन, कपास, कागज, प्लास्टिकजन्य वस्तु, बेसार, चाउचाउ, अण्डा, कुखुराको मासु, साबुन/सर्फ, आँटा, सूची, रङ, हर्बल उत्पादन छन् । 

यी बाहेक फलफुलमा स्याउ र हरियो तरकारीमा पनि मूलुक आत्मनिर्भर रहेको सरकारी अनुमान छ । तर भारतसँगका सन्धि तथा सम्झौताका कारण तत्कालै तरकारीको आयात बन्द गर्न सक्ने अवस्था नरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्यानिटरी प्याडको बजार माग पनि आन्तरिक उत्पादनले नै धान्ने मन्त्रालयको दाबी छ । आत्मनिर्भर भएको प्रमाणित भएपछि आयात रोकिने अथवा भन्सार शुल्क बढाईने उद्योग मन्त्रालयले जनाएको छ ।

‘निर्माण क्षेत्रमा प्रयोग हुने बस्तुहरुमा हामी आत्मनिर्भर छौँ’ विभागका निर्देशक खड्काले भने, ‘अहिले हामीले सूची तयार गरेर अध्ययन गरिरहेका छौँ, एउटा कार्यदल पनि बनेको छ । कार्यदलले अध्ययन सकेर प्रतिवेदन बुझाएपछि के के मा आत्मानिर्भर छौँ भन्ने यकिन हुन्छ ।’ 

कहिले आउँछ प्रतिवेदन ?

मन्त्रालयले उत्पादन, खपत, आयात र निर्यातको अवस्था हेरेर ३६ वटा बस्तुको सूची तयार पारेको भएपनि ३० बस्तुको मात्रै नाम दिएको छ । गत आर्थिक वर्षमा २ दर्जन बस्तुहरुमा आत्मनिर्भर बन्ने लक्ष्य लिईएको थियो । चालु आर्थिक वर्षको सुरुवातमा नै मन्त्रालयले तयार पारेको सूचीमा ३ दर्जन बस्तु अटाईएको मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाकी शाखा अधिकृत रमिला भण्डारीले बताईन् ।

‘नीजि क्षेत्र र सरकारी निकायको तथ्यांकमा केही केही फरक देखिएको छ’ उनले भनिन्, ‘सरकारी र नीजि क्षेत्रमा भएका तथ्यांकहरु भेरिफाई गरेपछि कार्यदलले प्रतिवेदन दिन्छ ।’ 

एनका अनुसार आत्मनिर्भर रहेका उद्योगहरुको सुरक्षा कसरी गर्ने, उत्पादन र खपत कसरी बढाउने र निर्यातयोग्य कसरी बनाउने भनेर पनि कार्यदलले सुझाव दिनेछ । उपसचिव भुसालले असार मसान्तसम्मको तथ्यांक हेरेपछि सूचीमा अरु बस्तुको नामपनि थप हुन सक्ने र तीनको अवस्थाका बारेमा पनि अध्ययन गरिने बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमास (आसोज मसान्त) सम्म प्रतिवेदन आइसक्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved