चीनको ‘अघोषित नाकाबन्दी’: दशैँमा नेपालीलाई ‘महँगी’ उपहार

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2022 | 01:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका व्यवसायीहरुले उत्तरी नाका हुँदै भित्र्याउन अर्डर गरेका सामान नाकामै रोकिएपछि दशैँ महँगो हुने चिन्ता सुरु भएको छ । व्यवसायीहरुले अर्डर गरेर लोड समेत भएर नाकामा आईपुगेका सामान चिनियाँ पक्षले नाकामै रोकेपछि दशैँमा व्यवसायीहरु सहित उपभोक्ता समेत मर्कामा पर्ने भएका हुन् । 

फलफूल, रेडिमेड लत्ता कपडासहित विद्युतीय सामान उत्तरी नाकामै रोकिएका छन् । यसले एकातर्फ बजारमा दशैँको मुखमै सामानको अभाव हुने र अर्कोतर्फ महँगी बढ्ने जोखिम रहेको व्यवसायीहरु नै बताउँछन् । 

यस्तो छ व्यवसायीको आग्रह

नेपालको चीनसँगको वैदेशिक व्यापार हुने तातोपानी र रसुवागढी दूबै नाका हाल ठप्प छन् । चीनले नेपाललाई पूर्व जानकारी नै नदिई झण्डै २० दिन अगाडीबाट नाका पूर्ण रुपमा ठप्प पारेको हो ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले चीनले कुनै जानकारी नै नदिई नाका एकतर्फी रुपमा बन्द गर्दा नेपाली व्यवसायीहरुको चिनियाँ पक्षसँग विश्वास नै टुट्ने खतरा पैदा भएको बताएका छन् । उनले पैसा तिरेर सामान लोड समेत भईसक्दा चाडबाडको मुखमा नाका बन्द गरिँदा नेपालतर्फ पर्न सक्ने असरका विषयमा चिनियाँ पक्ष अनुदार बनेको गुनासो पनि गरे ।

‘हाम्रा अर्बौको सामान लोड भएका कन्टेनरहरु नाकामा रोकिएका छन्, चीनको आफ्नै तरिका छ, थाहै नदिई नाका रोकिदिन्छ’ अध्यक्ष श्रेष्ठले बिजपाटीसँग भने, ‘पूर्व सूचना नै नदिई नाका रोक्दा चीनसँगको व्यापारमा नेपाली व्यवसायीहरुको विश्वास नै गुम्दै जाँदैछ ।’

उनले चाडबाडका लागि नेपाली व्यवसायीहरुले मगाएका अर्बौ रुपैयाँका सामान नाकामा रोकिएको र यसले व्यवसायीहरु पलायन हुनुपर्ने जोखिम रहेको पनि गुनासो गरे ।

‘उता सामान लोड भईसकेको छ, कन्टेनरको भाडा तिर्नु परिरहेको छ, यता बैंकको ब्याजको समस्या छ’ अध्यक्ष श्रेष्ठले गुनासो पोखे, ‘व्यवसायीहरु पलायन हुने खतरा बढेको छ । हामीले त अनुरोध बाहेक के नै पो गर्न सक्छौँ र ?’

के भईरहेको छ पहल ?

चीन सरकारसँग कर्मचारी तहमा कुराकानी भईरहेको वाणिज्य मन्त्रालयले बताएको छ । दूतावासमार्फत पनि कम्तीमा लोड भएका सामान छोड्न अनुरोध पठाईएको मन्त्रालय स्रोत बताउँछ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले पनि सरकारी तहबाट पहल भईरहेको जानकारी पाएको बताएका छन् । उनले दुई देश बीचको बैदेशिक ब्यापारमा सुमधुर सम्बन्ध कायम राख्न चिनियाँ पक्षले सामान छोडेर सहयोग गर्नुपर्ने बताएका छन् । 

‘सरकारले पहल गरिरहेको छ भन्ने जानकारी छ, छोडिदिए सहज हुन्थ्यो’ उनी भन्छन्, ‘दशैँमा सामान आईपुगेन भने करोडौँ रुपैयाँको फलफूल बिग्रेर खेर जानेवाला छ । सरकारले अहिलेको भन्दा अलि बढी राजनीतिक तहमै कुरा गरिदिए हुन्थ्यो ।’ 

तीज लगत्तै दशैँका लागि काठमाडौँ र अन्य ब्यापारिक शहरमा गाउँ गाउँबाट कपडा सहितका सामान लिन व्यवसायी र उपभोक्ताहरु आउने भएकाले त्यतिबेला साह्रै महँगी र अभाव हुने व्यवसायीहरुको गुनासो छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved