चुनावको मुखमा दलहरूको 'चन्दा' आतंक : कोही व्यवसायीले लिए नयाँ सिम, कोही विदेश उड्ने तयारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 09:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि खर्च जुटाउन राजनीतिक दल र तीनका नेताहरूले उद्योगी, व्यापारी र व्यवसायीसँग चन्दा मागेर हैरान बनाउन थालेका छन् ।

उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको खर्चको सीमाभन्दा कैयौं गुणा बढी खर्च गर्छन् । त्यसको भरपर्दो स्रोत उद्योगी व्यवसायीहरूसँगको चन्दा नै हो । पार्टी कार्यकर्ताले बुझाएको लेवी आन्तरिक प्रशासनिक प्रयोजनकै लागि खर्च हुन्छ भने अन्य आय दलहरूसँग छैन ।

गत सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा एक प्रतिष्ठित व्यवसायी भेटिए । उनी सिंगापुर उड्न लागेका रहेछन् । शुरूमा आफू सिंगापुर जाने प्रयोजन बताउन नमानेका उनले पछि नाम उल्लेख नगर्ने शर्तमा भने, 'चुनावभरि उतै बस्ने योजना छ । यहाँ दलहरूले चन्दा आतंक मचाएका छन्, क-कसलाई दिनु ?'

उनले देशको खुम्चिएको अर्थतन्त्र, तरलता अभाव, पछिल्लो समय भएको ब्याज वृद्धिलगायत तमाम समस्याहरूले नेपालबाट व्यवसायीहरू पलायन हुनुपर्ने स्थिति आएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले आफ्नो फोन नम्बर नै परिवर्तन गरेका छन् । यसअघि प्रयोग गरिरहेको नम्बर चुनावपछि मात्र एक्टिभेट हुने उनी निकट स्रोतले बतायो ।

महासंघकै अध्यक्ष शेखर गोल्छालाई पनि के गरूँ, कता जाउँ भएको छ । मुखै फोरेर उनले कसैलाई सहयोग गर्ने या नगर्ने वचन भने अहिलेसम्म दिएका छैनन् ।

नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलसँग पनि सहयोग माग्नेको ताँती छ । उनले फलानाले पैसा माग्यो भनेर भनेका छैनन् तर उनीसँग अपेक्षा गर्ने उम्मेदवारहरू दर्जन भन्दा बढी छन् ।

नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशका अध्यक्ष भिम घिमिरेले पनि सहयोग गर्नुपर्यो भन्दै आउनेको लाइन लागेको बताएका छन् । उनले बिजपाटीसँग भने, '१२/१५ वर्ष अघि जस्तो पैसा नदिए जे पनि हुन सक्छ भन्थे, अहिले त्यसरी धम्की नै त आएको छैन । तर आपत पर्यो, सहयोग गर्नुपर्यो भनेर राजनीतिक दलका उम्मेदवारहरूले याचना गरेको गर्यै छन् ।'

उनले उद्योगी व्यवसायीहरूको पछिल्लो आर्थिक अवस्था कसैलाई ठूलै रकम चन्दा दिन सक्ने नभएको बताए । 'हामीले दिन सक्ने भनेको ५/१० हजार हो, तर सहयोगका लागि आग्रह भने लाखौँको आउँछ । अहिले दलहरूलाई सहयोग गर्न सक्ने स्थिति छैन ।'

यद्यपी आस्था र चिनजानका आधारमा व्यवसायीहरूले नै राजनीतिक दलका उम्मेदवारहरूलाई धेरै थोरै सहयोग गरिरहेका हुन्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा भन्छिन्, 'दल र तिनका उम्मेदवारहरूको आर्थिक कार्यक्रम के हो ? त्यसले निजी क्षेत्रलाई के फाइदा दिन्छ ? उद्योगमा लगानी बढाउने परिस्थिति पैदा गर्न नीतिगत सहयोग कसरी हुन्छ ? त्यसबारेमा स्पष्ट नभइकन हामीले सहयोग गर्नुको कुनै अर्थ छैन ।'

उनले निर्वाचनअघि दलका शीर्ष नेताहरूलाई बोलाएर सार्वजनिक सुनुवाइ गराउने व्यवसायीहरूको तयारी भएको भए पनि अन्तिम अवस्थामा त्यो सफल हुन नसकेको बताइन् ।

आर्थिक गतिविधि कमजोर भएपछि व्यवसायीहरू यतिबेला समस्यामा छन् । बैंकले बढाएको ब्याजविरुद्ध धेरैले खुलेरै विरोध गर्ने गरेका छन् । लगभग सबैजसो आर्थिक सूचकहरू नकारात्मक भएको बेला निजी क्षेत्र उत्साहित हुने अवस्था छैन ।

कोभिड, आर्थिक शिथिलता, ब्याजदर, राष्ट्र बैंकको नीति, बैंकहरूको व्यवहारका कारण आफूहरू मारमा परेको व्यवसायीहरू बताउँछन् । 

नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आफूहरूले भोटमात्र दिने, नोट नदिने बताए । 'देशको विषम आर्थिक अवस्थाका कारण व्यवसायीहरू मर्कामा परेका बेला कसरी नोट दिने,' मल्लको प्रश्न छ ।

उनले बढ्दो ब्याजका कारण व्यवसाय गर्न नसकिने, भएको व्यवसाय पनि बन्द गरेर हिंड्नुपर्ने अवस्था आएको बताए ।

यतिबेला नेकपा माओवादी केन्द्रका लागि स्रोत जुटाउने काममा शंकर ग्रुपका कार्यकारी निर्देशक नै लागेका छन् । उनीलगायत सीमित सीमित व्यवसायीलाई फाइदा हुने गरेर अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर नै हेरफेर गरेको आरोप लागेको थियो ।

एमालेले पनि आफूनिकट व्यवसायीहरूलाई आर्थिक स्रोत जुटाउने जिम्मा दिएको छ । हिजो एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा नीतिगत तहमै कतिपय व्यापारीलाई पोसेको आरोप एमालेमाथि लागेको थियो ।

कांग्रेसनिकट व्यापारी व्यवसायी पनि यतिबेला आर्थिक स्रोत जुटाउन तल्लीन देखिन्छन् । उद्योगी, व्यापारी, व्यवसायी, कर्मचारी, एनजीओ, आइएनजीओ लगायत सबै किसिमका क्षेत्रहरूबाट सहयोग लिन प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा नै सक्रिय देखिन्छिन् ।

कतिपय साना प्रोफाइलका उम्मेदवारहरूले आर्थिक सहयोगका लागि बैंक खाता र क्यूआर कोड सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका छन् । देश विदेशबाट रकम संकलन गर्ने अभियानमा लागेका उम्मेदवारहरूमध्ये कतिपय रसिद नै काटेर स्थानीय व्यवसायी, व्यापारी र सामान्य जनतासँग पनि पैसा उठाइरहेका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved