जब अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयभित्रै उद्योगी व्यवसायीसँग १ घण्टा कुरा गरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 03:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्याजदर वृद्धि र चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीसँग आज अर्थमन्त्री विष्णु पौडेलले वार्ता गरेका छन् । अर्थ मन्त्रालयमा अर्थसचिव कृष्णहरि पुष्कर र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई समेत साथमा राखेर अर्थमन्त्री पौडेलले विराटनगरबाट आएका र जिल्ला नगर उद्योग वाणिज्य संघका व्यवसायीहरुसँग वार्ता गरेका हुन् ।

आज दिउँसो १ः३० बजेदेखि १ घण्टासम्म भएको वार्तामा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुलाई आन्दोलन रोक्न अनुरोध गरेका छन् । जवाफमा उद्योगी व्यवसायीहरुले चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन २ वर्षका लागि स्थगित हुनुपर्ने र ब्याजदर एकल अंकमा कायम हुनुपर्ने नीतिगत व्यवस्थाको माग आफूहरुले गरेको बताएका छन् । 

उद्योगी व्यसायीहरुले राखेका मागबारे अर्थमन्त्री पौडेलले जतिसक्दो चाँडो समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

‘मैले तपाईहरुले राखेका सबै कुरा आफैँ टिपोट गरेको छु, मैले यहाँ कसैलाई टिपोट गर्न लगाएको छैन, सचिव ज्यूलाई, गर्भनर साबलाई तपाईहरुका कुरा टिप्न भनेको छैन मैले, अरु साथीहरुलाई टिपोट गरेर देउ है पनि भनेको छैन’ अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका कुरा सुनिसकेपछि भने, ‘मैले आफैँले टिपेको छु, म आएको भर्खर २ दिन भएको छ । यी टिपेका कुराहरु एक एक गरेर म अध्ययन गर्छु, आवश्यकताका आधारमा सबन्धित व्यक्तिहरुसँग पनि परामर्श गर्छु । र, चाँडै एउटा निचोडमा पुग्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणासहित सिंहदरबार पुगेका उद्योगी व्यवसायीहरुले आफूहरुले पौष मसान्तभित्र बुझाउनुपर्ने राजस्व दाखिला गर्न सक्ने अवस्था नरहेको भन्दै पैसा बुझाउन नसक्दा सञ्चालन खर्च समेत नधानिँदा पर्न सक्ने अफ्ट्यारोको सम्पूर्ण जिम्मा अर्थ मन्त्रालय र राष्ट्र बैंकले लिनुपर्ने चेतावनी पनि दिए ।

संविधानसभा सदस्यसमेत रहेका उद्योगी पवन शारदाले राष्ट्र बैंक बैंकहरुको मात्रै अभिभावक बनेर बैंकहरुलाई फाइदा हुने नीति मात्रै बनाउन लागिपरेको आरोप लगाए । उनले आफूले ब्याजदर घट्ने, बैंकहरुले अनावश्यक रुपमा लिइरहेको सेवा शुल्क र नवीकरण शुल्क घटाउनुपर्ने माग राखेको बताए ।

अर्थमन्त्री पौडेलले सबै पक्षसँग छलफल गरेर केही दिन भित्रै एउटा टुंगोमा पुग्ने प्रतिवद्धता जनाएका छन् । 

‘उहाँ (अर्थमन्त्री)ले मिल्नेसम्म सबै माग पूरा गर्न तयार छु भन्नु भएको छ’ उद्योगी शारदाले भने ।

अर्थमन्त्री पौडेलसँगको छलफलमा सीएनआई प्रदेश नम्बर १ समितिका प्रतिनिधि, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, अटोमोबाइल्स डिलर्स एसोसियसन मोरङका अध्यक्ष संजय श्रेष्ठ सहभागी थिए । 

त्यस्तै, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यष अब्दुल वाहिद अन्सारी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुसहित काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी थिए ।

योसँगै, उद्योगी व्यवसायीहरुको आन्दोलन पौष २७ गते सम्मका लागि स्थगित भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved