कसरी गुम्यो नेपालको १२ खर्ब निर्यात ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 29, 2023 | 01:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको वैदेशिक ब्यापारमा १२ खर्बको निकासी सम्भावना गुमिरहेको पाइएको छ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले अहिलेको तुलनामा १२ गुणा बढीसम्म निर्यात गर्ने क्षमता राख्ने भएपनि त्यो अवसर सदुपयोग गर्न नसकेको देखिएको हो । वार्षिक निर्यात र आयातबीचको खाडलले पनि विश्व बैंकको अध्ययनलाई पुष्टि गरेको देखिन्छ ।

विश्व बैंकले सन् २०२१ सम्मको तथ्यांकलाई आधार मानेर गरेको अध्ययन (नेपाल विकास अपडेट)ले नेपालले हाल वार्षिक १२ खर्ब २५ अर्बभन्दा बढीको निर्यात गुमाइरहेको जनाएको छ । यदि विश्व बैंकले औल्याएको यो सम्भावना अनुसारको निर्यात हुन्थ्यो भने नेपालले आज वार्षिक पौने १४ खर्बको निकासी गरिरहेको हुन्थ्यो ।

त्यसो त, गत वर्ष असोजमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपालको निर्यात सम्भावना विषयक कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री डा. गोन्जालो भरेलाले तथ्यांक नै प्रस्तुत गरेर नेपालले अहिलेकै अवस्थामा पनि वार्षिक ९.२ अर्ब डलर बराबरको निर्यात गर्न सक्ने भएपनि अहिले क्षमताको ७ प्रतिशत हाराहारी मात्रै निकासी गरिरहेको बताएका थिए ।

१०४ देशमध्ये सबैभन्दा बढी अवसर खेर फालेको देश नेपाल

विश्व बैंकले बेला बेलामा विभिन्न देशको निकासी अवस्था र सम्भावनाबारे अध्ययन गर्दै आएको छ । उसले नेपालसहित उस्तै प्रकृति र अर्थतन्त्र भएका विभिन्न ५० देशको अध्ययन गरेको थियो । यस अध्ययनका आधारमा विश्व बैंकले ति ५० देशमध्ये सबैभन्दा धेरै अवसर भएर पनि अवसर सदुपयोग गर्न नसकेको देशका रुपमा नेपाललाई राखेको छ । 

त्यस्तै, पछिल्लो पटक विश्व बैंकले १०४ देशको अध्ययन गर्दा पनि नेपाल नै अवसर खेर फालिरहेको देशको शीर्ष स्थानमा पर्यो । बुरुन्डी र रुवान्डा क्रमशः दोस्रो र तेस्रो देशमा परे । 

सँगै, विश्व ब्यापार संगठन (डब्ल्यूटीओ)को सदस्य भएर लाभ लिन नसकेको देश पनि नेपाल नै भएको विश्व बैंकको दाबी छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को दुइ महिना (साउन र भदौ)मा नेपालले ब्यहोरोले वैदेशिक ब्यापार घाटाले पनि यो विश्व बैंकको यो भनाईलाई पुष्टि गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार यो दुइ महिनामा २ खर्ब ५९ अर्ब ७४ करोडको आयात हुँदा निकासी भने जम्मा २६ अर्ब ४४ करोडको मात्रै भएको छ । ब्यापार घाटा दुइ महिनामै २ खर्ब ३३ अर्ब पुगेको छ ।

विश्व बैंकले सन् २००० देखि नै नेपालको निकासी स्थिर बसिरहेको जनाएको छ ।

‘सन् २००० देखि नेपालको निर्यात अवस्था स्थिर जस्तै छ, यो अवधिमा जम्मा ४ प्रतिशतले मात्रै बढेको छ’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘नेपाल विश्वकै सबैभन्दा कमजोर निर्यात भएको मुलुक हो ।’

चीनमा ३ खर्ब र भारतमा डेढ खर्बको निर्यात गुमिरहेको छ

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री डा. गोन्जालोले प्रस्तुत गरेको रिपोर्ट अनुसार नेपालले सबैभन्दा धेरै निर्यात चीनमा गर्न सक्ने भएपनि त्यो अवसर गुमाइरहेको छ । नेपालबाट चीनमा वार्षिक २ अर्ब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको निर्यात सम्भावना रहेको विश्व बैंकले जनाएको छ । यो भनेको नेपाली रुपैयाँ अनुसार आजको मितिमा २ खर्ब ९८ अर्बभन्दा बढी हुन्छ । तर, गत आर्थिक वर्ष २०७९÷०८० मा चीनमा नेपालबाट जम्मा १ अर्ब ७६ करोडको वस्तु निकासी भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो दुइ महिनामा पनि ५४ करोड ३३ लाखको मात्रै निर्यात भएको छ ।

त्यस्तै, नेपालले सबैभन्दा धेरै निकासी गर्न सक्ने सम्भावना भएको दोस्रो देश हो भारत । नेपालले वार्षिक भारतमा २ खर्ब ७५ अर्ब बराबरको निर्यात गर्न सक्ने देखिएको विश्व बैंकको प्रतिवेदनले भनेको छ । तर, गत आर्थिक वर्ष २०७९÷०८० मा नेपालले भारतमा १ खर्ब ६ अर्बको निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौसम्ममा १६ अर्ब ७३ करोडको निर्यात भएको छ ।

विश्व बैंकको अध्ययन अनुसार नेपालले अमेरिकामा १ खर्ब २० अर्बको निर्यात गर्न सक्ने भएपनि हाल १९ अर्बको मात्रै निर्यात भइरहेको छ ।

उक्त अध्ययन प्रतिवेदन अनुसार नेपालबाट धेरै निर्यात सम्भावना भएका देशमा जापान, बेलायत, जर्मनी, फ्रान्स, कोरिया, इटली र इन्डोनेसिया छन् । तर, यी देशमा पनि सम्भावना अनुसारको निर्यात गर्न नेपालले नसकिरहेको प्रतिवेदनमा भनिएको छ ।

यी हुन् निर्यात सम्भावना भएका नेपाली उत्पादन

विश्व बैंककै रिपोर्टलाई हेर्दा पनि उसले निकासी सम्भावना भएका देश मात्रै उल्लेख गरेको छैन । नेपालबाट निर्यातको उच्च सम्भावना भएका वस्तुसमेत किटान गरेको छ ।

विश्व बैंकका अनुसार सम्भावना भएर पनि अत्यन्त कम मात्रामा निकासी भइरहेको वस्तु तयारी पोशाक छ । नेपालले वार्षिक करिब १ खर्ब ६० अर्ब बराबरको तयारी पोशाक निर्यातको अवसर गुमाइरहेको विश्व बैंकले जनाएको छ ।

नेपालबाट वार्षिक १ खर्ब ३१ अर्बको तयारी विद्युतीय सामग्री, १ खर्ब ५ अर्बको अर्धप्रशोधित र प्राशोधित खाद्यान्न निर्यातको सम्भावना भएपनि नेपालले यो अवसर गुमाइरहेको विश्व बैंकले जनाएको छ । जुत्ताचप्पलको पनि निकासी सम्भावना उच्च हुँदाहुँदै पनि नेपालले निर्यात गर्न नसकिरहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले आफ्नो क्षमता र सम्भावना अनुसार निर्यात गर्न सके अहिलेको तुलनामा २ लाख २० हजार जनाका लागि प्रत्यक्ष रोजगारी थपिने पनि विश्व बैंकले जनाएको छ ।

त्यसो त, नेपालले निर्यात गर्ने गन्तव्य मुलुक र वस्तु घटेका छन् । भन्सार विभागका अनुसार अहिले नेपालले १२९ देशमा १ हजार १६ प्रकारका वस्तु पठाउँदै आएको छ । आजभन्दा १४ वर्ष अगाडी नेपालले १४६ देशमा १ हजार १६७ प्रकारका वस्तु निर्यात गर्दथ्यो । विश्व बैंकले आफ्नो प्रतिवेदनमा पनि यो कुरा समावेश गरेको छ ।

त्यस्तै, निर्यात पद्धति पूरानै हुनु, निर्यातयोग्य वस्तुको विविधिकरण गर्न नसक्नु, निर्यातमा आधुनिकता पनि ल्याउन नसक्नु र उद्योगमा बाह्य लगानी आकर्षित गर्न नसक्नुले नेपालको निर्यात सम्भावना गुमिरहेको विश्व बैंकको निष्कर्ष छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved