साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः डा. भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 07:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले योलगायत आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् ।  

“पछिल्लो समय साना उद्योगी पनि विदेश पलायन भइरहेको अवस्था छ,” उनले भने, “लगानीमैत्री वातावरण तय गरेर उहाँहरुलाई स्वदेशमा नै बस्ने वातावरण तय गर्नका लागि यस्ता लगानी सम्मेलनमा साना तथा मध्यमस्तरका व्यवसायलाई पनि समावेश गरेर लगानी जुटाउने वातावरण तय गरिनुपर्छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चीज हेर्नुपर्नेमा उनको जोड रहेको छ । मुलुक कृषि प्रधानबाट औद्योगिक अर्थतन्त्रमा रुपान्तरण भइरहेको भन्दै उनले औद्योगिक क्षेत्रको विकासका लागि पनि मानव स्रोत र प्रविधिको विकास हुन जरुरी रहेको बताए । “यतिबेला मुलुकको आर्थिक क्षेत्रमा शिथिलता निरन्तर देखिएको छ, कसरी अर्थतन्त्र सुधार गर्नुपर्छ भन्नेमा गम्भीर किसिमको छलफल हुनुपर्छ र मुलुक कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयको बुझाइमा एकरुपता आउन जरुरी छ”, उनले भने, “हाम्रो जस्तो औद्योगिकीकरण हुँदै गएको अवस्थामा पूँजी, श्रम बजारको सुनिश्चितता जरुरी रहेको छ, पूँजीवादी बजार चलायमान हुनु पनि उत्तिकै जरुरी रहेको छ ।”

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको पनि विकास जरुरी रहेकामा उनले जोड दिएका छन् । उनले स्वदेशी उत्पादनको ठूलो बजार भारत र चीन रहेकाले कसरी उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । “आजभोलि आकर्षक श्रम र प्रविधिका कारण युवा शक्ति विदेश पलायन भइरहेका छन्, १२ कक्षा पढ्ने बित्तिकै सबै विदेश पलायन हुन थालेका छन्”, उनले भने, “कसरी शैक्षिकस्तर सुधार गरेर स्वदेशमा नै प्रशस्त रोजगारीका माध्यमको विकास गरिनुपर्छ ।”

भट्टराईले नेपालको आन्तरिक बजार भारत र चीन भए पनि मुलुक भूराजनीतिक भूमरीमा फसिरहेकाले समस्या उत्पन्न भएको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रको नै सुधार गरेर उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड दिए । “कृषि क्षेत्रको सुधारका लागि हामीले अपनाउनुपर्ने मुख्य नीति भूमिसुधारको कुरा नै गर्दैनाँ”, उनले भने, “खाद्य सुरक्षाको क्षेत्रमा लगानी सुरक्षित गर्नुपर्छ ।”

उनले मुलुकको अर्थतन्त्र सुधारका निम्ति हरित उर्जाको विकासमा जोड दिन उत्तिकै आवश्यक रहेकामा जोड दिए । आगामी लगानी सम्मेलनमा मुलुकको खास क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । जिडिपीको ४० प्रतिशत विकासमा लगानी गर्नुपर्नेमा उनको जोड छ । प्राथमिकताको क्षेत्र पहिचान गरी त्यसमा लगानी बढाउनुपर्ने र अनावश्यक क्षेत्रमा लगानी बढाउन नहुने पनि उनको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved