
नेपाल बैंकर्स संघले अध्ययन संस्थाहरुलाई स्वायत्त तथा प्रतिष्ठित बनाएर आईआईटि मोडलमा लैजान सुझाव दिएको छ । आगामी आर्थिक वर्ष ७८÷७९ को बजेटको लागि सुझाव दिदै संघले अध्ययन संस्थाहरुलाई स्वायत्त तथा प्रतिष्ठित बनाएर सात वटै प्रदेशमा शाखा विस्तार गर्न सुझाव दिएको हो ।
संघले उपत्यकाका पुल्चोक इन्जिनियरिङ्ग कलेजलाई भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटि), शकंरदेव÷ मिनभवन कलेजलाई भारतको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) , महाराजगञ्ज टिचिङ्ग हस्पिटललाई भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स जस्तो प्रतिष्ठित बनाएर संस्थाको विकास गर्नुका साथै एक निश्चित समय भित्र सात वटै प्रदेशमा यी संस्थाको शाखा विस्तार गर्न सुझाव दिएको हो ।
संघले अरु विषयहरु शिक्षा, कृषि, अर्थशास्त्र, बुद्धिजम लगायतका विषयमा समेत अध्ययनका लागि सोही अनुसारको संरचना खडा गरिनु उचित हुने सुझाव दिएको छ । यी संस्थाहरुको संचालनमा संसारका राम्रा विश्वविद्यालयमा अध्ययन अध्यापन गरेका नेपाली तथा गैर आवासीय नेपालीलाई आकर्षण गर्नु उपयुक्त हुने संघले दिएको सुझावमा उल्लेख छ ।