देशभर सुरु भयो एसइई परीक्षा, ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 11:04:32 AM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गरेका छन् । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी भएको जानकारी दिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएको उल्लेख गर्दै उनले परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएको जानकारी दिए । यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उनले बताए । अध्यक्ष शर्माले भने , “यस वर्ष एक महिना ढिलो परीक्षा सुरु भएको छ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, नतिजा जारी गर्न केही दिन तल–माथि हुनसक्ला, यद्यपि साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी नयाँ भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved