बेलायतको
लीड्स ब्याकेट युनिभर्सिटीबाट सम्बन्धन लिएको भनिएको ब्रिटिश कलेजले ३ वर्षे
अन्डरग्र्याजुएट कार्यक्रमलाई तानतुन गर्दै ४ वर्षसम्म लम्ब्याएर ग्र्याजुएट भन्दै
विद्यार्थीसँग गैर-कानूनी रूपमा पैसा असूल गरेको भेटिएको छ ।
कलेजले शिक्षा मन्त्रालयका कर्मचारीसँग
साँठगाँठ गरी ३ वर्षको बीएससी अनर्स कम्प्युटिङ र हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट
कोर्षलाई अनाधिकृत रूपमा थप एक वर्ष लम्ब्याएर विद्यार्थीसँग मोटो रकम असुल्ने
गरेको पाइएको हो । साथै कलेजले तीन वर्षे अन्डरग्र्याजुएट कोर्षलाई ग्र्याजुएट
भन्दै 'नक्कली' प्रमाणपत्रसमेत
बेच्ने गरेको छ ।
पाठ्यक्रम
विकास केन्द्रले नचिन्ने ती कोर्ष उत्तीर्ण गरेबापत प्राप्त हुने 'नक्कली'
प्रमाणपत्रहरूलाई
त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गर्नसमेत कलेजले मोटो रकम खर्चिदै
आएको स्रोतको दाबी छ ।
ब्रिटिश
कलेजलाई चलाउन अनुमति दिइएको कार्यक्रमबारे बिजपाटीले बेलायतको लीड्स ब्याकेट
युनिभर्सिटीसँग कुराकानी गरेको थियो। युनिभर्सिटीले ३ वर्षका लागि मात्र
अन्डरग्र्याजुएट कोर्स चलाउन अनुमति दिएको बताएको छ।
'हामीले ब्रिटिश कलेजलाई बीएससी अनर्स
कम्प्युटिङ र बीए अनर्स हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट दुवै कार्यक्रम तीन
वर्षका लागि चलाउने अनुमति दिएका हौँ ।'
युनिभर्सिटीले
बिजपाटीलाई पठाएको जवाफमा उल्लेख छ ।
तर कलेजले
दुवै कार्यक्रम 'एक वर्षे फाउन्डेसन' कोर्स थपेको भन्दै ३ बाट संशोधन गरेर गैरकानूनी
रूपमा ४ वर्षे बनाएको हो ।
यति मात्र होइन, सोही युनिभर्सिटीबाट १८ महिनाका लागि एमएससी
इन्फर्मेसन टेक्नोलोजी,
१ वर्षका लागि एमबीए
ग्रयाजुएट र १८ महिनाका लागि एक्जेक्युटिभ एमबीए कोर्स संचालन अनुमति पाएको
ब्रिटिश कलेजले तीन वटै कार्यक्रम २/२ वर्षका लागि संचालन गरिरहेको छ ।
उताबाट
अनुमति प्राप्त कार्यक्रमलाई आफूखुसी संशोधन गरेर एक ६ महिनादेखि १ वर्षसम्म
लम्ब्याउँदा विद्यार्थीबाट थप रकम असुल्न पाइने र अवैधानिक रूपमा थपिएको समयमा
उठाइएको पैसा विश्वविद्यालयमा जम्मा गर्न नपर्ने हुँदा करोडौंको घोटालासँगै
विद्यार्थीको शैक्षिक भविष्यसमेत जोखिममा पारिएको छ ।
यताबाट
आफूखुसी थपिएको समयको फी विश्वविद्यालयलाई नजाने लीड्स ब्याकेट युनिभर्सिटीले
प्रष्ट पारेको छ । यसको पुष्टि कलेजका एसोसियट डीन अरुण जोशीले समेत गरे ।
'हामीले फाउन्डेसन कोर्षका नाममा एक
वर्षको पाठ्यक्रम आफैं बनाएका हौँ,'
जोशीले बिजपाटीसँग
भने, 'यो एक वर्षे कोर्ष पढाएर
विद्यार्थीबाट उठाउने फी युनिभर्सिटीमा पठाउन्नौं ।'
ब्रिटिश
कलेजले आफूखुसी गैर-कानूनी रूपमा पढाउने गरेको कोर्सका बारेमा पाठ्यक्रम विकास
केन्द्रलाई पनि जानकारी छैन । यसबारे पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले भने, 'हाम्रो पाठ्यक्रम र उनीहरूको पाठ्यक्रम फरक हुने
भइहाल्यो । हाम्रोबारे केही सोध्नुछ भने सोध्नुस, ब्रिटिश
कलेजले बेलायती विश्वविद्यालयले तय गरेको पाठ्यक्रम पढाउँछ, त्यसको बारेमा उतै सोध्नुस ।'
हामीले ती
कर्मचारीलाई थप सोध्यौं,
'त्यसो भए त्रिभुवन
विश्वविद्यालयसँगको समकक्षता कसरी निर्धारण हुन्छ त ?' ती कर्मचारीले त्यसो भए टीयुलाई नै सोध्न आग्रह
गर्दै फोन राखे ।
तर ब्रिटिश
कलेजका एसोसियट डीन जोशीले भने पाठ्यक्रम विकास केन्द्रसँग अनुमति लिएरै आफूहरूले
एक वर्ष थपथाप गरेको दाबी गरे ।
'हामीले सन् २०११/१२ मा यी कोर्स पढाउन
थालेका हौँ, त्यतिबेला नै यी समस्या देखिएका थिए ।
तर पाठ्यक्रम विकास केन्द्रले हामीलाई अनुमति दिएको छ ।'
जोशीले यही
गत चैत्रमा नयाँ पोलिसी बनेको र त्यसले अहिलेसम्म देखिएको समस्या समाधान गर्ने
बताए ।
'अहिलेसम्म समस्या भयो । हामीले थप
गरेको एक वर्षे कोर्ष पाठ्यक्रम विकास केन्द्रको पनि टाउको दुखाइ बनेको छ,' यसअघि केन्द्रबाट स्वीकृति लिएको भन्ने आफ्नै
भनाइको खण्डन गर्दै जोशीले भने,
'उताको र यताको कोर्ष
म्याच पटक्कै हुँदैन । नयाँ पोलिसीले त्यसको समाधान गर्छ ।'
त्यो नयाँ
पोलिसी के रहेछ भनेर हामीले शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखामा सोध्यौं ।
महाशाखा भन्छ, 'कुन पोलिसी हो हामीलाई थाहा छैन ।
बनेपछि तपाईंले पाउनु हुन्छ ।'
ब्रिटिश
कलेजले गैर-कानूनी रूपमा एक वर्ष समय थपेर आफूखुसी पढाइरहेको बीएससी अनर्स
कम्प्युटिङको नेपालमा समकक्षता निर्धारण गरिएको छैन । ब्रिटिश कलेजले 'ग्र्याजुएट'
नाम दिइएको उक्त
कोर्सलाई लीड्स ब्याकेट युनिभर्सिटीले 'अन्डरग्र्याजुएट' भनेको छ ।
यसबारे
एसोसियट डीन जोशीलाई प्रश्न राख्दा उनले भने,
'नयाँ पोलिसीले
हाम्रो कोर्षलाई टीयुको बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन)को समकक्षता दिने
कुराकानी छ ।'
जबकी
त्रिभुवन विश्वविद्यालयले ४ वर्षको बीसीए कार्यक्रम संचालन गर्छ । लीड्स ब्याकेट
युनिभर्सिटीले जम्मा तीन वर्षको अनुमति दिएको अन्डरग्र्याजुएट बीएससी अनर्स
कम्प्युटिङ कोर्सलाई गैर-कानूनी रूपमा चार वर्ष बनाइएको छ । दुवैको समकक्षता कसरी
निर्धारण हुन सक्छ ?
यो प्रश्नको उत्तर
जोशीसँग छैन।