सफ्टवेरिका कलेजका २ सय विद्यार्थीले नेपाल र जर्मनीमा आईटी क्षेत्रको रोजगारी पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 12:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा रहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएच [ARRTSM GmbH] सँग साझेदारी गरेको छ । सम्झौता अनुसार जर्मनीको सो टेक कम्पनीले सफ्टवेरिका कलेजका २ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ ।

एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो । 

सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवारिका कलेज शिक्षामा नवीनतम प्रविधि र व्यावहारिक आधारमा प्राविधिक जनशक्ति विकास गर्न सधैं अग्रपंक्तिमा रहेको बताए ।

उनले भने,'यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताहरूका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो।'

सफ्टवारिका कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए । उनले भने, 'हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौं ताकि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।' उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे ।

 एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउन यो सम्झौता महत्वपूर्ण भएको बताए ।

उनले भने,'आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ, यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउने विश्वास लिएको छु ।'

उनले आफू युवा प्रतिभासँग काम गर्न निकै उत्साहित रहेको बताए । उनले भने,'युवा पुस्तालाई प्रविधि हस्तान्तरण हाम्रो सहयोगको मुख्य उद्देश्य हो ।'
यो सम्झौताले भावी पुस्ताका लागि ठूलो अवसर सिर्जना गर्ने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved