
 2mb (1).gif)
स्याङ्जाको पुतलीबजार नगरपालिकामा रहेको सामुदायिक विद्यालयका कारण एक विद्यार्थी कक्षा १२ को बोर्ड परीक्षा दिनबाट बञ्चित भएका छन्। मङ्गलबारदेखि सुरू भएको कक्षा १२ को परीक्षामा पालिकाको वडा नं १३ मा रहेको कालिका माध्यमिक विद्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थी सन्दीप विकलाई परीक्षाबाट बञ्चित गराईएको हो ।
सन्दीपको आर्थिक अवस्था कमजोर भएका कारण उनले विद्यालयलाई बुझाउनुपर्ने ११ हजार ५ सय रूपैयाँ वैशाख २५ गतेसम्म विद्यालयमा बुझाउन सकेनन् । शुल्क नबुझाएका कारण विद्यालयले प्रवेश पत्र नै नदिएपछि उनी परीक्षाबाट बञ्चित भएका हुन्।
सन्दीपले सुरूमा बिरामी भएर परीक्षामा सहभागी नभएको भने। तर कुरा गर्दै जाँदा उनले विद्यालयले प्रवेशपत्र नदिएकै कारण परीक्षामा सहभागी हुन नसकेको बताए। अंग्रेजी विषयको परीक्षाबाट बञ्चित भएका उनको विषयमा कुरा बाहिर आएपछि विद्यालयले बुधबारको नेपाली विषयको परीक्षामा सहभागी हुन प्रवेशपत्र दिएको छ।
यस विषयमा प्रधानाध्यापक वीरबहादुर क्षेत्रीलाई सम्पर्क गर्दा घुमाउरो पारामा उनले आफ्नो गल्ती स्विकारेका छ्न्। तर उनी विद्यार्थीको हेलचेक्राइका कारण परीक्षाबाट बञ्चित भएको भन्नपछि परेनन् ।
प्रधानाध्यापक क्षेत्रीले भने, 'प्रवेश पत्र लिएर म आँफै परीक्षा केन्द्र गएको थिए, तर विद्यार्थी नआएपछि दिन सकिएन।' नगर शिक्षा शाखामा सम्पर्क गर्दा शिक्षा अधिकृत बाबुराम बरालले उक्त विषयमा कुनै जानकारी नभएको बताए। उनले भने , 'यो विषयमा जानकारी भएको खण्डमा हामीले संस्थागत र सामुदायिक विद्यालयसँग सहजीकरण गरेर समयमै प्रवेशपत्र उपलब्ध गराउँदै आएका छौँ ।'
संविधानमा कक्षा १२ सम्म सम्मको शिक्षा निशुल्क हुने व्यवस्था छ तर सामुदायिक विद्यालयहरूले विभिन्न वाहनामा शुल्क असुली रहेका छ्न्। कालिका माविमा दलित समुदायका विद्यार्थीहरूको उपस्तिथि बढी छ। दलित समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षासम्मकै शिक्षा नि:शुल्क पाउने कानुनी व्यवस्था छ।