विवादित खर्बपतिको आँखा नवलपरासीमा : जनताले विकल्प खोज्लान् कि मःम रोज्लान् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 11:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहान–साँझको भेटमा छिमेकीसँग हामीमध्ये अधिकांशले सोध्छौँ– भात खानु भो ? खानामा रोटी, ढिँडो, आँटो, कन्दमूल आदि जेहोस्, सोधाइ र बुझाइमा ‘भात’ शब्द प्रचलित छ ।

होटल, रेस्टुरेन्टमा गएपछि के खाने भन्ने सम्बन्धमा मेनु हेरेर हामी प्रायःले केहीबेर छलफल गर्छौं, अन्ततः मःमः मगाउँछौँ । के यही ‘नेपाली प्रवृत्ति’ यसपालिको निर्वाचनमा देखिएला ?

संघारमा आएको निर्वाचनको रिपोर्टिङका लागि बिजपाटी टिम सातै प्रदेशका मुख्य क्षेत्रमा खटियो । केही स्थानीयसँग कुरा गर्दा, अधिकांशले पाका नेता र पुराना पार्टीप्रति वितृष्णा व्यक्त गरे– नेतालाई जिताएर पठायो, केही गर्ने होइन !

नेताले गर्नुपर्ने के हो ? सुविधाजनक सडक, बिजुली, स्कुल–कलेज, हस्पिटलको माग आफ्नै ठाउँमा छन् । यसबाहेक कृषकहरू मलबिउ र सिंचाइ माग गर्छन्, युवाहरू रोजगार–स्वरोजगार र भूमिहीनहरू गाँस, बास र कपासको अपेक्षा गर्छन् । आफ्नो क्षेत्रमा कसले जित्नुपर्छ, कसलाई भोट दिने भन्ने सम्बन्धमा कति त अनभिज्ञ छन्, कति बोल्न चाहन्नन् ।

मतदाताको आक्रोश

२६ कार्तिक देखि नै पश्चिम नवलपरासीमा चुनावी रिपोर्टिङ गर्दै आएको बिजपाटी टीमले प्रतापपुरमा  ७० वर्षीया एक बृद्दलाइ भेट्यो । सोनी खान (नाम परिवर्तन) घरपछाडी बाँधिएको एउटा बाख्रालाई घाँस हाल्दै थिइन् । हामीले उनीसँग सञ्चोबिसञ्चो सोध्यौँ, उनले हिन्दीमा भनिन्– ज्वरो आएको छ, धेरै भयो  । हात गोडा दुख्छन्  । हामीले सोध्यौँ– घरमा को को हुनुहुन्छ ? उनले अरु नै केहि बुझिन् ! बाढीले मक्किएको घर  देखाउँदै भनिन्– ‘घर गिर गइल बा ।’ (घरको अवस्था ठिक नभएको भन्ने अर्थमा ।)

आफूलाई नेपाली बुझ्न कठिन भएपछि उनले छोरालाई बोलाइन् । उनका छोरा ३५ वर्षीय महेश खान (नाम परिवर्तन) अरुको घरमा मन्जुरी गर्छन  । आफ्नो नामको जमिन कम भएकाले उनले अरुको जमिनमा पनि अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । ‘यहाँका युवा बेरोजगार छन् । स्वास्थ्य र शिक्षाको राम्रो व्यवस्था छैन,’ उनले चुनावी सन्दर्भमा कुरा गर्दा बिजपाटीलाइ भने, ‘अहिले त यहाँका मानिस चलाख भएका छन् । पैसाको बलमा हाम्रो भोट किन्न तम्सिएका धेरै छन् यहाँ तर, किन दिने हामि  । गाउँमा ऋण सापट, मेला पर्वमा सहयोग गर्ने नै चाहिएको छ  ।’

यही टोलका ४५ वर्षीय रमेश दास काममा निस्कँदै थिए । सम्पत्तिको नाममा सानो छाप्रोमात्रै भएका उनले ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । गरिबीका कारण उनका जेठा छोरा किसनले पढ्न पाएनन् । २० वर्षीय किसन अहिले भारतमा मजदुरी गर्छन् । ‘कान्छो छोरा पनि ८ कक्षा पढ्दापढ्दै छाडेर मजदुरी गर्न हिँडेको छ । अहिले ऊ पनि दाइसँगै छ,’ उनले भने, ‘हामीलाई रोजगारी चाहिएको छ ।’

राजनीतिक दल र चुनावप्रति उनलाई विश्वास छैन । मतदान गर्ने, नगर्ने वा कसलाई किन मत दिने भन्ने सम्बन्धमा उनी खुल्न चाहेनन् ।

कात्तिक २८  गते बिहान, सोहि ठाउँको एक चिया पसलमा चिया पिउँदै गर्दा हामी निर्वाचनका विषयमा केही स्थानीयसँग गफियौँ । उनीहरूले एक स्वरमा भने– खर्बपतिलाइ बाइक चढ्न बाध्य बनाउने कस्तो चुनाव ?  खर्बपतिलाइ नै जितायौँ भने , हामीलाई के हुन्छ ? यसपालि मत दिने–नदिने, वा कसलाई किन दिने भन्ने सम्बन्धमा उनीहरू खुल्न चाहेनन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खर्बपति बिनोद चौधरी चुनावी प्रचारमा सोहि क्षेत्रमा पुगेका थिए । यहाँका एक ६७ वर्षीय पुरुषले हामीसँग गुनासो गरे, ‘उद्योग कलकारखाना र आफ्नो वाईवाईको मात्र प्रचार गर्छन । वाईवाई बनाउन प्रयोग हुने गहुँ भारतबाट ल्याउँछन् । बिनोद बिकास गर्न होइन व्यापार गर्न यहा आएका हुन् । यस्तालाई भोट हालेर के हुन्छ ?’

सुस्ता क्षेत्रका हरि चौधरी पनि बिनोद चौधरीको भाषणदेखि रुष्ट छन् । बिजपाटीसँगको कुराकानीमा उनले विनोदप्रति आक्रोश व्यक्त गरे । ‘उनको कुरा सुन्दा एलर्जी हुन्छ । काम केही गर्ने होइनन् । सब लुट्नेमात्र हुन्,’ उनले भने, ‘जनतालाई कसैले हेर्दैन ।’

‘स्थानीय स्तरमा उत्पादन भएको केराले बजार पाउन सकेको छैन, न गहुँले आत्मनिर्भर हुन सकियो । १९ बिघा जग्गामा फ्याक्ट्री खोल्छु भनेर सुनाए, बिकास गरिदिन्छु भन्दै सस्तोमा जग्गा किन्ने जाल रचे । सस्तोमा दिन नसक्ने भनेपछि फर्केर हेरेनन् । अब भन्नुस यिनलाई भोट दिनु ? ,’ उनले आफैलाई प्रश्न गरे  ।

बिजपाटीसँगको कुराकानीमा, आफ्नो क्षेत्रको विकास गर्ने केही पुराना नेताको नाम सर्वसाधारणले खुलेरै लिए । हृदयश त्रिपाठी नेतृत्वको पार्टी (जनता प्रगतिशील पार्टी)को नाम लिने र समानुपातिकमा भए पनि भोट दिन चाहने सर्वसाधारण ठाउँठाउँमा भेटिएका थिए । अर्कोतिर, रोजगारीका लागि विदेशमा रहेका युवाले घरमा फोन गरेर ‘फलानो पार्टीलाई भोट हाल्नू’ भनेको पनि पाइयो ।

चुनाव रिपोर्टिङका क्रममा बिजपाटी टिमले कतिपय ठूला नेताको चुनावीसभा र घरदैलो कार्यक्रममा सर्वसाधारणको सहभागिता त्यति उत्साहजनक देखेन । केही नेताले ३०–३५ जनाको अगाडि भाषण गरिरहेका थिए ।

भूकम्पमा वाइवाइ १५ रुपैयाँबाट सोझै २० रुपैयाँ

बिनोद चौधरीको पछिल्लो समयमा गरेको चुनावी हर्कतलाई धेरै जनाले रुचाएको पाईंदैन । उनले गरेका हर्कतलाइ  चुनावी मिसाइल भन्नेहरुको कमि छैन । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका चौधरीले ग्रामीण तथा विपन्न बस्तीमा खिचेको फोटो  र टी शर्ट लगाएर मोटरसाइकल पछाडि बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । तर,चौधरीले सामाजिक सञ्जालमा लेखेको एकाध मिनेटमै सर्वसाधारणले तीव्र प्रतिक्रिया र रिस प्रकट गर्न भ्याए  । विकास श्रेष्ठले आफ्नै उद्योग रहेको क्षेत्रका निमुखा नागरिक र झुपडीमा उभिएर फोटो खिच्दै भोट माग्न अलिकति लाज लागेन ? भनेर सोधे । उनले लेखे, ‘समस्या त विगतदेखि थियो । तपाईं एउटा समाजसेवी र उद्योगपति भएका नाताले ती क्षेत्रमा सुधार ल्याउन तपाईं नै नेतृत्व तहमा पुग्नुपर्छ भन्ने पनि छैन नि !’

जनताको नाममा सुको खर्च नगर्ने भन्दै उमेशकुमार रोकायाले मुखभरिको जवाफ दिए । रोकायाले आफ्नो पेट्रोल सकिन्छ भनेर अर्काको बाइकमा धनी हुने भूत कति धेरै ? भनेर लेखे । उनले अगाडि लेखे, ’तपाईंको कुनै भिजन र एजेण्डा छैन । तपाईं राजनीति नगर्नुहोस् । किनकि तपाईंको आवश्यकता छैन ।’

त्यसैमा ओझाले लेखे,‘भूकम्प गएको बेला,भूकम्पको कारण भोकमरी भएको  समयमा वाइवाइ चाउचाउको मूल्य १५ रुपैयाँबाट सोझै २० रुपैयाँ बनाउने पनि उहाँ नै हो है !’




सँधै रवाफिलो पाराले दैनिकी बिताएका चौधरीले हालेको फोटोलाई व्यङ्ग्य गर्ने मध्येका सुनिल लामिछाने पनि एक हुन् । उनले धन्न साइकलमा निस्किनु भएन,फोटो चाँहि ल्याण्डक्रुजरवाला होला है ? भनेर दह्रो व्यङ्ग्य गरे ।


नेता र व्यापारीको असली रुपलाई वीरेन्द्र राउतले स्पष्ट पारे । राउतले चौधरीको सोही फोटोमाथि कमेन्ट गर्दै यो रुप आगामी मंसिर ४ गतेसम्म जारी रहने ठोकुवा गरे । उनले भने,‘हेर,चुनाव लागेपछि नेता कति सरल र साधारण हुन्छन् ! भोट पाए पनि नपाए पनि यो रुप मंसिर ४ सम्मलाई मात्रै हो ।’
चौधरी उठेकै क्षेत्रका सन्दिप त्रिपाठीले पनि चौधरीको मुखुण्डो खोलिदिए । उनको प्रपञ्च मंसिर ४ गतेसम्म भएको उनको पनि ठोकुवा छ । लेख्छन्,‘चुनाव आएपछि त दुई करोडको कार पनि दुई लाखको बाइक बन्ने रहेछ । अब दुई हजारको साइकल पनि नबन्ला भन्नु छैन । जय होस् लुटेराहरूको निञ्जा टेक्निकको ।’
 हृदयेश त्रिपाठी कि विनोद चौधरी
नवलपरासी पश्चिमको बर्दघाटबाट त्रिवेणी जाने बाटो लामो समयदेखि जीर्ण छ। निर्वाचनअघि मात्र यो सडकका केही खाल्डाखुल्डी पुरिए।सडकको छेवैमा साइकल अड्याएर प्रतापपुर- १ का ४४ वर्षीय बलराम चौधरीले निर्वाचनबाट चुनिने नेताले यो सडक बनाउने आशा व्यक्त गरे।
'हुन त आफ्नो महँगो गाडी कुदाउन विनोद चौधरीले निर्वाचनअघि सडकको केही खाल्डाखुल्डी पुर्ने काम गरे,' चौधरीले भने, 'अब थप काम केकसो हुन्छ, थाहा छैन।'
उद्योगपति विनोद चौधरी यसपटक नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट लड्दै छन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि यहीँ प्रतिस्पर्धा गर्दै छन्। नवलपरासी पश्चिमको यो निर्वाचन क्षेत्रबाट त्रिपाठी पाँचपटक संसदमा पुगिसकेका छन्। २०४८, २०५१ सालको मध्यावधि, २०५६, २०६४ र पछिल्लोपटक २०७४ सालमा नेकपा एमालेको चुनाव चिह्न लिएर उनले जित हात पारिसकेका छन्। पछिल्ला ३० वर्षमा उनी २०७० सालमा एकपटक मात्र पराजित भएका छन्।दुईपटक समानुपातिक पद्धतिमार्फत संसदमा पुगेका चौधरी भने पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दै छन्।
चौधरीलाई सत्ता गठबन्धनको साथ छ भने गत निर्वाचनअघि मात्र जनता प्रगतिशील पार्टी बनाएका त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ।
बिजपाटी टिमले पछिल्ला केही दिनदेखि यो क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल गाउँपालिकाका र बर्दघाट नगरपालिकाका अधिकांश वडामा पुगेर १००  मतदातासँग कुराकानी गरेको छ।
हामीले कुराकानी गरेका मतदातामध्ये सबभन्दा धेरै ५०  जनाले यसपालि त्रिपाठीलाई मत दिने बताए। त्यस्तै चौधरीलाई मत दिन्छु भन्ने संख्या २२ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्न रोज्ने मतदाता २५  जना छन् भने बाँकीले  अन्य दललाई मत दिने बताए।
२०७४ सालमा सूर्य चिह्न लिएर चुनाव लडेका कारण त्रिपाठीलाई अहिले मत दिन्छु भन्ने कति मतदाता एमालेका हुन् र कति त्रिपाठीको पार्टी जनता प्रगतिशील पार्टीका हुन् भन्ने छुट्टिन गाह्रो छ। बर्दघाट क्षेत्रमा एमालेको प्रभाव राम्रो छ भने सुस्ता र प्रतापपुर क्षेत्रमा त्रिपाठीको प्रभाव राम्रो छ। कांग्रेसका केही मतदाताले पनि यसपटक त्रिपाठीलाई मत दिने बताए।
'म नेपाली कांग्रेसको मान्छे हो। तर हृदयेशलाई मत दिन्छु,' प्रतापपुर- २ का दीपक चापागाईंले भने, 'विनोद चौधरीको राजनीतिक योगदान छैन, उनले चुनाव जितेपछि जनताले भेट्न समेत पाउने छैनन्।'

यस अघि : विनोद चौधरीको चुनाव जित्ने फण्डा: प्रचारमा बालबालिका प्रयोग, स्थानीयले सिकाए सबक (भिडियो) 
चुनाव जित्न खर्बपतिको साम, दाम, दण्ड, भेद : उम्मेदवारी रद्द हुनसक्ने तर आयोग मौन
 'रेड जोन'मा खर्बपति : माओवादीको भोट नआउने र कांग्रेसभित्र अन्तर्घात हुने परिस्थिति

बिजपाटीको आवाज दबाउने विनोद चौधरीको प्रयास : ठेगान लगाइदिने धम्की, अदालतमा मुद्दा



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved