सुदूरपश्चिमबाट संघीय संसदमा चुनिने एक्ली महिला बनिन् रञ्जिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 12:48:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन्। ३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्। 

 ०७४ सालको निर्वाचनमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले बिजय भएका थिए। उनी टीकापुर घटनामा दोषि ठहर भएर जेल जीवन बिताइरहेका छन्। रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भइन्। उनी यसपटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।

सुदूरपश्चिमको कञ्चनपुर १ मा बीना मगर, ३ मा निरुदेवी पाल र डोटीमा गौरीकुमारी ओली गरेर ४ महिला मात्रै प्रतिनिधि सभामा उम्मेदवार थिए। माओवादी केन्द्रकी बीना मगर , एमालेकी निरुदेवी पाल र डोटीकी गौरीकुमारी ओली पराजित भएपछि उनी सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी हुन् ।

लामो समय रेडियो पत्रकारिता गरेकी उनी राजनीतिकै कारण चर्चा बटुल्न सफल भइन् । काठमाडौंमा जन्मिएर पढे–बढेकी श्रेष्ठले कलिलो उमेरमै कैलालीका रेशम चौधरीसँग प्रेम विवाह गरेकी थिइन्।  

२०३९ फागुनमा काठमाडौंको रैथाने नेवार परिवारमा जन्मिएकी रञ्जिता रेडियो नेपालमा कार्यरत रेशम चौधरीसँग विवाह गरेपछि त्यही क्षेत्रमा आइन् । रेडियो नेपाल, रेडियो सगरमाथा, रेडियो सिटी ९८.८ र इमेज च्यानललगायत संस्थामा काम गरेपछि उनी कैलालीको टीकापुरमा रेशमले संचालनमा ल्याएको फूलबारी एफएममा आवद्ध भइन् । २०७२ को टीकापुर घटनापछि फूलबारी एफएम आगजनीमा पर्‍यो ।

संविधानसभाबाट नयाँ संविधान आउनुअघि सुदूरपश्चिमी तराईका आदिवासी थारू समुदाय पहिचान सहितको संघीयताका लागि आन्दोलन गरिरहेका थिए । त्यसको विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन पनि चर्कियो । त्यसैक्रममा ७ भदौ २०७२ मा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घट्यो ।

उक्त घटनाको दोषी भन्दै सरकारले मुद्दा दायर गरेपछि रेशम चौधरी भूमिगत भए । भूमिगत अवस्थामै कैलाली–१ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका उनी अत्यधिक मतले विजयी बने ।

जिल्ला अदालत र उच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी संसद जान भने पाएनन् । अन्ततः प्रहरी सम्पर्कमा आएका उनलाई जेल चलान गरेर त्यहीं प्रतिनिधिसभा सदस्यको शपथ खुवाइयो ।

चौधरीको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा नटुंगिएकाले पार्टी अध्यक्ष वा उम्मेदवार बन्न नपाएपछि चौधरीले श्रीमती रन्जितालाई अघि सारे । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी उनी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved