देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 04:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् ।  जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ पराजित भएका छन् । हेरौं निर्वाचनमा सहभागी १२ जना मन्त्रीको ताजा चुनावी हालत :

बारा १ बाट उम्मेदवार रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । नेकपा एमालेका अच्युत मैनालीसँग झण्डै ९ हजार मतान्तरले मन्त्री चौधरी पराजित भएका हुन् । चौधरीले  ३० हजार ५६ मत पाएका थिए । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ मा उम्मेदवार छन् ।  उनको क्षेत्रमा हाल मतगणना जारी छ । प्रारम्भिक मतगणनामा मन्त्री कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परेका छन् । 

गृहमन्त्री बालकृष्ण खाण पनि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट उम्मेदवार छन् । गृहमन्त्री खाणको निर्वाचनमा क्षेत्रमा समेत मतगणना जारी छ । खाण राप्रपाका उम्मेदवार दीपक बोहरासँग कडा प्रतिष्पर्धामा छन् ।  

यस्तै कांग्रेसका तर्फबाट दार्चुला उम्मेदवार रहेका उद्योग मन्त्री दिलेन्द्र बडू विजयी भएका छन्। नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै मन्त्री खाड सांसद निर्वाचित भएका हुन् ।

यस्तै उदयपुरबाट उम्मेदवारी दिएका परराष्ट्र मन्त्री डा. नारायण खड्काको क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार मन्त्री डा खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् । 

नेकपा माओवादी केन्द्रको तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेल नेकपा एमालेकी मञ्जु शर्मासँग ५ हजार ७ सय ७९ मतान्तरले विजयी भएका हुन् । 

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै रुकुम पश्चिमबाट निर्वाचित भएका हुन् । 

बाँके १ बाट माओवादी केन्द्रका उम्मेदवार रहेका खेलकुद मन्त्री महेश्वरराज गहतराजको क्षेत्रमा समेत मतगणना जारी छ ।  एमालेका सूर्यप्रसाद ढकाल र मन्त्री गहतराजबिच मतगणनाका क्रममा समेत चर्को प्रतिष्पर्धा भइरहेको छ । यद्यपि मन्त्री गहतराज एमालेका ढकालसँग पछि परेका छन् । 

ललितपुर ३ मा माओवादीकै तर्फबाट उम्मेदवार रहेकी ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग मन्त्री भुसाल भारी मतान्तरले पराजित भएकी हुन् । 

अछाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका झपट बोहोरालाई हराउँदै मन्त्री कुँवर निर्वाचित भएका हुन् । 

दाङ क्षेत्र नम्बर १ बाट नेकपा एसकै तर्फबाट उम्मेदवार शहरी विकास मन्त्री मेटमणि चौधरी पनि विजयी भएका छन् । एमालेकी शान्ता चौधरीलाई पराजित गर्दै मन्त्री चौधरी निर्वाचित भएका हुन् । 

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले भने चुनाव हारेका छन् ।  काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved