सोलारबाट बिजुली निकाल्न २२४ करोड लगानी गर्दै गोल्यान, प्रतियुनिट ७.३० रुपैयाँमा बेच्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 01:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिष्ठित औद्योगिक घराना ‘गोल्यान समूह’ले सोलारबाट बिजुली निकाल्ने भएको छ । यसका लागि गोल्यान ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गर्न लागेको छ । 

उद्योगी पवन गोल्यान नेतृत्वको गोल्यान समूहले भारतको रिनेर्गो डेभलपर्स प्रा.लि.सँगको साझेदारीमा बाँकेस्थित रैनापूरमा दश÷दश मेगावाट क्षमताका गरी २ चरणमा सोलार प्लान्टबाट २० मेगावाट बिजुली निकाल्न लागेको हो । 

बैंक तथा वित्तीय क्षेत्रसहित कृषिमा लगानी विस्तार गरेको गोल्यान समूहले सोलारमार्फत प्रतिमेगावाट ११ करोड २४ लाख ३० हजार रुपैयाँ लागत लाग्ने गरी बिजुली निकाल्न लागेको हो । 

प्योर इनर्जी लिमिटेडले ६७ प्रतिशत ऋण र ३३ प्रतिशत संस्थापक पूँजीमार्फत परियोजना निर्माण गर्नेछ । यो सोलार परियोजनाको ५० प्रतिशत भौतिक प्रगति भइसकेको जनाइएको छ । लगानी जुटाउने काम २६ प्रतिशत सकिएको छ ।

२५ मे २०२३ भित्र २ वटै ब्लकबाट बिजुली उत्पादन थाल्ने लक्ष्य कम्पनीको छ । एउटा ब्लकबाट भने आगामी मंसिरबाटै बिजुली उत्पादन हुने दाबी गरिएको छ । २५ मे २०२३ भित्र २ वटै ब्लकबाट बिजुली उत्पादन गर्न नसके उत्पादक कम्पनी प्योर इनर्जीले नेपाल विद्युत प्राधिकरणलाई सम्झौता अनुसार जरिवाना तिर्नुपर्ने छ । जरिवाना तिर्नु नपर्ने गरी समयमै बिजुली उत्पादन गर्ने लक्ष्यमा कम्पनी रहेको छ । 

प्योर इनर्जीले उक्त सोलार प्लान्टबाट उत्पादन गर्ने बिजुली विद्युत प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्नेछ । यसका लागि विद्युत खरिद बिक्रि सम्झौता (पीपीए) पनि भइसकेको छ । प्राधिकरणले उक्त परियोजनाबाट उत्पादन हुने बिजुली कोहलपुरस्थित सबस्टेसनमा जोड्नेछ ।

सन् २०२४ सम्म सम्पन्न हुने आयोजनालाई कर छुटको सुविधा भएकाले प्योर इनर्जी लिमिटेडले १० वर्ष पूरै र थप ५ वर्ष ५० प्रतिशत कर छुट पनि पाउने छ । 

गोल्यान समूहका अध्यक्ष पवन गोल्यान सौर्य उर्जा प्लान्टको क्षेत्रमा अनुभव भएका व्यक्ति भएकाले तोकिएकै समयमै परियोजनाबाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । सोलार प्लान्टबाट बिजुली उत्पादन गर्नकै लागि गोल्यानले सन् २०१८ मै प्योर इनर्जी लिमिटेड नामक कम्पनी स्थापना गरेका थिए । 

यसबाहेक गोल्यान समूहको ९ वटा जलविद्युत आयोजनामा पनि लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved